अजिङ्गरको पेटबाट शरीर सर्लक्कै

अजिङ्गरको पेटबाट शरीर सर्लक्कै


अजिङ्गरले मानिसलाई निलेको घटना बेला–बेला सार्वजनिक हुँदै आएका छन् । यस्तै घटनाको शृङ्खलामा जोडिएको छ इन्डोनेसियामा घटेको केही दिनअघिको एउटा सन्दर्भ । गत साता आफ्नो खेतको रखवाली गर्न निस्किएकी एक महिला बेपत्ता भइन् । चार दिनसम्म महिलाको कतै अत्तोपत्तो नलागेपछि उनको खेतनजिक पस्रिरहेको अजिङ्गरमाथि आशङ्का गरियो– कतै यसैको सिकार त बनिनन् ती महिला ? करिब २३ फिट लामो सो अजिङ्गरको शरीरको बीचभाग अस्वाभाविक रूपले फुलेको देखेपछि त्यस्तो आशङ्का गरिएको थियो । गाउँलेले त्यसको पेट चिरेर हेर्ने निर्णय गरे । अजिङ्गर समातेर शरीरको शङ्कास्पद हिस्सादेखि चिर्न थालियो । शुरुमै महिलाको खुट्टा उनले खेतमा काम गर्दा पहिरिएको बुटसहित अजिङ्गरको शरीरबाहिर देखियो । अन्ततः तिवा नामक ५४ वर्षीया ती महिलाको शव अजिङ्गरको पेटबाट सर्लक्कै बाहिर निस्कियो ।