नेपाली परम्परामा तन्त्रसाधनाबारे विमर्श

नेपाली परम्परामा तन्त्रसाधनाबारे विमर्श


नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘नेपाली परम्परामा तन्त्रसाधना’ विषयक विचार गोष्ठीको आयोजना गरिएको छ । प्रतिष्ठानको दर्शन विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले नेपाली समाजमा भाकल, पूजाआजजस्ता कार्य परम्परादेखि नै चलिआएको उल्लेख गर्दै मानिसको जीवनले पूर्णता पाउन सबै प्रकारका शक्तिसँग सम्झौता गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तन्त्रसाधनाको परम्पराले धेरै कुरालाई सञ्चालन गरेको पाइन्छ ।’

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दर्शन आफैँमा कठिन विषय भएता पनि सबैको जीवनमा यसको विशेष महत्व रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यय भट्टले विशेष प्रवचन दिँदै भन्नुभयो, ‘नेपाली परम्परामा तन्त्रसाधनाको अत्यन्त ठूलो महत्व रहिआएको छ । साँच्चै भन्ने हो भने तन्त्रसाधनाले संसार थामेको छ ।’

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे र दर्शन विभागका प्रमुख प्रा. दिनेशराज पन्तले नेपाली परम्परामा तन्त्रसाधनाको अत्यन्तै ठूलो महत्व पाइएको भन्दै त्यसैमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उक्त अवसरमा सहभागी मध्येबाट प्राज्ञ नर्मदेश्वरी सत्याल, पुष्कर लोहनी, डा. भक्त राई, बिनाश्री, दिनेश लगायतले जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।