चितवनको राजनीतिमा थपिनुपर्ने यी नाम

चितवनको राजनीतिमा थपिनुपर्ने यी नाम


bichar-वीरेन्द्रमणि पौडेल
राजनीति राष्ट्र सञ्चालनको मूल नीति हो जसले राष्ट्रका सबै अङ्गहरूलाई निर्देशित गर्दछ अर्थात् राजनीति शरीरको टाउकोभित्रको गिदी हो जसले अन्य सबै अङ्गलाई निर्देशित गर्दछ र अनि मात्र अन्य अङ्गहरूले काम गर्छन् । टाउकोभित्रको गिदीले अन्य शरीरका अङ्गहरूलाई निर्देशित गरेपछि अन्य अङ्गहरूले काम गरेजस्तै राजनीति जुन मूल नीति हो त्यसले अन्य अङ्गहरूलाई निर्देशित गरेपछि मात्रै चल्दछन् र राज्य सञ्चालन कार्य अघि बढ्छ । त्यसकारण शरीरको हकमा जति महत्व टाउकोको छ त्यति नै महत्व राज्य सञ्चालनको हकमा राजनीतिको छ । शरीरको हकमा टाउको स्वस्थ भए अन्य अङ्गहरूले ठीक निर्देशन प्राप्त गर्दछन् र शरीर सञ्चालन ठीक ढङ्गले हुन्छ । त्यस्तै राज्य सञ्चालनको हकमा राजनीति ठीक भए ठीक ढङ्गले राज्य सञ्चालन हुन्छ । यदि राजनीति गन्तव्यहीन भए वा बनाइए राज्यसञ्चालन प्रक्रिया अवरुद्ध हुन्छ ।
अब चर्चा गरौँ ठीक भएन भन्ने विश्वास गरिएको नेपाली राजनीतिको । नेपाली राजनीतिमा पनि अन्य जिल्लाको तुलनामा विशेष महत्व र भूमिका निर्वाह गरिरहेको चितवन जिल्लाको । आजको विश्वमा जुन देशका नागरिकले नेपाल भन्ने देश चिन्छन् ती देशका नागरिकले चितवन राष्ट्रिय निकुञ्ज अवश्य चिन्छन् र त्यही चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएर आउँछ चितवन । यसमानेमा यसरी चितवन विश्वले चिन्छ र यो चितवनमा अपवादलाई छाडेर विश्वका सबै मुलुकका मानिसले प्रतिनिधिमूलक पाइला टेकिसकेका छन् । कुल मिलाएर नेपालको चितवन जिल्लाको विश्वमै चर्चा हुन्छ । हिजो चितवन राष्ट्रिय निकुञ्जको नामले विश्वले चिन्थ्यो भने आज विश्वेश्वरप्रसाद कोइरालाको नामबाट स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नामबाट समेत यो जिल्ला विश्वव्यापी रूपमा चर्चित हुन पुगेको छ । तर, यतिबिघ्न चर्चित र महत्वपूर्ण सावित चितवन जिल्लाले राष्ट्रिय राजनीतिमा आशा गरिएबमोजिम सशक्त भूमिका निर्वाह गर्न सकेन ।
यतिबेला चितवनमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका पार्टी क्रियाशील देखिन्छन् । यी पार्टी हाँक्नेहरू, अविनास, ठाकुर, टेकप्रसाद, रामकृष्ण, विकास, जगन्नाथ, विजय, भगवती, कृष्ण, रामहरि, मोहनमणि, बद्रीलगायतका रहेका छन् । केन्द्रीय राजनीतिमै पहुँच भएका अनिल, विक्रम, देवी, काशीनाथ, हरि, सुरेन्द्र, नरबहादुर, जगन्नाथलगायतका नेता पनि चितवनमै छन् । कुल मिलाएर लेखिएका नामका नेताहरू राम्रा नेता हुन् । यिनले न त चितवनलाई बिगारे न राष्ट्र बिगार्ने कोसिसै गरे । राम्रो गर्ने प्रयास गरे तर सकेनन् । यिनको दोष छैन । नजान्नु र नसक्नु अपराध हुँदै होइन । यो कोणबाट व्याख्या गर्दा चितवनका हाम्रा नेताहरू फूलमालाले स्वागत गरेर मन्दिरमा लगेर राख्न उपयुक्त नभए पनि धारे हात लगाएर सराप्न लायक भने छैनन् । कम्तीमा यिनको नाम आर्थिक भ्रष्टाचारमा मुछिएको छैन । असाध्यै पक्षपातपूर्ण व्यवहार गरेको भन्ने पनि कतै आवाज उठेको छैन । अझै भनौँ भने जिन्दगीमा एकपटक यिनले चितवनलाई क्षतविक्षत् पार्ने षड्यन्त्रको भण्डाफोर गरेर औधी राम्रो काम गरेका थिए । त्यसकारण जिन्दगीमा एकपटक राम्रो काम गरेका चितवनका यतिबेलाका हाम्रा नेताहरू मात्रै विकास, निर्माण, शान्ति र उन्नतिका लागि पर्याप्त भएनन् । यी राम्रा नेताहरूलाई सहयात्रीको रूपमा केही नयाँ राजनीतिक पात्रहरूको आवश्यकता छ जुन योग्य दाबी गर्न सकिने नयाँ नेताहरू यी हुन सक्छन् ।
एक हुन्– गुणचन्द्र विष्ट । गुणचन्द्र सक्कली जनताभक्त स्वर्गीय रूपचन्द्र विष्टका भाइ हुन् । ह्याचरी व्यवसायसँग आबद्ध छन् । यिनको चरित्र सके अरूको भलो गर्ने नसके अरूको कुभलो नचिताउने खालको छ । कानुन तोड्न नहुने यिनको स्पष्ट विचार छ । विष्ट राजनीतिमा भाग लिने इच्छा राख्दैनन् । जनताको हितका खातिर यिनलाई राजनीतिमा आउन मनाउनैपर्ने, फकाउनैपर्ने देखिन्छ । यस्तै, शिक्षा क्षेत्रका राजकृष्ण कँडेल, टेकबहादुर थापा, मुक्तिनाथ भण्डारीलाई प्रत्यक्ष राजनीतिमा आउन प्रेरित गर्नुपर्छ । राजकृष्ण कँडेलले जीवनभरि शिक्षा क्षेत्रमा आबद्ध भएर सेवा गरेका छन् । इमान्दार र दूरदर्शी छन् । टेकबहादुर थापा यतिबेला प्रत्यक्ष राजनीतिमा भए पनि जनवर्गीय सङ्गठनमा अल्झिएका देखिन्छन् । उनलाई पार्टीको मूलधारमा ल्याएर सम्भव भए जिल्ला पार्टी अध्यक्ष बनाएर राजनीतिलाई गति प्रदान गर्न सकिन्छ । मुक्तिनाथ भण्डारी सक्षम कहलिएका भूतपूर्व शिक्षक हुन् । यिनलाई प्रत्यक्ष राजनीतिमा ल्याउँदा जनतालाई कुनै कोणबाट पनि घाटा छैन ।
यसैगरी, साहित्यतर्फबाट एकताका वितृष्णा जागेर राजनीतिलाई तिलाञ्जली दिएका इमानदार नागरिक डीआर पोखरेललाई पुन: राजनीतिमा ल्याउनुपर्छ र उनलाई नीति निर्माण तहमा चितवनले पु-याउनुपर्छ । अर्का स्पष्ट बोल्ने, लेख्ने र भ्रष्टाचारविरोधी भावना मनमा सजाएका शिक्षा र साहित्य क्षेत्रका धनराज गिरी छन् । यिनलाई पनि चितवनको राजनीतिमा अब प्रत्यक्ष समेट्नुपर्छ । राजनीतिमा आउन उनी पनि तयार हुनुपर्छ । पत्रकारिता क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ नेपाली माटोलाई असाध्यै प्रेम गर्ने चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्याल र आफ्नो पूरै जीवन दु:खी मानवहरूको घाउमा मल्हम बनेर प्रस्तुत भइरहेका एकल सिलवाललाई । मानवहितमा समर्पित यी दुई पात्र मात्रै योग्य छन् भन्ने होइन चितवनको पत्रकारितामा । अरू पनि छन् त्यागी र तपस्वीहरू तर सेवाबापत पाउने अङ्कको हकमा यी दुई पत्रकारले शतप्रतिशत अङ्क प्राप्त गर्दछन् । यिनलाई अनुरोध गरेर राजनीतिको छड्के बाटोबाट होइन सीधा बाटोबाट प्रवेश गराउनुपर्छ । नेपाली महिलाको राज्य सञ्चालन प्रक्रियामा ३३ प्रतिशत कम्तीमा सहभागिता गराउने उद्घोष गरियो तर कार्यान्वयन गरिएन । यतिबेला चितवनमा राजनीतिक क्षेत्रमा सक्रिय महिलाको उपस्थिति कमजोर देखिएको छ । सिङ्गो संस्था सञ्चालन गर्ने हैसियत निर्माण गरिसकेका महिलालाई दलीय राजनीतिमा चाँडोभन्दा चाँडो प्रवेश गराउनुपर्छ ।
यस सन्दर्भमा बालकुमारी उमावि हाँकिरहेकी सरस्वती रिजाल, चितवन माविलाई नेतृत्व प्रदान गरिरहेकी रामप्यारी शर्मा, ग्रिनल्यान्ड पब्लिक स्कुल सञ्चालन गरिरहेकी इन्दिरा कार्की र एडभेन्चर इङ्ग्लिस बोर्डिङ स्कुल सञ्चालन गरिरहेकी सीता रिजाललाई समेत अब राजनीतिमा ल्याउनुपर्ने भएको छ । आफ्नो पूरै जीवन समाजसेवामा समर्पित गरेकी चितवन लंकुकी मीना खरेललाई राजनीतिमा सक्रिय हुन सबैले अनुरोध गर्नैपर्ने भएको छ । चितवन भरतपुर– ७ मा बस्ने फलफूल तथा तरकारी विशेषज्ञ सरकारी निवृत्त कर्मचारी बुद्धिराज ढकाललाई राजनीतिमा ल्याउने हो भने कृषिप्रधान देश नेपालको मुहार फेरिन लामो समय लाग्ने छैन । नागरिक समाजको प्रतिनिधित्व गर्दै आशा अस्पताल सञ्चालन गरेर बसेको खुवीवान व्यक्तित्व नारायणसिंह कुँवरलाई कुनै पनि हालतमा राजनीतिमा चितवनका जनताले ल्याउनुपर्ने छ । यी स्पष्टवादी छन् । देशलाई माया गर्छन् । योग्य र अनुशासित पनि छन् । उद्योग वाणिज्यको क्षेत्रबाट खुवी भएर पनि लुकेर बसेका महेन्द्रलाल प्रधान, रमेशकुमार पिया, उदय श्रेष्ठ, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई र मित्रराज दवाडीहरूलाई प्रत्यक्ष राजनीतिमा अब चितौने जनताले नल्याइनहुने भएको छ । त्यस्तैगरी निर्माण व्यवसायबाट निर्माण व्यवसायी सङ्घमा नेतृत्व प्रदान गरिसकेका शिवप्रसाद भट्टराई, रामराज पौडेल, राजेन्द्रमणि काफ्ले र विनय खतिवडाहरूसमेतलाई राजनीतिक घेराभित्र सशक्त भूमिका प्रदान गरेर भित्याउन आवश्यक देखिन्छ ।
लेखिएका नामहरू मात्रै होइन, ओझेलमा परेका तर थुप्रैथुप्रै खुवीवान नागरिकलाई अब राजनीतिमा ल्याउन आवश्यक छ । यदि अब पनि हामी सङ्कुचित भावनाद्वारा ग्रसित भएर यस्ता योग्य नागरिकलाई जहिलेसुकै राजनीतिको घेराबाट बाहिर राखिरहन्छौँ भने हाम्रो चितवन जहिलेसुकै नाम मात्रैको चितवन हुने छ । सुखी, शान्त, समृद्ध चितवन हुने छैन । यो वास्तविकतालाई महसुस गरी माथि उल्लेख गरिएका नामलाई कुनै एउटा पार्टीले मात्रै होइन क्रियाशील एकीकृत नेकपा माओवादी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चालगायत सबै पार्टीले आ–आफ्नो पार्टीमा आएर स–सम्मान राजनीतिक यात्रा थालनी गर्न अनुरोध गर्नुपर्नेछ । यदि यो खालको उदारता मौजुदा राजनीतिक दलहरूले देखाउने हो भने पक्का छ चितवनले नेपालको राजनीतिमा उच्च स्थान ओगट्न सफल हुनेछ । मुलुक नयाँ ढङ्गले अगाडि बढ्न मद्दत मिल्नेछ । यसका लागि उदारताको खाँचो छ । त्यो उदारता देखाउने जिम्मा भने हाल चितवन जिल्ला हाँकिरहेका दलका नेतृत्वपङ्क्तिको नै हो । आशा छ– दलका नेतृत्वपङ्क्तिको समय नघर्किंदै बुद्धि फिर्नेछ । योग्य र सक्षमलाई राजनीतिमा ल्याउन मिहिनेत गर्नेछन् ।