ओलम्पियन फुलमायालाई सुटिङमा स्वर्ण

ओलम्पियन फुलमायालाई सुटिङमा स्वर्ण


ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले ओलम्पिक डेका अवसरमा आयोजित सुटिङ प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा स्वर्ण पदक जितेकी छन् । सो स्पर्धामा नेपाली सेनाकी कल्पना परियार दोस्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेस्रो भएका छन् ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्टस् फर अल कमिसनको तत्वावधानमा नेपाल सुटिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष व्यक्तिगत एयर राइफलमा सेनाका सुशे चौधरी पहिलो, सेनाकै कुमार कार्की दोस्रो र प्रहरीका हरिबहादुर थापा तेस्रो भएका थिए ।

महाराजगन्जस्थित नेपाल प्रहरी तालिम प्रतिष्ठानमा भएको प्रतियोगिताको पुरुष एयर पेस्तोलमा काठमाडौंका सुमन तुलाधरले स्वर्ण, काठमाडौंकै विपेश खड्काले रजत र सेनाका पूर्णकुमार श्रेष्ठले कांस्य जिते । सोही स्पर्धाको महिलामा प्रहरीकी सबिता बस्नेत र सीमा तुलाधर तथा सेनकी हेमा चौधरीले क्रमशः शीर्ष तीन स्थान हात पारेका थिए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान, आयोजक सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठ, स्पोर्टस् फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, महासचिव राजेश श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा व्यक्तिगत ४ स्पर्धामा ८ का दरले ३२ खेलाडीको सहभागिता रहेको थियो ।