खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकार

खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकार


लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युतका लागि निर्माण गरिएको फोर वे नजिकै पहिरो जाँदा २५ मिटर लम्बाइको कुलो भत्काएको उपभोक्ता समितिले जनाएको छ ।

वैकल्पिक ऊर्जा, स्थानीय तथा तत्कालीन स्थानीय निकायको संयुक्त पहलमा निर्माण सम्पन्न गरी ५४१ घरधुरीले लाभ लिइरहेको हाइड्रोपावरको कुलो भत्कँदा रु. १५ लाखबराबरको क्षति भएको छ ।

पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोबारलगायतको कार्य प्रभावित बनेको छ ।

पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोबारलगायतको कार्य प्रभावित बनेको निर्माण उपभोक्ता समितिका सचिव सहरमान राईले बताए ।

विद्युत् अवरुद्ध भएपछि बेलुकी अन्धकारमा बस्न बाध्य हुनुका साथै स्थानीय बासिन्दा मोबाइल फोन चार्ज गर्न नपाउँदा सूचना तथा सञ्चारबाट वञ्चित बनेका छन् ।

आयोजनालाई पुनः मर्मत गर्न आर्थिक समस्या भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष अग्निप्रसाद राईले बताए । आर्थिक व्यवस्था भए पनि विद्युत् सञ्चालन हुन करिब एक महिना लाग्ने राईको भनाइ छ ।

उक्त हाइड्रोपावरमा वि. सं २०७२ मा गएको भूकम्पले करिब २१ लाख रुपैयाँबराबरको क्षति पु¥याएको थियो । जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँ तथा नगरपालिकामा आफ्नै लगानीमा हाइड्रोपावर सञ्चालन गरिएको छ ।

रासस