यसरी साकार होला त ‘समृद्ध सन्धिखर्क’को सपना ?

यसरी साकार होला त ‘समृद्ध सन्धिखर्क’को सपना ?


– मुक्तिनाथ भुसाल

सन्धिखर्क नगरपालिका अर्घाखाँचीका बेथितिहरू हालै सार्वजनिक भएपछि त्यसलाई सुधार गर्नेतिर नलागी उल्टै कसरी ढाकछोप गर्ने भन्नेमा नगरपालिकाकेन्द्रित बनेको देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा ‘भत्ता मात्र लिएका ठाकुर विकलाई ‘तलबी उपमेयर’ भनिएको र उनकी श्रीमती शारदा खनाल विकप्रति पनि पूर्वाग्रहरी भई समाचार सम्प्रेषण गरिएको’ उल्लेख छ । तर, नगरपालिकाभित्रका अनियमितता बुझेका स्थानीय सचेत तप्काले यस विज्ञप्तिलाई पानीमाथि ओभानो बन्न खोजेको रूपमा बुझेका छन् ।

तत्कालीन नेकपा माके जिल्ला संयोजकसमेत रहेका ठाकुरकुमार विक उपमेयर बनेपश्चात् ०७४ साउनदेखि पुस मसान्तसम्म मासिक ३५ हजारका दरले ६ महिनाको एकमुष्ट २ लाख दश हजार रुपैयाँ पारिश्रमिक शीर्षकमा उनको खाता नं. ३०५००२६९५२१० मा नगरपालिकाबाट भुक्तान गरिएको लेखा प्रमुखद्वारा हस्ताक्षरित र सूचना अधिकारीबाट प्रमाणित गरिएको सूचना प्राप्त भएको छ । राज्यले नीति–नियम बनाइनसक्दै नागरिकको करमाथि होली खेलेर ‘तलब’ खाने र खुवाउनेहरूलाई राज्यले दण्डित या पुरस्कृत के गर्ने हो, यसको व्यग्र प्रतीक्षा गरिएको छ । बुझिएअनुसार ०७४ माघदेखि उपमेयर विकको निवासमा खाना पकाउन र घरायसी कामका लागि नगरपालिकाको तर्फबाट अलग्गै सेवाकर्मी राखिएको छ । यसबारे सूचना माग गरिए पनि नगरपालिकाले हालसम्म सूचना उपलब्ध गराएको छैन ।

विगतमा मानव संसाधन विकास तथा वातावरण संरक्षण मञ्च नामक एनजीओमा संलग्न रहनुबाहेक कुनै पेसा–व्यवसाय र व्यवसाय नहुँदा पनि सदरमुकाममा ठाँटबाँटमा देखिने गरेका उपमेयर विक जिल्लाको साविक अर्घा गाविसको राजुपानीस्थित आर्थिक हिसाबले निम्नस्तरको परिवारमा जन्मिएका व्यक्ति हुन् ।

भुसाल, श्रेष्ठ, परियारका एक–एक घर र बाँकी विकहरूसहित करिब २०–२२ घर–परिवार रहेको राजुपानीमा हालसम्म पिउनेपानीको जटिल समस्या रहेको छ । राजुपानीवासीका लागि खानेपानीको नाममा आर्थिक वर्ष ०७०/७१ देखि आव ०७३/७४ सम्म जिविस कार्यालय अर्घाखाँचीबाट १८ लाख ९६ हजार विनियोजन गरिएको थियो । जसअनुसार पछिल्लो आर्थिक वर्षमा ७ लाख ६० हजार काम नगरी फ्रिज तुल्याइदिनुको अलवा आर्थिक वर्ष ०७२/७३ मा राजुपानीमा पोखरी मर्मत भन्दै सिँचाइ विकास डिभिजन अर्घाखाँचीबाट ९ लाख ४५ हजार चार सय दुई रुपैयाँको सम्झौता गरी ३ लाख ७५ हजार छ सय एकचालीस रुपैयाँ फ्रिज गराएको डिभिजनबाट सूचना प्राप्त भएको छ ।

उल्लेखित सम्पूर्ण आर्थिक वर्ष एवम् रकममा सम्झौता तथा भुक्तानीका लागि गठन गरिएको उपभोक्ता समितिहरूमा उपमेयर विक स्वयम्, उनकी श्रीमती र भतिज आलोपालो प्रमुख पदहरूमा बस्ने गरेका भए पनि बजेटको उपलब्धि शून्य हुने प्रक्षेपण गर्न सकिन्छ । खानेपानीजस्तो महत्वपूर्ण योजनाको बजेटमा उपमेयर तथा उनका खानदानले लोभ नदेखाई व्यावसायिक ठेकेदारहरूलाई काम गर्न दिएको भए बजेट फ्रिज हुने थिएन कि भन्ने स्थानीय सरोकारवाला सबैलाई लागिरहेको छ ।

यस्तै, राजुपानीवासीलाई खानेपानी भन्दै चालू आवमा नगरस्तरीय बजेटमार्फत रु. ९ लाख अलग्गै विनियोजन गरिएको नगरपालिकाबाट प्राप्त सूचनामा उल्लेख छ । स्थानीय निर्वाचन अगावै उक्त नगरपालिकमा दैनिक ज्यालादारीमा राखिएका ९ जना कर्मचारीहरूलाई चालू आवको प्रथम नगरसभा निर्णय नं. १४ अनुसार यो वर्षका लागि दैनिक ज्यालादारीमा निरन्तरता दिने स्पष्ट छ । यसैप्रकार नगरपालिकाको मिति ०७४ भदौ ४ गतेको प्राप्त च.नं. १४८ का सूचनाहरू अध्ययन गर्दा उल्लेखित कर्मचारीहरूले मासिक १६,२३० पारिश्रमिक बुझ्ने गरेका थिए । विडम्बना के छ भने ती ९ जनाभित्र उपमेयर विककी श्रीमतीसमेत रहेका कारण उनलाई सहायक कम्प्युटर अपरेटरको पदसहित मासिक २२,१७० रुपैयाँ पछिल्लो समयमा नगरपालिकाले भुक्तानी गरी कानुनलाई चुनौती दिएको सन्दर्भ लुक्न सक्दैन । अतः आफना कमी–कमजोरीलाई सच्याउँदै निजी स्वार्थभन्दा नागरिकको हितमा आफूलाई समर्पित गर्न सके समृद्ध सन्धिखर्क नगरपालिकाको सपना साकार हुन सक्थ्यो कि ?