स्वास्थ्य मन्त्रालयमा बढ्यो बेथिति !

स्वास्थ्य मन्त्रालयमा बढ्यो बेथिति !


स्वास्थ्य मन्त्रालयमा वामपन्थीहरूको मनपरी चलेको भन्दै सम्बद्ध कर्मचारीहरूले गुनासो गर्न थालेका छन् । वाम सरकार बनेपछि मन्त्रालयमा अनियमितता बढ्नुका साथै आस्थाका आधारमा कर्मचारीमाथि व्यवहार हुने गरेको उनीहरूको आरोप छ ।

बताइएअनुसार स्वास्थ्य मन्त्रालयको सबैभन्दा बढी रकम चलखेल हुने कार्यालयको रूपमा रहेको योजना शाखामा उपसचिव लीलाराज पौडेल आएका छन् । हरेक कार्यालयमा रकम थप गरेर सामुदायिक अस्पतालको अनुदानमा अस्पतालको यन्त्र–उपकरण खरिद, भवन निर्माणमा रकम विनियोजन गरेबापत उनले ठूलो कमिशन लिने गरेका छन् । मन्त्रालयको संस्थागत अनियमितता यहीँबाट शुरु हुन्छ । स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा हालै एघारौँ तह भएका डा. विवेकलाल कर्णलाई पदस्थापन गरिएको छ भने हालसम्म उपमहानिर्देशक रहेका चूडामणि भण्डारीलाई मन्त्रालयमा तानिएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखा खोप शाखामा खोप प्रमुखमा डा. झलक गौतम आएका छन् भने पोषण शाखा प्रमुखमा मुकुन्दराज गौतम आएका छन् । खोप शाखामा सबैभन्दा बढी हालीमुहाली भरत भण्डारीले गरेका छन् । आफूलाई एमालेको नेता भन्ने भण्डारीले योजना निर्देशक कपिल तिमिल्सेनासँग ताण्डव नै देखाए । सामान्य कार्यालयको मर्यादामा बस्न नसक्ने तथा सेवा–सुविधा भनेपछि हुरुक्कै हुने भण्डारीले जागिरकै दौरान अकुत सम्पत्ति कमाउन सफल भएका छन् ।

आपूर्ति व्यवस्था महाशाखामा योजना प्रमुख ज्ञानबहादुर बीसी र स्टोर प्रमुख केदार उप्रेतीको समानान्तर प्रशासन चलेको छ । क्यामोनिक्स बिलिटाबाट नेपाल सरकारको बजेटबाटै उनीहरूले दोहोरो सुविधा लिएका छन् । भएका सवारीसाधन दैनिक भ्रमण–भत्तालगायत सबै बजेटमा उनीहरू दुवैको साम्राज्य चलेको छ । डा. रमेश खरेल उनीहरूको अगाडि निरीह बनेका छन् ।