मोरक्कोको उत्कृष्ट प्रदर्शन, स्पेनको साख जोगियो

मोरक्कोको उत्कृष्ट प्रदर्शन, स्पेनको साख जोगियो


फिफा विश्वकप समूह दुईअन्तर्गत स्पेन र मोरक्कोबीच भएको रोमाञ्चक अनि सनसनीपूर्ण खेल २–२ को बराबरीमा टुङ्गिएको छ । खेल शुभारम्भ हुनुअघि स्पेनले मोरक्कोलाई असजै पराजित गरेर अन्तिम १६ मा प्रवेश गर्ने अनुमान गरिएको थियो । तर, यो अड्कललाई गलत साबित गर्दै मोरक्कोले उत्कृष्ट प्रदर्शन गरेर स्पेनलाई बराबरीमा रोकेको थियो ।

कमजोर मानिएको मोरक्को खेल शुभारम्भ भएको १४ मिनेटमा गोल गरेर अग्रता लिएको थियो । उक्त गोल खालिद बोटाइबले गरेका थिए । यसपछि दबाबमा परेको स्पेनले १९ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो । उक्त स्ट्राइकर इआगो अस्पेसले गरेका थिए । यसरी पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफमा स्पेन आक्रामक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेल चलिरहेको अवस्थामा ८१औँ मिनेटमा मोरक्कोले दोस्रो गोल गर्दै २–१ ले अग्रता लिएको थियो । उक्त गोल युसुफ एन नेसिरीले गरेका थिए । यसरी विजयको नजिकमा पुगेको मोरक्कोलाई रोक्ने काम इन्जुरी समयमा स्पेनका इस्कोले गरेका थिए । इस्कोको यो गोलले स्पेनलाई पराजयको मुखबाट बचाउँदै अन्तिम १६ मा पु¥याउन सफल भएको थियो ।