महोत्तरीमा ६ महिनादेखि ५९ महिनासम्मका सात हजारभन्दा बढी बालबालिका कुपोषणको सिकार भएका छन् ।
जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गीरेन्द्र झाले जिल्लाको दुई हजार दुई सय बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताए ।
चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोवास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका सिकार भएका हुन् । त्यस्तै, सहरी क्षेत्रका बालबालिका सन्तुलन मिलाएर खाना नखाएका कारण कुपोषणको सिकार भएका छन् ।
जिल्ला अस्पताल महोत्तरीले जिल्लाका बालबालिकामा फेला परेको कडा खालको र मध्यम खालको कुपोषण हटाउन जिल्ला अस्पताल जलेश्वरलगायत जिल्लाका अन्य करिब एक दर्जन विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा विशेष कार्यक्रम लागू गरेको छ ।
महोत्तरीमा अहिले ६ महिनादेखि ५९ महिना उमेर समूहका ७० हजार ६२५ जना बालबालिका रहेका छन् ।
प्रतिक्रिया