नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन खुला भएको छ ।
बिहान ५ः२० मा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । पहिरो पन्छाउन बिहान ८ः३० बजेबाट दुईवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो । मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्ची खोला पर्दछ ।
सो ठाउँमा गत वर्ष तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा संसदीय टोलीले निरीक्षण गरेकै दिन पनि पहिरो खसेको थियो । त्यसपश्चात् पुनः आज बिहान पहिरो खसेको हो ।
दुई दिनदेखि सो सडकखण्डका ठाउँठाउँमा सानातिना पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने हुँदै आएको थियो । बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुले हैरानी व्यहोरेका थिए ।
रासस
प्रतिक्रिया