नगरप्रमुखमाथि जनविरोधि बनेको आरोप

नगरप्रमुखमाथि जनविरोधि बनेको आरोप


रमेश विक

नेपाल विद्यार्थी संघ, गुल्मी र नेपाल तरुण दल रेसुङ्गा नगर कार्यसमिति गुल्मीले नगरप्रमुखबाट जनविरोधि कार्य भएकोले सो कार्यका लागि सम्पूर्ण रेसुङ्गा नगरवासीसँग नगरप्रमुखले माफी माग्नुपर्ने भन्दै न्यायिक समितिको ध्यानाकर्षण गराएको छ ।

नेवि संघगुल्मीका कार्यवाहक सभापति झविन्द्र पाण्डे र नेपाल तरुण दल रेसुङ्गा नगर कार्यसमिति गुल्मीका अध्यक्ष कृष्णप्रसाद पाण्डेको संयुक्त हस्ताक्षरसहित ध्यानार्षण पत्र रेसुंगा नगरपालिकाको उपमेयर तथा न्यायिक समितिको संयोजक सीता भण्डारीलाई बुझाइएको हो ।

सार्वजनिक चासोको विषयमा गत बुधबार भइरहेको छलफलका दौरान रे.न.पा.बाट निर्वाचित नगरप्रमुख डिल्लीराज भुसालले आफ्नै स्थानीय नागरिक गोविन्द पाण्डेलाई थर्काउने, धम्काउने गरेको पत्रमा उल्लेख छ ।

यसअघि पनि पटक पटक सेवाग्राही नागरिकहरुसँग मेयरले गाली गलौज, अपशब्द, अश्लिल शब्द प्रयोग गर्दै आएकोमा यस घटनालाई प्रतिनिधि घटना बताउँदै नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले न्यायिकसमितिको ध्यानाकर्षण हुनुपर्ने कुरामा जोड दिँदै उक्त घटनाप्रति खेद प्रकट गरेको छ ।

असभ्य, अलोकलान्त्रिक र संवैधानिक व्यवस्थाविपरीत कार्य गरेकोमा अक्षम्य आरोप लागेका रेनपाका नगरप्रमुखले नगरवासीसँग माफी माग्नुपर्ने माफी नमागेमा नेपाली जनताको त्याग, तपस्या र बलिदानीले प्राप्त गरेको लोकतन्त्र र न्यायको रक्षा र पुनः नागरिकको अधिकार प्राप्तिका लागि जुनसुकै मूल्य चुकाउँदै कडाभन्दा कडा संघर्षका कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी समेत नेविसंघ र नेपाल तरुण दल गुल्मीले बुझाएको पत्रमा स्पष्ट उल्लेख गरिएको छ ।