सूर्यविनायकले ल्यायो ७६ करोड ४५ लाखको बजेट

सूर्यविनायकले ल्यायो ७६ करोड ४५ लाखको बजेट


सूर्यविनायक नगरपालिकाको तेस्रो नगर सभाले आर्थिक वर्ष ०७५–०७६ को बजेट पारित गरेको छ ।

नगरप्रमुख वासुदेव थापाले नगर सभाबाट ७६ करोड ४५ लाख २७ हजार रुपैयाँको बजेट पारित भएको बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख थापाले सो कुरा बताएका हुन् ।

बजेटमा उल्लेख भएअनुसार ४९ करोड २० लाख ६२ हजार रुपैयाँँ अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत रहेको छ । आन्तरिक आय र राजस्व बाँडफाँडबाट रु. २७ करोड २४ लाख ६२ हजार प्राप्त हुने उल्लेख छ ।

बजेटमा विनियोजन गरिएअनुसार पुँजीगततर्फ ३७ करोड २० लाख ८४ हजार रुपैयाँँ रहेको छ । पत्रकार सम्मेलनमा चालूतर्फ ३९ करोड २४ लाख ४३ हजार विनियोजित गरिएको नगर प्रमुख थापाले जानकारी दिए ।

थापाका अनुसार चालू आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेट ४३ प्रतिशतले वृद्धि भएको छ ।

नगर सभाले १ करोडभन्दा बढीका ११ सडक आयोजना छनोट गरी ३० लाखभन्दा बढीका १० आयोजनामा रकम विनियोजन गरेको छ ।

सो अवसरमा नगर प्रमुख थापाले ५ लाखभन्दा घटीका आयोजना छनोट गर्न नपाउने नीतिका कारण साना आयोजनामा रकम विनियोजित नगरिएको बताए ।

नगरपालिकाभित्र कार्यान्वयनमा रहेका राष्ट्रिय प्राणी उद्यान, हनुमन्ते कोरिडोर निर्माण, नयाँ शहर निर्माणजस्ता गौरवका आयोजनालाई छिटोछरितो रूपमा सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्दै जाने विषयलाई सम्बोधन गरिएको सो अवसरमा उनले जानकारी दिए ।