संविधानले नै परराष्ट्रनीति निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली

संविधानले नै परराष्ट्रनीति निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नै नेपालको परराष्ट्र नीति निर्देशित गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले स्वतन्त्र र सन्तुलित परराष्ट्रनीति नेपालले अवलम्बन गरेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धका आधारमा हालै प्रधानमन्त्रीबाट छिमेकी देश भारत र चीनको भ्रमण सम्पन्न गरेको जानकारी दिँदै भ्रमणका क्रममा भएका सहमति एवम् सम्झौता कार्यान्वयनमा आएको बताए ।

उनले नेपालको सीमा सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल र भारतबीचका सीमास्तम्भ मर्मत कार्य जारी रहेको जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हक, हित तथा अधिकार सुरक्षित गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध छ ।’

प्रवासमा काम गर्न गएकामध्ये दुर्घटनामा परी विभिन्न देशमा हाल २० जना नेपाली कोमामा रहेका र ३३५ कारागारमा रहेका जानकारी दिँदै मन्त्री ज्ञवालीले राजदूत नियुक्ति कार्य व्यवस्थित बनाइने बताए ।

आर्थिक कूटनीतिलाई अझ व्यापक बनाउने र आर्थिक कूटनीतिमार्फत समृद्धि हासिल गरिने चर्चा गर्दै उनले विदेशस्थित नेपाली राजदूतावासलाई आर्थिक कूटनीतिमा परिचालनसमेत गरिने र राहदानीलाई अझ व्यवस्थित गरिने बताए ।

रासस