माओवादी पार्टीहरूबीच छिट्टै एकता हुने प्रचण्डको जिकिर

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुने प्रचण्डको जिकिर


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने जिकिर गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१३ मा शनिबार (३ कात्तिक) आयोजित पार्टीको एक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।

माओवादी विद्रोहको समयमा बेपत्ता भएका दण्डपाणि न्यौपानेको स्मृतिमा भवन निर्माणार्थ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा अध्यक्ष प्रचण्डले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गर्दै भने, ‘शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ ।’

पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको तर्क गर्दै उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा शहीदको नामावली राजपत्रमा प्रकाशन, योद्धाहरूको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍यउनेलगायत काम गरिएको उल्लेख गरे ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधानसभाको जस्तै अवस्था आउने धारणा राखे । जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको उनको तर्क थियो ।

यस्तै, माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र सङ्घीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताइन् । त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेकोमा उनले जोड दिइन् ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्ने बेला आएको बताए ।