यी हुन् नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग

यी हुन् नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग


नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि सो मार्ग हुँदै यात्रा गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ ।

सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नुपर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिइएको हो ।

राजधानी काठमाडौं भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नुपर्दैन । तैपनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिँदैन । जसका कारण घन्टौँ सडकमा खतरा व्यहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनुपरेको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा लामो समयसम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था रहेको छ । पश्चिम नेपालबाट काठमाडौं आउने सवारीसाधन बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौं जान सक्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दूरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दूरी २३३ किलोमिटर पर्छ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारीचालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उनको सुझाव छ । करिब एक घन्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ ।

त्यसैगरी, पूर्वी नेपालबाट काठमाडौं जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं जाँदा १४६ किलोमिटर दूरी पर्छ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौं जाँदा १८७ किलोमिटर दूरी पर्ने खनाल बताउँछन् ।

यो दूरी ४१ किलोमिटर मात्रै बढी हो । जुन एक घन्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । तर, पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौं जाँदा ११५ किलोमिटर मात्रै पर्छ । हेटौँडा– नारायणगढ–मुग्लिन हुँदै काठमाडौं जाँदा भने २१८ किलोमिटर पर्छ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दूरी कम हुन्छ । वैकल्पिक मार्ग प्रयोग गर्न सकिएमा यतिबेलाको जोखिममा कमी आउने आयोजनाका प्रमुख रोहितकुमार विसुरालको भनाइ छ ।

नारायणगढबाट काठमाडौं जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर, त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्छ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडकखण्डमा बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैकल्पिक मार्ग प्रयोग गर्ने र जोखिम कम गर्ने विषयमा आजै छलफल गर्न लागिएको बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले यो सडक प्रयोग गर्दा सावधानी अपनाउन सूचना जारी गर्दै आएको र पहिरो खसेलगत्तै सकेसम्म छिटो सफा गर्ने काम भइरहेको बताए । यद्यपि पहिरो खसिरहेकाले वैकल्पिक मार्ग प्रयोग गराउन सकेमा सवारी चापमा कमी आउने उनी बताउँछन् ।

राजधानी प्रवेश र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् । पछिल्लो समय सडक स्तरीय बनेसँगै सवारी चाप थपिएको थियो । यो सडकको स्तरोन्नतिका क्रममा अधिकांश ठाउँमा भित्तो काटिएकाले पहिरोको जोखिम उच्च भएको हो ।

रासस