दुर्घटनामा बाबुछोरीसहित चारको मृत्यु

दुर्घटनामा बाबुछोरीसहित चारको मृत्यु


तनहुँको आँबुखैरेनी–१, बरादीमा हिजो मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीसहित चारको मृत्यु भएको छ ।

दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीका २५ वर्षीय कमल लामिछाने र उनकी तीन वर्षीया छोरी ममता लामिछानेको मृत्यु भएको हो । उनीहरूको उपचारको क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको हो ।

यसैगरी, दुर्घटनामा मृत्यु हुने अन्य दुईजना तनहुँकै आँबुखैरेनी–४ का २६ वर्षीय डिलबहादुर थापा र २८ वर्षीय नुनबहादुर खवास रहेका छन् ।

मंगलबार आँबुखैरेनीबाट डुम्रेका लागि छुटेको ग.१ ख ३०७३ नम्बरको बसले बा.१७ च १८१४ नम्बरको भ्यान र ग.५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चारजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी कमलकी श्रीमती २० वर्षीया पार्वतीको पनि गण्डकी मेडिकल कलेजमा नै उपचार भइरहेको छ । दुर्घटनाका अन्य घाइतेमा चितवन भरतपुर–६ की २० वर्षीया सरु पाठक, पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका २४ वर्षीय गुरुदत्त तिवारी, वडा नं २ खुरकोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्द तिवारी छन् । उनीहरू पनि मृतकका आफन्त नै हुन् ।

कुश्माबाट काठमाडौं जाने क्रममा मृतक लामिछाने र आफन्त एउटा निजी प्रकाशन गृहको भ्यानमा त्यसतर्फ जाँदै थिए । काठमाडौंको निजी पब्लिकेसनमा काम गर्दै आएका मृतक लामिछानेकी श्रीमती पार्वती र छोरी भने मनकामना मन्दिरमा पूजा गर्न हिँडेको आफन्तले बताएका छन् ।