दुर्घटनामा कांग्रेसका वडाध्यक्षसहित दुईको मृत्यु

दुर्घटनामा कांग्रेसका वडाध्यक्षसहित दुईको मृत्यु


बाजुराको त्रिवेणी नगरपालिका पीपलसैनमा बुधबार साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका–१ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ । बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रिवेणी–१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका–३ बस्ने एक महिला रहेका छन् । महिलाको नाम खुलेको छैन ।

जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । दुर्घटनामा परी त्रिवेणी नगरपालिका–३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र जिप चालक चन्द्रमणि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको छ ।

मृतक वडाध्यक्ष नेपाली नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् । जिपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ । चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ ।