– डा. हरिप्रसाद पोखरेल
विज्ञापनमा नैतिकताको प्रश्न आजभोलि जताततै उठ्न थालेको छ । अश्लीलता, मिथ्यावर्णन, झुट, धोखा आदिको सहारामा आकर्षक र मनै लोभ्याउने विज्ञापनहरूले रेडियो, टेलिभिजन, पत्रपत्रिका एवम् घर र भित्ताहरू रङ्गिएका छन् । उपभोक्ताहरू प्रत्यक्ष या परोक्ष रूपमा हरक्षण विज्ञापनको सम्पर्कमा रहिरहेका छन् । प्रतिफल त्यसबाट ती मनोवैज्ञानिक रूपमा प्रभावित पनि भइरहेका छन् ।
आज बढ्दै गएका विज्ञापनहरू सामाजिक सन्तुलनमाथि चुनौतीको रूपमा देखिन थालेका छन् । अनैतिक छद्म विज्ञापनहरूबाट आकर्षित भएर किनेका सामानहरूले शारीरिक, मानसिक र आर्थिक रूपमा हानि उठाउन उपभोक्ताले परिरहेको छ । विज्ञापन यति सशक्त माध्यमको रूपमा आज अगाडि बढिरहेको छ कि सारा समाजलाई सक्रिय प्रभाव पार्ने क्षमता देखाइरहेको छ । यसको ठीक उपयोग गरिएन भने सम्पूर्ण समाजमा घातक र दूषित प्रभाव पर्न जाने कुरा निश्चित छ । अन्य विज्ञापनहरू जसमा बढी सावधान र सचेत हुनु जरुरी छ, नत्र ठूलो घाटा सहनुपर्नेछ । यो सानो लेखमा सबै कुरा त राख्न सक्दिनँ, तर बिन्दुमा सागर भर्ने कोसिस गर्नेछ ।
उदाहरणको लागि कृत्रिम रसायनद्वारा स्वाद, सुगन्ध र रंग संयोजन गरेर बनाइएका बट्टा या बोतलबन्द चिसो पेयहरूलाई प्राकृतिक फलफूलको रसले भन्दा बढी आनन्द दिने भनेर देखाउनु । बट्टाबन्द धूलो दूधहरूलाई आमाको दूधभन्दा राम्रो भनेर देखाउनु । बाल आहारहरूको विज्ञापनमा प्राकृतिक भोजनभन्दा राम्रो भनेर देखाउनु । साबुन एवम् क्रिमहरूको उपयोगले १०–१५ वर्ष कम उमेरको देखिन्छ भन्नु । चाउचाउ, बिस्कुटको विज्ञापनमा स्कुलका बच्चाहरूलाई स्कुल युनिफर्ममा चाउचाउ बिस्कुट बोकेर नचाउनु । चुरोटले सहास बढाउँछ या साहसीको प्रतीक भनिनु । साबुनपानी स्याम्पुको विज्ञापनमा स्वाभाविक रूपमै लामो र चम्कला रौँ भएका महिलालाई उपस्थित गर्नु । रक्सी, बियरका विज्ञापनहरूमा १५ वर्षभन्दा मुनिका बच्चाहरूलाई देखाउनु । निश्चित पोषक पेय पिएर पाइलट हुनेजस्ता घटियो कुरा बोलिनु ।
अनैतिक, अश्लील, अवैज्ञानिक, धोखा, छलकपट, अर्थलिप्सा र ठगीलाई प्रमुखता दिएका कुनै पनि विज्ञापनप्रति सरकारको स्पष्ट नीति र कठोर कदम हुनुपर्छ । नत्र १०–१२ वर्षका अवोध बालबालिकालाई रक्सी र चुरोटको विज्ञापनमा उपस्थित गराउन थालियो भने के हामीले हाम्रो कला, संस्कृति र विज्ञानलाई बचाउन सक्नेछौँ ?
यौनजनिकहरू एवम् प्राकृतिक रूपमा हार्मोन निस्कने क्रियालाई प्रतिकूल पाने घातक औषधिहरूको यौनोत्तेजक विज्ञापन दिइनु आदि आज हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने विज्ञापनहरूमा पर्दछन् भने अर्धनग्न रूपमा नारी शरीरलाई देखाएर विविध वस्तुको विज्ञापन गर्नाले युवा मनमा अस्वस्थ भावना पैदा गर्दछ ।साथै नारीप्रतिको सामाजिक सम्मानलाई समाप्त गरिदिन्छ । उपरोक्त विज्ञापनहरू स्वास्थ्यको दृष्टिले खोज–अन्वेषण गरी भनिएका होइनन्, केवल बिक्रीको लागि छद्म र धोखापूर्ण शब्द हुन् । यस्ता विज्ञापनमा रोक लाग्नुपर्छ । यस्ता विज्ञापनले प्रत्यक्ष रूपमा त सत्तालाई बढीभन्दा बढी कर दिएर लाभ गराउला, तर जब जनस्वास्थ्य र सर्वाङ्गीण रूपमा सामाजिक संरचनामा प्रतिकूल असर पर्दछ तब देशले ठूलो क्षति सहनुपर्नेछ । छद्म विज्ञापनबाट प्रभावित भएर किनेको सामानले जब बताएबमोजिम लाभ हुँदैन तब आर्थिक क्षति त हुन्छ नै त्यसको सीधा असर मानसिक सन्तुलनमाथि पनि पर्दछ, प्रतिफल मानसिक स्वास्थ्य बिग्रन जान्छ ।
अनैतिक, अश्लील, अवैज्ञानिक, धोखा, छलकपट, अर्थलिप्सा र ठगीलाई प्रमुखता दिएका कुनै पनि विज्ञापनप्रति सरकारको स्पष्ट नीति र कठोर कदम हुनुपर्छ । नत्र १०–१२ वर्षका अवोध बालबालिकालाई रक्सी र चुरोटको विज्ञापनमा उपस्थित गराउन थालियो भने के हामीले हाम्रो कला, संस्कृति र विज्ञानलाई बचाउन सक्नेछौँ ? औषधि, सौन्दर्य प्रसाधन, स्वास्थ्य पदार्थ जो स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्दछन् तिनीहरूका विज्ञापन र यथार्थको जाँच भइरहनु आवश्यक हुन्छ । रक्सी, चुरोटजस्ता स्वास्थ्यलाई प्रत्यक्ष हानि गर्ने कुराहरूको विज्ञापनमा मनै लोभ्याउने उपहारहरू राखिनुहुन्न जसको लोभमा मानिसहरू यस्ता कुलतमा आकर्षित हुन्छन् । नेपालमा केही दिन पहिले मात्र देशको ठूलो अन्तर्राष्ट्रिय सभा–भवनमा बियर पिउने प्रतिस्पर्धा भएको थियो, भोलि चुरोट पिउने प्रतिस्पर्धा हुन सक्दछ, योभन्दा लज्जास्पद कुरा के हुन सक्दछ ? किन हामी यस्ता कुरालाई प्रश्रय दिइरहेका छौँ ?
म अन्त्यमा सत्तालाई के भन्न चाहन्छुु भने रक्सी, चुरोट एवम् अन्य स्वास्थ्यलाई हानि गर्ने विज्ञापनहरूलाई सरकारी सञ्चारमाध्यममा स्थान नदिने व्यवस्था होस् । रक्सीको सट्टा दूध, चाउचाउ, बिस्कुटको सट्टा फलपूmल, सागपात, बजारू चिसो बोतल बन्द पेयहरूको बदला मोही, फलफूलको रस, कागतीपानी, महपानी आदि स्वस्थकर वस्तु पिउन प्रेरित गर्ने विज्ञापनहरू प्रसारित गर्ने व्यवस्था मिलाइयोस् जसले देशको ठूलो धनराशि औषधिमा बिदेसिनबाट बाँच्ने छ र स्वस्थ नागरिकले स्वस्थ राष्ट्रको निर्माण गर्न सक्नेछ ।
(घटना र विचार साप्ताहिक, २०५३ फागुन २९ गते बुधबार)
प्रतिक्रिया