– श्रीविक्रम भण्डारी
यतिबेला विश्वकप फुटबलको महाकुम्भको लिग चरण सञ्चालन भइरहेको छ । विश्वकपको अन्तिम छनोटमा परेका ३२ राष्ट्र विश्वकपको उपाधि हासिल गर्न एक–आपसमा भिडन्त गरिरहेका छन् । विश्वकप जित्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरे पनि सफलता भने एउटालाई मात्र प्राप्त हुनेछ । त्यसको लागि अहिले सम्पूर्ण राष्ट्र आफ्नो सर्वश्रेष्ठ प्रयास गरिरहेका छन् । तर, अहिले विश्वकप जित्ने सबै राष्ट्रको लक्ष्य र सपना भए पनि रसियामा सञ्चालन भइरहेको २०१८ को विश्वकपको प्रमुख दाबेदारको रूपमा ६ वटा राष्ट्रलाई हेरिएको छ ।
अर्जेन्टिना
यो विश्वकपमा अर्जेन्टिनाको टिमलाई त्यति बलियो मानिएको छैन । र पनि, लियोनेल मेसीजस्तो विश्वचर्चित खेलाडी अर्जेन्टिनाको टिममा भएकोले विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने अड्कल र अनुमान गरिएको छ । मेसीजस्तो खेलाडी टिममा हुँदा अर्जेन्टिनाले ४ वर्ष पहिलेको फाइनलको हारलाई यसपटक भुलाइदिने दाबी पनि गरिएको छ । लिग चरणको पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा चित्त बुझाउनुपरेपछि अर्जेन्टिनाले विश्वकप उपाधि जित्ने कुरामा प्रश्न उठेको छ । मेसीबाहेक निकोलस ओटामेन्डी पनि अहिले फर्ममा देखिएका छन् । उनको खेलमा निकै सुधार आएको छ । त्यस्तै यो टिममा साम्पाओली, सर्जियो अगुएरो, गोन्जालो हिग्वाइन र आन्हेल डी मारियाजस्ता प्रतिभाशाली खेलाडी भएकाले अर्जेन्टिना जस्तोसुकै बलियो टिमलाई पराजित गर्ने क्षमता राख्छ । यो टिम अनुभवी र प्रतिभाशाली खेलाडीले भरिपूर्ण भएकोले अर्जेन्टिनालाई विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।
ब्राजिल
ब्राजिललाई जहिले पनि विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिन्छ, यसपटक पनि हेरिएको छ । गत संस्करणमा पनि ब्राजिलको नाम अग्रपङ्क्तिमै थियो । तर, चार वर्ष पहिले जर्मनीले ब्राजिललाई ७–१ ले लज्जास्पद रूपले पराजित गर्दै विश्वकप चरणबाटै आउट गरिदिएको थियो । र पनि, यो विश्वकपमा ब्राजिललाई पुनः विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिएको छ । साँचो रूपमा भन्नुपर्दा ब्राजिल अहिले पनि विश्वकै लोकप्रिय टिममा पर्छ । यस्तो हुनुको पछाडि विश्वकपमा ब्राजिलको पहिलेको साख हो भन्दा अतिसयोक्ति नहोला । यसका अलावा ब्राजिलको टिममा कुनै टेलेन्टको कमी छैन । तर, एग्रेसन ब्राजिलको समस्याको रूपमा देखिएको छ । जुन कुरा विश्वकप छनोट चरणमा पनि प्रस्ट रूपमा देखिएको थियो । ब्राजिललाई विश्वकपमा सफल बनाउन प्रशिक्षक टिटेले प्रत्येक खेलमा अलगअलग कप्तानको चयन गरेका छन् । जसले टिमलाई निकै फाइदा हुने अनुमान पनि गरिएको छ । ब्राजिल डिफेन्समा जति बलियो छ त्यति नै अफेयन्समा पनि राम्रो छ । नेमारदेखि मार्सेलो वियरासम्म अफेयन्स र डिफेन्स सम्हाल्न तयार छन् । यसरी एक स्टारहरूले भरिएको टिम ब्राजिल भएकोले यसपटक पनि विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।
बेल्जियम
यो विश्वकपमा बेल्जियमलाई उत्कृष्ट र प्रभावशाली टिमको रूपमा हेरिएको छ । बेल्जियमका प्रायः खेलाडी व्यावसायिक फुटबलको शुरुको अवस्थामा भए पनि यो टिमले विश्वका महारथी टिमलाई चुनौती दिन सक्ने क्षमता राख्छ । यति हुँदाहुँदै पनि स्टार खलाडीले भरिएको बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुकै वरिपरि घुमेको छ । यदि लुकाकु गोल गर्न असफल भए भने टिम सङ्कटमा पर्न सक्छ । साथै प्रशिक्षक रोबर्टो मार्टिनेज र स्टार खेलाडी केबिन डे ब्रुयनाविचको विवाद अहिले चिन्ताको विषय बन्न पुगेको छ । यति हुँदाहुँदै पनि टिम निकै सन्तुलन देखिएको छ । विश्वस्तर खेलाडी थिबाँट कोर्टवा, अल्डरविरल्ड, यान बेर्टोघन र विन्सेन्टको डिफेन्स निकै बलियो छ । त्यस्तै मिडफिल्डमा डे ब्रुयना, मुसा डेम्बेले र एक्सल विटसेलको तालमेल निकै राम्रो छ । साथै आक्रमणतर्फ पनि लुकाकु, इडन हजार्ड, डिस मर्टेस र मिची बत्सुआई आफैँमा उत्कृष्ट छन् । यी खेलाडीले जुनसुकै बेलामा पनि खेललाई उलटफेर गर्न सक्ने भएकोले बेल्जियमलाई विश्वकपका दाबेदारको रूपमा हेरिएको छ ।
फ्रान्स
टेलेन्टको कुरा गर्दा फ्रान्सका खेलाडी अन्य टिमका खेलाडीभन्दा निकै माथि छन् । अझ विश्वकपमा फ्रान्सको लामो अनुभवका र विश्वकप विजेतासमेत भएका कारण सम्भावित विश्वकप विजेताको रूपमा हेरिएको छ । सन् २०१६ मा सम्पन्न युरोपियन च्याम्पियनसिपमा फ्रान्स फाइनलमा पुगेको थियो । फाइनलमा पोर्चुगलसँग पराजित भए पनि फ्रान्सले युरोकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । युरोकपको फाइनलमा पुग्ने क्रममा फ्रान्सले युरोपका फुटबलका महारथी टिमलाई पराजित गर्न सफल भएको थियो । साँचो रूपमा भन्नुपर्दा फ्रान्सको टिममा युवा खेलाडी त्यति छैनन् तर यो टिम आफैँमा सशक्त भएको प्रमाणित गरिसकेको छ । अहिले पनि फ्रान्सका खेलाडीले विश्वका चर्चित फुटबल क्लबमा आफ्नो नामअनुसारको प्रदर्शन गर्न सफल भएका छन् । युगो लोरिस, सेमुएल उमतिती, रफाएल बरान, एनगोलो कान्टे, ब्लेज मतुइदी, पाउल पाग्बा, थोमस लेमार, किलियन म्बप्पे, ओस्मान डेम्बेले, एन्टोइन ग्रिजमनजस्ता चर्चित खेलाडीका कारण फ्रान्सलाई विश्वकपको दाबेदारको रूपमा हेरिएको छ । फ्रान्सले आफ्नो लिग चरणको पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेर अघि बढिसकेको छ ।
जर्मनी
जर्मनी यो विश्वकपको सबैभन्दा लोकप्रिय र सबैको मन जितेको टिम हो । विश्वकपको प्रमुख दाबेदारको रूपमा अहिले पनि जर्मनीको नाम अग्रपङ्क्तिमा छ । पछिल्लो विश्वकपविजेता जर्मनी टिममा अहिले पनि उक्त विश्वकपमा खेल्ने थुप्रै खेलाडी समावेश छन् । यति उत्कृष्ट टिम भएर पनि जर्मनीको टिममा पनि निकै कमजोरी छन् । मुख्य गोलकिपर मैनुएल नोएर यतिबेलासम्म पूर्ण रूपले स्वस्थ हुन सकेका छैनन् । अहिले उनको अनुपस्थितिमा मार्क आन्द्रे टेर स्टगनलाई टिममा बोलाइए पनि उनले नोएरको स्थान लिन नसक्ने फ्रान्सका खेलाडीले दाबी गरेका छन् । त्यस्तै स्ट्राइकरहरू पनि मौसमजस्तै देखिने गरेका छन् । कुनै खेलमा सबै स्ट्राइकर उत्कृष्ट फर्ममा देखिन्छन् कुनै खेलमा आफ्नो स्वाभाविक खेल खेल्न सक्तैनन् । यही कमजोरीलाई मध्यनजर गर्दै प्रशिक्षकले मारियो गोमेज र टिमो वेर्नरमाथि दाउ खेल्ने रणनीति बनाएका छन् । लिओन गोरेत्ज्का र जोशुआ मिमिखजस्ता चर्चित खेलाडी र अनुभवी टिम भएकाले यो विश्वकपको प्रमुख दाबेदारमा जर्मनीलाई हेरिएको छ ।
स्पेन
स्पेनको टिम आफैँमा बलियो टिम मानिन्छ । जुन कुरा २०१८ को लिग चरणको खेलमा पनि स्पेनले गरेको प्रदर्शनबाट थाहा पाउन सकिन्छ । पोर्चुगलसँग दुईपटक पछि परेर पनि स्पेनले अग्रसरता लिन सफल भएको थियो । अर्को कुरा विश्वकपको छनोट चरणमा स्पेन पराजित टिम रहेको थियो । छनोट चरणमा सबै टिमलाई पराजित गरी फाइनल चरणमा प्रवेश गरेको स्पेनमा म्याचविजेता खेलाडी थुप्रै छन् । अर्को कुरा विश्वकै सर्वोत्कृष्ट गोलकिपरको संज्ञा पाएका डेविड डे हेया पनि यसै टिममा छन् । त्यस्तै सर्जियो र जेरार्डको जोडीबाट पार पाउनु पनि त्यत्तिकै गाह्रो छ । यसर्थमा गोल खाएर पनि गोल गर्न सक्ने र विजय हासिल गर्न सक्ने टोलीको रूपमा स्पेन भएकोले विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।
प्रतिक्रिया