मोफसलको बत्ति काटेर शहरियालाई उज्यालो !

मोफसलको बत्ति काटेर शहरियालाई उज्यालो !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानी काठमाडौं र खास-खास शहरी क्षेत्रमा जसोतसो विद्युत आपूर्ति गराइए पनि देशका अधिकांश भूभागमा नेपाल विद्युत प्राधिकरणले अन्धकार वितरण गरेको छ ।

भारतले विद्युत आपूर्तिमा अनुदार व्यवहार प्रकट गरेपछि नेपालमा विद्युत अभाव भएको हो । विद्युत खरिद सम्झौता नवीकरणमा भारतले आनाकानी गरेपछि विद्युत आपूर्तिमा समस्या आउन लागेको र, प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले राजीनामा दिने मुड बनाएका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजनीतिक तहबाट समस्या समाधान गर्न आग्रह गरे । घिसिङ आफ्नो छवी जोगाउन चाहन्थे, भारतले बिजुली नदिँदा लोडसेडिङ हुने र आफूले राजीनामा दिँदा कूलमान नभएको कारण लोडसेडिङ भयो, भन्ने सन्देश दिन चाहन्थे । तर, प्रधानमन्त्री प्रचण्डले भारतीय राजदूतलाई बोलाएर बिजुली नवीकरण गर्न आग्रह गरे र, भारतबाट ५ सय मेगावाट विद्युत आउन थालेको हो ।

भारतबाट बिजुली नआउँदा देशमा दैनिक १० घण्टा लोडसेडिङ हुन्छ । तर, कूलमान भने ‘आफ्नो कारणले नै लोडसेडिङ हटेको’ क्रेडिट लिएर वाहवाही कमाइरहेका पात्र हुन् । विडम्बनाको कुरा ! यो तथ्य अधिकांश नेपालीलाई जानकारी छैन ।

भारतबाट बिजुली आउँदा पनि तराईका जिल्ला र औद्योगिक क्षेत्रमा दैनिकजसो १७ घण्टा लोडसेडिङ हुन थालेको छ । तराईमा अहिले मानिसहरूको दिनचर्या अति कष्टकर बनिरहेको छ । पछिल्लो सम्झौताअनुसार भारतले आगामी असार १५ सम्ममात्र दैनिक ५ सय मेगावाट बिजुली दिनेछ, त्यो पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र ! यदि हिउँद याममा बिजुली उत्पादनमा ह्रास आउँदा भारतबाट विद्युत् आयात गर्न सकिएन भने मुलुकले चरम लोडसेडिङ खेप्नुपर्ने हुन्छ । अहिले पनि उच्च माग हुने समय (पिक आवर)मा बिजुली अभाव भएर दैनिकी कष्टकर बन्दै गएको छ । जसकारण कुलमानको ‘साख’ दैनिकजसो खस्कँदै गएको छ ।

नेपालमा अहिले अर्थात् हिउँदको समयमा १ हजार १ सय मेगावाटमात्र बिजुली उत्पादन हुन्छ । ‘रन रिभर’ भनिने खोलामा पानी हुँदा बढी उत्पादन र पानी घट्दा कम उत्पादन हुने प्रणालीजडित बिजुली उत्पादनका कारण हिउँदको समयमा सधैं बिजुलीअभाव भइरहन्छ । नेपालको कूल विद्युत उत्पादन क्षमता भनेको ३ हजार मेगावाट हो, जसमा निजी क्षेत्रको २ हजार ३ सय मेगावाट र सरकारी क्षेत्रको ७ सय मेगावाट रहेको छ ।

पिक आवर भनिने बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ६ बजेदेखि ९ बजेसम्म बिजुलीको प्रयोग गर्न नपाएर उपभोक्ता हैरान छन् । औद्योगिक क्षेत्रमा बिजुली नभएर उत्पादन गर्न नै समस्या भइरहेको छ । ‘कुलमान काइदा’ले तराइदेखि पहाडी क्षेत्रको बिजुलीमा अघोषित रुपमा लोडसेडिङ गरेर काठमाडौंमा भने बिजुली दिने गरिएको छ । जसले गर्दा राजधानी बस्ने उपभोक्तालाई लोडसेडिङको चिन्ता परेको छैन ।

फिडर मर्मतका नाममा सूचना निकाल्नु र बिजुली काट्नु नै कुलमानको काइदा हो । बिजुली दिन नसकेपछि मर्मतको बहाना बनाई बिजुली नदिएर कुलमानले उपभोक्तालाई ठगीरहेको प्राधिकरणका एक कर्मचारीले घटना र विचारसँग खुलासा गरे । तराईमा अहिले ४० डिग्रीमाथि तापक्रम छ । मानिसहरू घरबाहिर निस्कन सकिरहेका छैनन् । अनि एसी र पंखा चलाउने बिजुली नै नभएपछि त्यहाँको जनजीवन अति कष्टकर बनिरहेको सर्लाहीका एक युवाले बताए ।

बिजुलीको अघोषित लोडसेडिङका कारण तराईका जिल्लाका प्राधिकरणका कार्यालयमा दैनिक घेराउ हुन थालेपछि विकल्पमा बिजुलीको व्यवस्थापनको बदलामा कुलमान राजीनामा पत्र बोकेर हिँड्न थालेको प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । एक कर्मचारीले भने, ‘काठमाडौंको प्राधिकरण कार्यालय नै घेराउ गर्ने अवस्था आएमा कुलमानले राजीनामा बुझाउने छन् ।’