सातै प्रदेशमा मेगा आयोजनाको तयारी : उर्जामन्त्री

सातै प्रदेशमा मेगा आयोजनाको तयारी : उर्जामन्त्री


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दाे सिँचाइ व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘अबदेखि कसैले झोलामा खोला राख्ने अवस्था छैन ।’ आगामी तीन वर्षदेखि विद्युत् आपूर्तिमा मुलुक पूर्ण आत्मनिर्भर हुने गरी काम भइरहेको पनि उहाँले बताउनुभयो ।

यसैगरी सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरामा आएको गृहमन्त्री रामबहादुर थापाले बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराउनुभएको हो ।

सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उहाँले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएका छन् तर अनुसन्धान जारी रहेकाले अहिले सबै भन्न स्पष्ट नसकिने उहाँको जवाफ थियो ।

भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानूनी कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको दाबी गर्दै मन्त्री थापाले भन्नुभयो, ‘तस्करी, भ्रष्टाचार र जनविरोधी हर्कत नियन्त्रण गर्न गरी शान्तिसुरक्षा र अमनचयन कायमका गर्नका लागि सरकार कटिबद्ध छ ।’

कानूनबमोजिम भएका सम्झौता कार्यान्वयन गराई तोकिएको गुणस्तर र समयमा काम नगर्ने ठेकेदारहरुलाई कानूनी कारबाही गर्न मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रुपमा अगाडि बढाएको छ भन्दै उहाँले सम्भावित विपद्बाट हुन सक्ने जोखिमका लागि रकम निकासा भइसकेको, सडक दुर्घटना र प्राकृतिक विपद्बाट ज्यान जोखिममा पर्ने समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको बताउनुभयो ।


रासस