स्याउसहितको कन्टेनर खोलाले बगायो

स्याउसहितको कन्टेनर खोलाले बगायो


गएराति परेको अविरल वर्षाका कारण रसुवाको राम्चेस्थित ठाडोखोलामा आएको बाढीले एउटा कन्टेनर बगाएको छ । केरुङबाट स्याउ लिएर आएको सो कन्टेनरलाई बाढीले बगाएको हो ।

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो झरेका कारण पासाङल्हामु राजमार्गसमेत अहिले अवरुद्ध बनेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करिब छ किलोमिटर सडकको ठाउँठाउँमा भलपानीसँगै माथिबाट आएको पहिरोले सडक पुरेको हो ।

बुधबार साँझ परेको वर्षाले केरुङबाट स्याउ लिएर आएको एक कन्टेनर राम्चेको ठाडो खोलाले बगाएको र एउटा बोलेरो जिपलाई सडकमै सामान्य क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

केरुङबाट सामान लिई आएका अन्य ३० भन्दा बढी कन्टेनर सडकका ठाउँठाउँमा रोकिएकाले छिटोभन्दा छिटो पासाङल्हामु राजमार्ग खुलाउने प्रयासका लागि सडक कार्यालयको डोजरका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताए ।

ठाउँठाउँमा झरेको पहिरोका कारण सो मार्ग भएर दैनिक आवतजावत गर्ने सवारीसाधन प्रभावित हुँदा यात्रु आफू जाने ठाउँमा जान सकेका छैनन् ।