इंग्ल्यान्ड र अस्टे«लियाबीच भएको तेस्रो एकदिवसीय खेलमा उत्कृष्ट फर्ममा रहेका जोनी बेयरस्टो (१३९) र एलेक्स हेल्सले (१४७) रनको शतकीय पारी खेलेपछि इंग्ल्यान्डले ५० ओभरमा ४ सय ८१ रनको विशाल स्कोर खडा गरेको थियो । पछिल्ला दुई खेलमा पराजित भएको अस्ट्रेलियाले टस जितेर इंग्ल्यान्डलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । त्यसपछि इंग्ल्यान्डका ब्याट्सम्यानहरूले अस्ट्रेलियाको रणनीति र सोचलाई गलत साबित गर्दै उत्कृष्ट ब्याटिङ गरेर ४ सय ८१ रनको विशाल स्कोर खडा गरेका थिए ।
इंग्ल्यान्ड र अस्ट्रेलियाबीच अहिले इंग्ल्यान्डमा ५ म्याचको एकदिवसीय शृृखला सञ्चालन भइरहेको छ । अस्टे«लियाविरुद्ध निकै हावी भएको इंग्ल्यान्डले तीनवटा एकदिवसीय खेल लगातार जितेर शृंखलामाथि कब्जा जमाएको छ । इंग्ल्यान्डले तेस्रो खेल २ सय ४२ रनले जितेको थियो । ४ सय ८२ रनको विजय लक्ष्य पाएको अस्ट्रेलिया ३७ ओभरमा २ सय ३९ बनाउँदै अलआउट भएको थियो । अब यी दुई टिमबीच दुई खेल हुन बाँकी छ ।
इंग्ल्यान्डलाई शृंखला जिताउन बलर आदिल रसिदले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । रसिदले १० ओभरमा ४७ रन दिँदै ४ विकेट लिएका थिए । त्यस्तै, स्पिनर मोइन अलीले ५ ओभरमा ३ विकेट लिएर अस्ट्रेलियाको पारी ध्वस्त पारेका थिए । विस्फोटक पारी खेलेका एलेक्स हेल्स म्यान अफ दी म्याच बनेका थिए ।
प्रतिक्रिया