अर्जेन्टिनाको विजयको खुसीमा म्याराडोना बेहोस

अर्जेन्टिनाको विजयको खुसीमा म्याराडोना बेहोस


रसियामा सञ्चालन भइरहेको सन् २०१८ को विश्वकप फुटबल प्रतियोगिताको लिग चरणका दुईवटा खेलमा अर्जेन्टिनाले गरेको निराशाजनक प्रदर्शनप्रति अर्जेन्टिनाका विश्वचर्चित फुटबल खेलाडी म्यारोडोना निकै उदास थिए । उनी यति तनावमा थिए कि अर्जेन्टिनाको खेल भइरहेको समयमा पटकपटक रंगशालाबाट उठेर सिगार पिउँथे । फेरि रंगशालामा आएर अर्जेन्टिनी खेलाडीहरूको हौसला बढाउँथे । तर, दोस्रो खेलसम्म उनले खेलाडीको प्रोत्साहनका लागि बजाएको ताली खेलाडीसमक्ष पुगेको थिएन । अर्जेन्टिनाले एकपछि अर्को खेलमा कमजोर प्रदर्शन गर्दै आएको थियो ।

अर्जेन्टिना विश्वकपमा छनोट हुने झिनो आशाका साथ तेस्रो खेल खेल्न मैदानमा उत्रिएसँगै म्याराडोना पनि रंगशालामा पुगेका थिए । अर्जेन्टिनी खेलाडीले गरेका प्रत्येक आक्रमणमा ताली बजाउँदै हौसला प्रदान गर्दै आएका म्याराडोनाले जब लियोनल मेसीले यो विश्वकपमा पहिलो गोल गरे त्यसपछि आँखाबाट आँसु झार्दै आकाशतर्फ हेर्दै भगवान्लाई धन्यवाद दिएका थिए । म्याराडोना खुसीले यति उत्तेजित भए कि उनले आफूलाई सम्हाल्न सकेनन् । किनकि त्यो गोल उनको प्रिय खेलाडी मेसीले यो विश्वकपमा पहिलोपटक गरेका थिए ।

तर, जब नाइजेरियाले दोस्रो हाफमा गोल फर्कायो म्याराडोनालाई ठूलो धक्का लाग्यो । केहीछिन अघिसम्म देखिएको खुसी एकैछिनमा निराशामा परिणत भएको थियो । त्यसपछि उनी आफू बसेको कुर्सीमा थुचुक्क बस्न पुगेका थिए । त्यो समयमा म्याराडोनालाई उनका सहयोगी अङ्गरक्षकहरूले सम्हालेका थिए । त्यसपछि पनि अर्जेन्टिनाको खेललाई आँखा नझिम्क्याई बडो शान्तपूर्ण हेरिरहेका म्याराडोना खेलको अन्तिम समयमा अर्जेन्टिनाले दोस्रो गोल गरेपछि निद्राबाट ब्युँझेझैँ गरी एक्कासि कुर्सीबाट उठेर आँसु पुछ्दै रातोरातो मुख पार्दै कराउँदै ताली बजाउन पुगेका थिए । त्यसबेला आफू के गरिरहेको छु भन्ने म्याराडोनालाई पत्तो थिएन ।

नाइजेरियासँगको जित र अर्जेन्टिना नकआउट चरणमा पुगेको खुसीमा म्याराडोना बिरामी नै हुन पुगे । म्याराडोना बेहोस भएर कुर्सीमा लडेका थिए । त्यसपछि म्याराडोनालाई अङ्गरक्षकले अस्पताल पु¥याएका थिए । यतिबेलासम्म म्याराडोनाको स्वास्थ्यस्थितिको बारेमा कुनै जानकारी गराइएको छैन । तर, यो घटनाको २ घन्टापश्चात् म्याराडोनाको मुस्कुराएको फोटो भने अलनाइनमा पोस्ट गरिएको छ । यो फोटो हेर्दा म्याराडोना स्वस्थ रहेको अनुमान लगाउन सकिन्छ ।

सन १९८६ को विश्वकप फुटबलमा म्याराडोनाको एकल प्रदर्शनमा अर्जेन्टिनाले विश्व फुटबलको उपाधि जितेको थियो । त्यसैले म्याराडोनालाई अर्जेन्टिनामा ‘भगवान्’ को रूपमा चिनिन्छ ।