मुख्यमन्त्री राई भन्छन्– संघीयता सफल बनाउनु अहिलेको पहिलो आवश्यकता

मुख्यमन्त्री राई भन्छन्– संघीयता सफल बनाउनु अहिलेको पहिलो आवश्यकता


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

निर्वाचन आयोग नेपालद्वारा आज बुधबार विराटनगरमा आयोजित प्रदेश १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य रहेको बताए ।

उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने संघीय प्रणालीमा जनताको शान्तिसुरक्षा र समृद्धिप्रति आशा जागेको भन्दै संघीयता कार्यान्वयनमा आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्री राईले विगतको निर्वाचनबाट पाठ सिकेर आउने निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र पारदर्शी बनाउन कार्यक्रममा सहभागीको अमूल्य सुझावका आग्रहसमेत गरे ।

प्रदेश १ का मुख्यसचिव सुरेश प्रधानले लोकतन्त्र बलियो बनाउन निर्वाचन प्रणालीलाई अझ सरल, सहज एवम् व्यवस्थित र विश्वासिलो बनाउन सहभागीको सुझाव अमूल्य रहने विश्वास व्यक्त गरे ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल र निर्वाचन आयोगका उपसचिव महेन्द्र भट्टराईले पनि आफ्ना कुरा राखेका थिए ।

निर्वाचनलाई उत्कृष्ट बनाउन, नीतिगत र व्यवस्थागत बनाउन सुझाव लिने उद्देश्यले आयोजित दुईदिने कार्यक्रममा प्रदेश १ का सबै जिल्लाका प्रमुख निर्वाचत अधिकृत एवम् न्यायाधीश, जिल्ला निर्वाचन अधिकारी, सुरक्षाकर्मी, प्रदेश सभाका सदस्य एवम् सञ्चारकर्मीसहित करिब ७० जनाको सहभागिता रहेको छ ।