मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गऱ्यो नीति तथा कार्यक्रम

मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गऱ्यो नीति तथा कार्यक्रम


मध्यपुरथिमि नगरपालिकाले यो आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन विशेष वर्ष’को रूपमा मनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

‘हाम्रो कला, हाम्रो संस्कृति मध्यपुरथिमि हाम्रो सम्पत्ति’ भन्ने नाराका साथ कला, सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष योजना ल्याएको छ ।

नगरपालिकाले कला, संस्कृतिलाई एकीकृत गरी निर्धारित क्षेत्रमा जीवित र सांस्कृतिक संग्रहालय निर्माण गर्ने तथा होमस्टेसमेत प्रवद्र्धन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

यसैगरी नगर क्षेत्रको बृहत् एकीकृत गुरुयोजना, खानेपानी, नगर सडक र ढल निकास सञ्जाल, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण, सांस्कृतिक एवम् सम्पदायुक्त बस्तीको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको पनि नगर प्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाको प्रशासनिक तथा वडा कार्यालय भवन निर्माण र नगर क्षेत्रका पाँचवटा स्थानमा बहुसांस्कृतिक एवम् ऐतिहासिक प्रवेशद्वार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । निर्माण हुने सम्पूर्ण भवन संरचना अपांग र बालमैत्री हुने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले नक्सापास प्रक्रियालाई सहज, सरल, वैज्ञानिक र पारदर्शी बनाउन आगामी साउन १ गतेदेखि विद्युतीय भवन आचारसंहिता लागू गर्ने, नगरपालिकाको स्वीकृतिबिना कुनै पनि संचरना बनाए भत्काइने नीतिलाई कडाइका साथ लागू गर्ने भएको छ ।

बस्ती विकासका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने तथा भइरहेको एकीकरणको स्वामित्व नगरपालिकाले लिँदै व्यवस्थित गर्न आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइने नीति नगरपालिकाले लिएको छ ।

नगरपालिकाले नक्सापास प्रक्रियालाई सहज, सरल, वैज्ञानिक र पारदर्शी बनाउन आगामी साउन १ गतेदेखि विद्युतीय भवन आचारसंहिता लागू गर्ने, नगरपालिकाको स्वीकृतिबिना कुनै पनि संचरना बनाए भत्काइने नीतिलाई कडाइका साथ लागू गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

नीति तथा कार्यक्रममा खानेपानीलाई सुधार गर्ने, नगर क्षेत्रमा खानेपानीका लागि ८ इन्चको पाइप बिछ्याउने, फोहोरलाई व्यवस्थित गरिने, मनोहरा र हनुमन्ते नदीलाई ‘सफा नदी सभ्य सहर’ कार्यक्रमबाट सफा गर्दै हरियाली बनाउने, सबै वडामा ढलको व्यवस्थापन गर्ने उल्लेख छ ।

नगरपालिकाले आर्थिक विकासका लागि राजस्व सुधार कार्ययोजना अघि सारेको बताउँदै प्रशासकीय अधिकृत ज्ञवालीले मध्यपुर उज्यालो कार्यक्रमलाई प्रभावकारी बनाउने र महत्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान गरिने बताए ।

नगरपालिकाका प्रत्येक वडामा एक वडा एक स्वास्थ्य संस्था स्थापना गर्ने, शिक्षामा गुणस्तरीयता र पहुँचमा समानता गरी विभेदकारी शिक्षाको अन्त्य गर्ने, छात्रवृत्तिलाई प्रभावकारी बनाउने, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुदको विकास गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
 

रासस