दक्षिण अफ्रिकी राष्ट्र सेनेलगले आफ्नो नामअनुसारको प्रदर्शन गरेको छ । समूह ‘एच’को दोस्रो खेल पोल्यान्ड र सेनेगलबीच भएको थियो । खेलको शुभारम्भदेखि नै निकै आक्रामक रूपमा प्रस्तुत भएको सेनेगलले पोल्यान्डलाई दबाबमा राखेको थियो । अझ उत्कृष्ट डिफेन्सका कारण पोल्यान्डको सबै आक्रमण विफल पार्न सफल भएको थियो ।
पहिलो हाफ दुवै टिमबीच निकै घम्साघम्सी चलेको थियो । तर, ३७औँ मिनेटमा कालिदाउ काउलीबालीले पोस्टमा प्रहार गरेको बल पोल्यान्डका खेलाडी सियानोकको खुट्टामा लागेर पोस्टमा छिरेको थियो । यो आत्मघाती गोलसँगै खेलमा सेनेगल १–० ले अग्रता लिन सफल भएको थियो । यो विश्वकपमा योसमेत चारवटा आत्मघाती गोल भइसकेका छन् । पहिलो हाफमा सेनेगलले स्ट्राइकर लेवान्डोस्कीलाई मात्र नरोकी पोल्यान्डको सम्पूर्ण आक्रमणलाई हावी हुन दिएको थिएन ।
दोस्रो हाफमा पोल्यान्ड निकै आक्रामक रूपमा प्रस्तुत भएको थियो । सोही कारण पोल्यान्डले सेनेगलको गोलपोस्टनजिकै फ्री किक प्राप्त गरेको थियो । पोल्यान्डलाई बराबरी गर्ने अवसर प्राप्त भए पनि सेनेगलका गोलकिपर नडियायेले लेवान्डोस्कीको सुन्दर प्रहारलाई असफल पारिदिएका थिए । यसरी खेलको ६०औँ मिनेटमा सेनेगलले दोस्रो गोल गर्दै २–० को अग्रता बनाएको थियो । उक्त गोल नियांगेले गरेका थिए । पोल्यान्डका खेलाडीले दिएको ब्याकपासको फाइदा उठाउँदै नियांगेले खाली पोस्टमा गोल गरेका थिए ।
खेलको उत्तराद्र्ध अर्थात् ८६औँ मिनेटमा पोल्यान्डले पहिलो गोल गर्दै गोलअन्तर कमी गरेको थियो । उक्त गोल ग्रेजगोर्ज क्रेचोबियाकले हेडद्वारा गरेका थिए । त्यसपछि सेनेगललाई दबाबमा राख्दै पोल्यान्डले खेलमा फर्किने कोसिस गरे पनि असफल भएको थियो । यसरी सेनेगलले खेल २–१ ले जित्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको थियो ।
प्रतिक्रिया