– डिल्लीराम अम्माई, बेल्जियम
लग्जेम्बर्गमा हुन गैरहेको युरोपियन सम्मेलनबारे छलफलसहित तयारीमा होमिएको एनआरएनए युरोपले आफ्नो तयारीलाई अन्तिम–मध्यतिर पुर्याइएको जनाएको छ । आगामी जुलाई २९ र ३० मा हुने ११औँ एनआरएनए युरोप सम्मेलनको तयारीका लागि उपसमितिहरू र त्यसका संयोजकहरू घनिभूत रुपमा आफ्नो निर्णय कार्यान्वयनमा जुटिरहेको बताएका छन् ।
लग्जेम्बर्गको हिल्टन जस्तो महँगो तारे होटलमा गर्न लागिएको गैरआवाशीय नेपालीको युरोपस्तरीय सम्मेलनले यो पटक नेपालीहरूका आन्तरिक तथा बाह्य समस्याहरूको बारेमा के–कसरी सम्बोधन गर्ला त्यो त सम्मेलनको सत्रभित्र आउने विषयगत बहसपछि मात्र थाहा होला । तर, त्यसबारे चलेको बाह्य बहस र नेतृत्वको प्रक्रियालाई हेर्दा विगतका सम्मेलनहरू भन्दा यो पटकको सम्मेलन पृथक हुनेमा आशंका गर्न सकिने ठाउँ प्रशस्त देखिन थालेका छन् ।
प्रथम कुरा त तारे होटल नै आयोजकको रोजाइमा पर्नु उनीहरूको ब्यवस्थापकीय बाध्यता हो वा नेपालबाट आउने भनिएका ब्यवसायी, पत्रकार र अन्य विशिष्ठ पाहुनाको ‘आवरण’मा ल्याइने आकृतिहरूको प्रवेशआज्ञा सहजताको लागि हो ? त्यो आयोजकले स्विकार नगरेतापनि अघिल्ला सम्मेलनहरूको पुनरावृत्तिमा कहिँ न कहिँ मेल खान्छ भन्नेलाई सहज उत्तर दिन आवश्यक देखिन्छ ।
पाँच सयभन्दा बढी अतिथि ल्याइने सम्मेलनका आयोजकले बताइसकेका छन् । ती सबै आगन्तुकहरूको आवश्यकता र औचित्यता त सम्मेलनमा उनीहरूले खेलेको भूमिकाले पुष्टि गर्ने नै छ । अन्य देशबाट आउने सहभागीहरू स्वाभाविक पनि हुन्छन् र उनीहरूको भूमिका आवश्यक पनि रहन्छ । विशेषतः नेपालबाट आउने पाहुनामध्ये परराष्ट्रमन्त्री र भुतपुर्व प्रधानमन्त्री स्वाभाविक पाहुनाहरू हुन् ।
त्यस्तै गैरआवासीय नेपाली संघको लगानीबारे चासो राख्ने, सघाउने र कानुनी सहजताको लागि मरिमेट्ने विद् वा सम्बद्ध ब्याक्तिहरू सम्मेलनमा हुने बहस, आर्थिक योजना वा लगानी नीतिबारे हुने छलफलमा भाग लिन पाउनुलाई पनि अस्वाभाविक मान्न सकिँदैन । पत्रकारहरूको विषयमा पनि ती कुरा जायज हुन सक्छन् । तर त्यसको छायामा हुने, गरिने वा हुन सक्ने कतिपय पुराना चलखेलहरू यो पटक नदोहोरिउन् भनेर आयोजक तथा आयोजक देशको राष्ट्रिय समन्वय समिति चनाखो भने हुनैपर्छ ।
अर्कोतर्फ हिजोका सम्मेलनहरू त्यति लयमा चलेका देखिएनन् । छलफलमा बुँदाअनुसार गति लिन नसकेको र औपचारिकतामा मात्रै सीमित भएको सम्मेलनमै सहभागी भएर आएकाहरूले बताउँथे । यो पटक त्यसको क्रमभङ्ग हुन्छ कि हिजोकै शैली समात्छ त्यो त सम्मेलनपछि नै भन्न सकिएला ।
युरोपको २७ देशमा रहेका एनआरएनए अभियन्ताहरू आफ्नो देशका साझा समस्याहरूबारे आफ्नो राष्ट्रिय टिमसँग बहस गरी सम्मेलनमा आउँदा स्वयमलाई सहज हुने र आन्तरिक तथा लगानीसम्बन्धी आफ्नो धारणा बुँदागत रुपमा राख्दा बहस बढी उत्पादक हुने देखिन्छ । बहसमा समयको मिलानलाई समेत यसले सहजता प्रदान गर्ने हुन्छ । सुन्ने–सुनाउने र छलफललाई विषयकेन्द्रित बनाउन हामीले राष्ट्रिय टिमसँगको छलफललाई निर्णायक बनाउनु जरुरी छ । नत्र आफ्नो बोल्ने समय सक्ने बाहेक उपलब्धि नहुन सक्छ ।
आयोजकले पनि विषय प्रवेशभन्दा अगाडी कर्मभूमिका समस्यासँग सम्बन्धित, जन्मभूमिको पर्यटन प्रबर्धनसँग सम्बन्धित, आन्तरिक तथा मुलुकमा लगानीसँग सम्बन्धित, सिप हस्तान्तरणसँग सम्बन्धित, एकल तथा एकीकृत पुँजी प्रवाहसँग सम्बन्धित र भाषा, संस्कृति, साहित्य वा अन्य डायास्पोरिक विषयसँग सम्बन्धित राय, सुझावसहित छलफलको लागि एजेण्डा शीर्षक तय गर्दा समीक्षामा पुग्न सहज वाताबरण बन्न सक्थ्यो ।
योभन्दा अगाडिका सम्मेलनहरूमा कुराहरू त धेरै भए होलान्, शीर्षक अनुसार छलफल पनि भए होलान् र सम्मेलनको वृहद समीक्षा पनि भए होलान् । तर, एनआरएनले बुझ्ने गरेर त्यो बाहिर आउन सकेन । निर्णय कति पूरा भए, कति अपुरा वा अधुरा, त्यति बेलाका आयोजकहरूले बाहेक पत्रकार सम्मेलन नै गरेर त्यसको समीक्षा गरिएन, त्यो जाँगर अभियान्ताहरूमा देखिएन । त्यसले एकखालको अस्पष्टता र सनसनीलाई छोडेर जाने बाहेक गर्विलो माहोल बनाउन नसकेकै हो । मानव तस्करीको आशंकाका विभिन्न सन्दर्भ सार्वजनिक हुँदा स्पष्टिकरणसहित नेपालबाट अतिथिको रुपमा बोलाइएकाहरूको नामावलीसमेत सार्वजनिक गर्ने साहस वा जाँगर आयोजकमा नदेखिनु दुःखद नै भन्नुपर्छ । हामी पारदर्शी नहुदा कसैलाई फाइदा होला–नहोला तर एनआरएनएलाई कदापि फाइदा हुँदैन । एनआरएनए त्यसमा चनाखो र सहज बन्नैपर्छ ।
कसैले प्रश्न उठाउँदा खुशी हुने वातावरण बनाउनु नेतृत्वकर्ताको कर्तब्य हो भने प्रश्न उठाउनु सदस्यहरूको अधिकार हो । केही दिन अगाडि हाम्रो युरोप संयोजकसँग कुराकानी कुराकानी गर्ने मौका मिल्यो । पत्रकार युरोप शाखा, युके शाखा र एनआरएनए युरोपको बारेमा भएका केही असमझदारीबारे छलफल भयो । उहाँ एनआरएनए युरोपको निर्णायक तहमा हुनुहुन्छ । त्यहाँ उहाको निर्णय अन्तिम हुन्छ । युरोप सम्मेलनलाई सफल बनाउन पत्रकार चिरन शर्माको संयोजनमा एक समिति बनेको रहेछ । त्यसमा पत्रकार महासंघ युरोप र युके शाखाको अध्यक्षसहित उपसमितिको सदस्यमा राखिएको विषयले विवाद निम्त्यायो ।
मानव तस्करीको आशंकाका विभिन्न सन्दर्भ सार्वजनिक हुँदा स्पष्टिकरणसहित नेपालबाट अतिथिको रुपमा बोलाइएकाहरूको नामावलीसमेत सार्वजनिक गर्ने साहस वा जाँगर आयोजकमा नदेखिनु दुःखद नै भन्नुपर्छ ।
त्यो समितिसम्बन्धित पक्षसँग छलफल गरेर बनाइएको भए विवाद हुने कुरै थिएन । को–कहाँ भन्दा पनि त्यो समिति कसरी बनाइयो त्यो महत्वपुर्ण हुन्छ । यो पंङ्क्तिकारलाई पनि त्यो समिति सदस्यमा राखिएको मिडियामार्फत थाहा भयो । कमसेकम प्रक्रिया बुझेका अभियन्ताहरूबाट त्यो भुल हुनुहँुदैनथ्यो । छलफलले सबै कुराको निकास दिन्छ भने त्यहाँ पनि सहज निकास निस्कन्थ्यो । अहिले विवादित समितिमा बसेर भन्दा सहज रुपमा र स्वतन्त्रतापुर्वक एनआरएनएको सदस्य भएर सेवा गरिरहने निकास उपयुक्त लाग्यो । सोहीअनुशार गरि–गराई दिनुहुन मिडिया समितिका मित्रहरूलाई पङ्क्तिकारको विनम्र निवेदन समेत छ ।
अर्को कुरा बसाइँसराइसँग सम्बन्धित विषयको बारेमा चासो लिँदै एनआरएनएले दीपक खरेलको संयोजकत्वमा माइग्रेशन उपसमिति समेत बनाएको रहेछ । जसको महत्व अत्याधिक छ तथापि यसका कार्य योजना र काम गर्ने परिधि विशेष क्षेत्रीय सम्मेलनमा बढी बुझ्न पाइएला ।
केही शीर्षकमा उठाएको रकमबारे अहिले जहाँतहीँ चर्चा चलेको रहेछ । त्योबारे बुझ्दा कार्यालय भबन निर्माण र शंखमुल पार्कको प्रतिबद्धता रकमबारे अलिक भद्दा टिप्पणीहरू सुनिन थालेका छन् । प्रतिबद्धता रकममध्ये कार्यालय निर्माणको खातामा १९ करोड ७५ लाख ८६ हज्जार ९ सय ६० मद्धे ११ करोड ६५ लाख ८ हजार ५ सय ८१ रुपैयाँ मात्र उठेको विवरण बाहिर आएको छ भने शंखमुल पार्कको लागि १ करोड ५३ लाख ६८ हज्जार २ सय ६८ रुपैयाँमध्ये १ करोड १७ लाख ८५ हज्जार ३ सय ८३ बैकमा जम्मा भएको बताइन्छ । अन्य बोलेको रकम किन उठेन भन्ने सवालमा युरोपबाट बाँकी रहेको रकम उठाउने जिम्मेवारी संयोजक शिव बरुवालले लिएको उहाँको अडियो अन्तर्वार्तामा सुन्न पाइयो, जसलाई सुखद नै मान्नुपर्छ । प्रक्रियामा रहेका उठन्ती नदिएकाहरूको नाम समयअगावै सार्वजनिक गरिनुपर्ने आवाजलाई जायज मानिँदैन र मान्नु पनि हुँदैन ।
एनआरएनएका अहिलेसम्मका नेतृत्वहरूले अहिलेसम्मका मानव ओसारपसार लगायतका आरोपहरूलाई आधारहीन भन्दै आए पनि अघिल्ला सम्मेलन वा मेलाहरूमा चलखेल गर्ने प्रयत्न गरिएका हुन् । त्यसको लागि यो पटक संयोजकलगायत आयोजक देशको समिति पक्कै चनाखो हुनेछ भनेर अपेक्षा गर्न सकिन्छ । हामीमा गल्ती वा कमजोरी स्वीकार नगर्ने र अरुलाई आरोपित गर्दा तालि पिट्ने रोग ब्याप्त छ । त्यसको लागि अहिल्यै के पो भन्न सकिन्छ र ! अहिले व्यक्त गर्ने भनेको त चासो र चिन्ता मात्र न हो ।
(तस्बिर शिव बरुवालको फेसबुक वालबाट)
प्रतिक्रिया