मध्यरातमा सूर्य उदाउने देश नर्वे भनेर सामान्य ज्ञानमा पढिएको थियो । अचम्म लाग्थ्यो, मध्य रातमा पनि कसरी सूर्य उदाउँछ ? त्यस्तो पनि हुन्छ र ? केही वर्षअघि नर्वे पुग्दा नोभेम्बरको महिना थियो, घाम कतै नदेखिने, सधैँ अँध्यारो, दिउँसो त घाम नदेखिने भएपछि रातिको कुरै भएन । फ्रेडरिक स्टार्डबाट फर्किएर ओस्लो पुगेको दिन पातलो घाम लागेको थियो, जसका कारण मानिसको बोलिचालीको सुरुवात नै त्यही घामबाट भइरहेको थियो, ‘वाउ…ह्वाट सन्नी डे…!!’ आफ्नो देशमा उज्यालो भएदेखि अस्ताउन्जेल घाम देखेका हाम्रा लागि त्यसप्रकारको संवाद पनि रमाइलोलाग्दो हुने रहेछ, खुब चाख दिएर सुनेकी थिएँ । आफूसँग के छ भन्ने कुरा मान्छेले नभएको ठाउँमा पुगेपछि मात्रै आत्मसात् गर्ने रहेछ, ओहो…प्राकृतिक रूपमा हामी कति धनीजस्तो लागेको थियो त्यतिबेला । अहिले स्वीडेन आएपछि थाहा भयो समरमा त यहाँ अँध्यारो नै नहुँदो रहेछ । स्वीडेनको राजधानी स्टकहोमबाट उत्तरमा पर्ने सान्डो नामको यो सानो सरकारी टापुमा आएदेखि अँध्यारो कस्तो हुन्छ देख्न पाइएको छैन । बिहान ३ बजेदेखि राति ११ बजेसम्म झलमल्ल घाम, ११ बजेपछि घाम अस्ताउँदा देखिने पहेँलो उज्यालो, बिहान ३ बजेपछि फेरि घाम । हामी बिहान घाम लाग्ने र बेलुका अँध्यारो हुने मात्रै देखिरहेका मानिसका लागि अचम्मै लाग्दोरहेछ । हामी मात्र होइन अन्य धेरै मुलुकका मानिसका लागि आश्चर्यजनक मौसम अहिले युरोपका केही देशहरूमा छ । अमेरिकामा पनि यो मौसममा दिन लामो नै हुन्छ, घडीको सुई घुमाएर समय नै फेर्छन् त्यहाँ पनि तर रात नै नदेखिनेचाहिँ होइन । जतिबेला पनि घाम लाग्ने भएपछि मानिस घडीको भरमा समयको अन्दाज गरेर काम गर्दा रहेछन् । बिहानदेखि बेलुकासम्म घडी हेर्दै समय छुट्याउँदै । बेलुकाको खाना खाँदा बाहिर दिउँसै देखिए पनि घडीमा भने नौ या १० बजेको हुन्छ । गफ गर्दै खाना खाएर कोठातिर लाग्दा ‘वी ह्याड अ ग्रेट नाइट’ भनेर आयोजकले भन्दा सुरुको दिन त ‘नाइट ?’ भनेर अचम्मै लागेको थियो । झलमल्ल घामबीच ‘गुडनाइट’ भन्ने बानी नभएकाले अप्ठ्यारो मान्दै हामीले एक–अर्कालाई गुडनाइट भनेका थियौँ । सुत्ने बेलामा हामीकहाँ बत्ती निभाएजस्तै गरी यहाँ पर्दा लगाउनुपर्ने रहेछ । आफू ब्युँझिरहँदा जतिबेला पनि कोठा उज्यालै भएकाले बत्तीको आवश्यकता नै नपर्ने । विश्वका केही देशको भ्रमण गर्ने मौका मिलेको भए पनि यसप्रकारको मौसम भने नदेखेकाले धेरै कुरा अनौठो लाग्यो ।
संवाद र मध्यस्थताको प्रयास सम्बन्धमा भएको एक तालिमको क्रममा हामी
(निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोख्रेल, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अजय दास र यो पङ्क्तिकार) अहिले स्वीडेनको स्यान्डो टापुमा छौँ । सरासर हिँड्दा आधा घन्टामा फेरो लगाउन सकिने सान्डोमा सरकारी घर र कम्पाउन्डहरू मात्रै छन् । चर्चित फोल्क बेर्नाडोटे एकेडेमीका साथै यो टापुमा स्विडिस प्रहरीको तालिम हुने गर्छ । विशेष गरेर हतियार चलाउने, गोलीगठ्ठा खेलाउने र फायर फाइटिङको तालिम यहाँ हुने रहेछ । जसले गर्दा वरिपरि प्रहरी जवान तथा अधिकृतहरू टापुवरिपरि भेटिन्छन् । कहिलेकाहीँ बम पड्किएजस्तै गरी ठूलो आवाज आए पनि नडराउनु भनेर आयोजकले सुरुमै भनेका थिए । स्विडिस प्रहरीमा ठूलो सङ्ख्यामा महिलाको सहभागिता रहेको छ । तालिममा पनि महिला त्यत्तिकै देखिन्छन्, उनीहरूको अनुहारमा देखिने आत्मविश्वासको स्तर पुरुष प्रहरीभन्दा अलिकति पनि कम देखिँदैन । हामीकहाँ भने परिस्थिति अलि फरक छ, जसका लागि हाम्रो पृष्ठभूमिदेखि धेरै कुराले काम गरेको छ भन्न सकिन्छ । फोल्क बेर्नाडोटे एकेडेमीमा प्राय: द्वन्द्व र शान्ति सुरक्षासम्बन्धी तालिम तथा एकेडेमिक कोर्सहरू हुने गर्छन् । यो सरकारी एकेडेमी फोल्क बेर्नाडोटेलाई अमर राख्नका लागि स्थापना गरिएको हो जो संयुक्त राष्ट्रसङ्घका पहिलो मध्यस्थकर्ता थिए । सुरुमा स्विडिस सेनासँग सम्बद्ध उनले पछि जागिर छोडेर शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राजनीनितक कूटनीतिज्ञका रूपमा चर्चित उनको सन् १९४८ मा जेरुसेलममा हत्या भएको थियो । स्विडेनमा मात्र नभएर शान्तिको क्षेत्रमा काम गर्नेहरूका लागि विश्वव्यापी रूपमै उनको नाम परिचित छ । उनी एकेडेमिक पृष्ठभूमिका थिएनन् तर पनि मान्छेले चाह्यो भने केसम्म गर्न सक्छ भन्ने कुराको उदाहरण पनि हुन् उनी । सान्डो टापु राजधानी स्टकहोमबाट उत्तरमा पर्ने टाढाको गाउँमा रहेकाले राजधानीमा के भयो भन्ने कुराले यहाँका मानिसमा खासै सरोकार राख्दैन । सान्डोमा निजी बस्ती छैन तर यसको वरिपरि भने ससाना रमाइला गाउँ छन् । किसान बस्ती भएकाले हामीकहाँ गोठमा गाईभैंसी पालेझैं प्राय: सबैको घरको आँगनमा कुनामा ट्याक्टर देखिन्छ ।
युरोपको तेस्रो ठूलो देश स्विडेनको जनसङ्ख्या ९.५ मिलियन छ । संवैधनिक राजतन्त्र रहेको स्विडेनमा हजारौँ ताल छन् । जता हेरे पनि सानाठूला ताल प्रसस्त देखिन्छन् । सामी जाति यहाँको आदिवासी समुदाय हो, जसलाई सरकारले विशेष व्यवस्था गरेर राखेको छ । सामी जातिको म्युजियम हेर्दा कतिपय अहिले पनि हामीकहाँ अभ्यासमा रहेका कुराहरू देखिन्छन् जुन कुरा स्विडिसका लागि भने ऐतिहासिक बनिसके । जस्तो, हामीकहाँ गाउँघरमा प्रयोगमा रहेको खाटबाकस यहाँ म्युजियम छ । म्युजियममा रहेको अलि ठूलो सिलौटो–लोहोरो देखाउँदै एकजना साथीले ‘हेर त, यो पहिला मसला पिस्नका लागि प्रयोग गरिन्थ्यो रे, कति कठिन थियो होला जिन्दगी’ भन्दा अचम्मै लाग्यो । सिलौटो–लोहोरोमा मसला त हामी अहिले पनि पिसिरहेका छौँ । मसला पिस्न ग्रान्डरको प्रयोग हामीकहाँ कतिले गर्छन् र ? हामीकहाँ अहिले पनि हिमाली भेगका दाजुभाइ दिदीबहिनी जाडो छल्न घरपालुवा जनावर लिएर परिवारै बेसी झर्ने गर्छन् । पहिलापहिला सामी जातिहरूको इतिहास पनि त्यस्तै रहेछ । नयाँ नेपालका नाममा हामीले सालिकसमेत भत्कायौँ तर यहाँ भने पुराना सामान्य घरहरूसमेत संरक्षण गरेर राखिँदोरहेछ । स्टकहोमको एयरपोर्टमा राजारानीदेखि विभिन्न सेलिब्रेटीसम्मको फोटो राखेर ‘मेरो देशमा यहाँलाई स्वागत छ’ लेखेर राखेको पनि राम्रो लाग्यो । हामीले कुरा ग-यौँ, जब मानिसलाई खाने–लाउनेजस्ता आधारभूत कुराको चिन्ता हुँदैन उसले सिर्जनशील भएर केही गर्न सक्छ । हामीकहाँ त एयरपोर्टतिरको जिम्मेवारी लिनेहरू खाने र खुवाउने चिन्ताबाट मुक्त नै छैनन् अनि कसरी सिर्जनशील भएर केही गर्न सक्छन् ? अरूको मुलुकमा जस्तो छ त्यस्तै गर्नुपर्छ भन्ने होइन तर सबै क्षेत्रबाट इमानदार भएर गर्ने हो भने हामी मुलुकलाई उदाहरणीय बनाउन सक्छौँ ।
प्रतिक्रिया