कर्मचारीमा रहेको पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्न आवश्यक : बाँस्कोटा

कर्मचारीमा रहेको पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्न आवश्यक : बाँस्कोटा


राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आज भक्तपुरमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बाँस्कोटाले कतिपय कर्मचारीले अझै पनि सहज रूपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए ।

कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै बाँस्कोटाले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सूचनाको हकबारे आमनागरिकलाई जानकारी गराउन र सबै कार्यालयबाट सहज रूपमा सूचना उपलब्ध गराउने वातावरण मिलाउन सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्न र सहज रूपमा सूचना प्रदान गर्नका लागि संयन्त्र बनाउन निर्देशन दिने जानकारी गराए ।

सूचना अभियन्ता एवं गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं)ले सूचनाको हकका बारेमा गाउँगाउँका र तल्लो तहका नागरिकसम्मलाई जानकारी गराउनुपर्नेमा जोड दिँदै नागरिकले सूचनाको हकअधिकारका बारेमा जानकारी नपाएसम्म सूचना मागको औचित्य नहुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित उपत्यका सचिव अमर भुजु, सदस्यद्वय भगवती थापा र लक्ष्मी गारुलाई सम्मान गरिएको थियो ।