आयोजक राष्ट्र रसिया अन्तिम १६ मा

आयोजक राष्ट्र रसिया अन्तिम १६ मा


आयोजक रसियाले फिफा विश्वकपमा सानदार प्रदर्शन गर्दै आफ्नो दोस्रो खेल पनि जितेको छ । यो जितसँगै रसिया अन्तिम १६ मा पुग्ने पहिलो राष्ट्र बनेको छ । सेन्टपिटरबर्ग स्टेडियममा भएको समूह ‘ए’ को लिग चरणको दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ को फराकिलो अन्तरले पराजित गरेको हो । सबै ४ गोल दोस्रो हाफमा भएका थिए ।

पहिलो हाफ निकै रोमाञ्चक रहेको थियो । दुवै टिमले गोल गर्ने निकै प्रयास गरे पनि असफल रहे । १०औँ मिनेटमा आयोजक रुसले इजिप्टमाथि दबदबा बनाउँदै गोल गर्ने अवसर पाए पनि गोल गर्नमा भने असफल भएको थियो । त्यसपछि इजिप्टले पनि गोल गर्ने अवसर प्राप्त गरे पनि इजिप्ट पनि असफल भएको थियो । यसरी पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफ इजिप्टका लागि निकै निराशाजनक रह्यो । खेल शुभारम्भ भएको दुई मिनेट अर्थात् ४७औँ मिनेटमा बल क्लियर गर्ने क्रममा इजिप्टले आत्मघाती गोल गरेको थियो । अहमदीले गोल क्लियर गर्ने क्रममा आफ्नो पोस्टमा गोल गरेका थिए । यो विश्वकप २०१८ को पाँचौँ आत्मघाती गोल हो । यही आत्मघाती गोलका कारण रसियाले १–० ले अग्रता लिएको थियो ।

त्यसपछि उत्साहित रसियाले ५९औँ मिनेटमा दोस्रो गोल गरेको थियो । उक्त गोल डेनिस चेपसेभले गरेका थिए । चेपसेभको यो विश्वकपमा यो तेस्रो गोल हो । त्यसको ३ मिनेटपछि इल्या कुटेपोभले तेस्रो गोल गरेर रसियाको विजयलाई सुनिश्चित गरेका थिए । इजिप्टले ७३औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै एक गोल फर्काए पनि त्यसपछि कुनै गोल गर्न सकेन । परिणाम समग्रमा रसियाले खेल ३–१ ले जित्दै अन्तिम १६ मा पुग्न सफल भयो । लिग चरणका दुवै खेल जितेर रसियाले ६ अंक बटुलेको छ ।