वन्यजन्तु अवलोकनका लागि भ्यूटावर निर्माण

वन्यजन्तु अवलोकनका लागि भ्यूटावर निर्माण


पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजको जंगलमा भ्यूटावर निर्माण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यूटावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताए । दुईवटा भ्यूटावर भने हालसालै निर्माण भएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए ।

हेलिप्याड चौरमा एउटा र खत्री घाटमा अर्काे टावर निर्माण भएको हो । ती दुईवटा क्षेत्र बाघ र गैँडा अवलोकनका लागि महत्वपूर्ण ठाउँ मानिएको छ । बाघको वासस्थान राम्रो रहेकाले ती क्षेत्रमा टावर बनाइएको हो ।

केही महिनाअघि खत्री थरका एक व्यक्तिलाई सोही स्थानमा बाघले आक्रमण गरेकाले उक्त स्थानको नाम खत्रीघाट राखिएको हो । अन्य क्षेत्रमा पनि थप दुईवटा मचान निर्माणको काम जारी छ ।

टावरबाट वन र वनमा चर्न आएका गैँडा, चित्तल, मृग देख्न सकिन्छ । पाटेबाघ, भालु, तथा मयुर नाचेको दृश्यले टावरमा पुगेका पर्यटकलाई लोभ्याउँछ ।

वन्जयन्तुको अवलोकनसँगै आक्रमणबाट जोगिनसमेत यस्ता टावर र मचान महत्वपूर्ण मानिन्छन् । टावर निर्माणका लागि काठ चितवन निकुञ्जबाट सहयोगस्वरूप उपलब्ध भएको थियो र अन्य कामका लागि रु. तीन लाख खर्च भएको थियो ।

टावरबाट वन र वनमा चर्न आएका गैँडा, चित्तल, मृग देख्न सकिन्छ । पाटेबाघ, भालु, तथा मयुर नाचेको दृश्यले टावरमा पुगेका पर्यटकलाई लोभ्याउँछ । मुख्यगरी पर्या–पर्यटन वृद्धिका लागि भ्यूटावर बनाइएकाले पर्यटकको चहलपहल बढेको स्थानीय संरक्षणकर्मी तथा बूढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले बताए ।

अहिले कुमरोजमा एउटा काठ र एउटा कंक्रिटको मचान निर्माणको कामसमेत शुरु भएको स्थानीय ईश्वरी पाठक बताउँछन् । यहाँ यसअघि तयार भइसकेको दुईवटा मचानमा १६ पर्यटक बस्न सक्ने क्षमता छ ।

मचानमा विदेशी पर्यटकलाई रु. एक हजार र नेपालीलाई रु. ५०० शुल्क लाग्छ । यहाँ पर्यटकका लागि हात्ती सफारी, जिप सफारी, डुंगा सफारीको सेवासमेत उपलब्ध छ ।

रासस