मर्नु पथ्र्यो ऊ
मर्न पनि दिएनन् भगवान्ले
मार्न पनि दिएनन् भगवान्ले
जिउँदै छ के भन्नु ?
जिउँदै मरेको छ ऊ !
बाँचेर मारिरहेको छ नेपाल र नेपालीलाई ।
भगवान् पनि विचित्रका…!
धुन्धुकारी मरेर गयो
तर ऊ भने बाँचेर पनि मरेको छ
जिउँदै छ के भन्नु ?
जिउँदै मरेको छ
बाँचेर सारा नेपाली मार्नलाई
असङ्ख्य मनहरू हार्नलाई
देवको सुन्दर रचना यो धर्तीमा
समानताको गीत गाउँदै
सत्ताको जालभित्र पार्नलाई
बोकेर बन्दुक बैरीको
पड्कायो बारुद गाउँ–गाउँमा
भत्कायो पुल–पुलेसा
विद्यालय बन्यो नरसंहारको भर्तीकेन्द्र
स्वास्थ्यचौकी र गाउँले पाटी र पौवा बन्यो लुटको बास
भोकले रन्थनिएको कर्णाली बन्यो एकै गाँस
एकताको एउटै थियो माला
मेची र महाकाली
बनाइदियो रगतले नुहाउने भद्रकाली
भाइ–भाइ फुटाइदियो
मातृभूमिको छातीमा बैरी पो जुटाइदियो
त्यतिले पुगेन उसलाई
नेपालआमाको अङ्ग–अङ्गमा चुम्दै छ अचेल
कतै लिम्बुवान कतै खम्बुवान
भन्छ ताम्सालिङ र नेवा:
मधेस बनेको छ बैरीको पेवा
धवलागिरी र माछापुच्छे बनेको छ तमुवान
मगरातमा मर्नु म-यो नेपाली, हिमालपारिको गाउँ नै छैन
सुन्दै छु अचेल नेपाल र नेपालीको ठाउँ नै छैन
चिरेर मातृभूमिलाई, मारेर बन्धु र सखा
भन्छ अझै नयाँ–नयाँ नेपाल
म-यो धुन्धुकारी
मर्नु पथ्र्यो ऊ पनि
मर्न पनि दिएनन् भगवान्ले
मार्न पनि दिएनन् भगवान्ले
जिउँदै छ के भन्नु ?
जिउँदै मरेको छ ऊ
बाँचेर मारिरहेको छ नेपाल र नेपालीलाई ।
धुन्धुकारी–
मर्नु पथ्र्यो ऊ पनि
मर्न पनि दिएनन् भगवान्ले
मार्न पनि दिएनन् भगवान्ले
जिउँदै छ के भन्नु ?
जिउँदै मरेको छ ऊ
बाँचेर मारिरहेको छ नेपाल र नेपालीलाई ।।
– वुडब्रिज, भर्जिनिया, संयुक्त राज्य अमेरिका
प्रतिक्रिया