– श्रीविक्रम भण्डारी
हाल रसियामा सञ्चालन भइरहेको फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता २०१८ मा ‘भिडियो असिस्टेन्स रेफ्री सिस्टम’को प्रयोग गरिएको छ । विश्वकप फुटकल मात्र नभई कुनै पनि फुटबलमा यस्तो सिस्टमको प्रयोग भएको यो पहिलो घटना हो । विश्वकप फुटबल २०१८ मा भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) राख्ने कि नराख्ने भन्ने मुद्दामा निकै बहस चलेको थियो । यो मुद्दामा कसैले राख्नुपर्ने र कसैले राख्नु नहुने प्रतिक्रिया दिएपछि फिफाले औपचारिक निर्णय गर्न सकेको थिएन । तर, विश्वकप २०१८ शुभारम्भ हुनुअघि फिफाले (VAR) लाई राख्ने बोल्ड निर्णय गरेको थियो । जसको अहिले विश्वकपमा पहिलोपटक सफलतापूर्वक प्रयोग भइरहेको छ ।
फुटबल प्रतियोगिताका दौरान रेफ्री र खेलाडीहरूबाट हुने गल्तीलाई सच्याउन भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) प्रयोग गरिएको फिफाले जानकारी गराएको छ । जसले अन्यायमा परेको टिमले न्याय पाउने फिफाले दाबी गरेको छ । विश्वकप फुटबलमा यस्ता थुप्रै घटना घटेका छन् जसले भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) अभावका कारण अहिलेसम्म चुकचुकाएर बस्नुपरेको छ । जुन अहिलेसम्म पनि विवादकै विषय बनेका छन् । खेलाडीहरूले दाबी गर्ने, तर रेफ्रीले कुनै कारबाही नगर्ने भएकै कारण विगतका विश्वकपमा थुप्रै राष्ट्रहरू यसको मार परेका थिए । यही कुरोलाई मध्यनजर गर्दै फुटबलका प्रतिनिधिकाबीच आपसी असहमतिका बाबजुद पनि फिफाले यो विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) राख्ने निर्णय गरेको थियो । जुन अहिले परिणाममुखी र फलदायी साबित भएको छ ।
सन् २०१० को फिफा विश्वकपमा जर्मनी र इंग्ल्यान्डबीच भएको खेलमा भएको ‘गोल विवाद’ अहिलेसम्म पनि कसैले बिर्सन सकेको छैन । उक्त खेलमा इंग्ल्यान्डका मिडफिल्डर फ्रेङ्क जेम्स लाम्पार्डले जर्मनीविरुद्ध गरेको गोल अहिलेसम्म विवादमा परेको छ । लाम्पार्डले हानेको सुट गोलमा परिणत भए पनि रेफ्रीले त्यसलाई गोल दिएका थिएनन् । तर, पछि भिडियो हेर्दा प्रस्ट रूपमा गोल भएको देखिन्थ्यो । रेफ्रीले गोल नदिएका कारण उक्त खेलमा इंग्ल्यान्डले पराजयको मुख देख्नुपरेको थियो । यदि गोललाई गोल दिएको भए पनि इंग्ल्यान्डले विश्वकपमा बाजीसमेत मार्न सक्थ्यो । त्यसैले विश्वकपजस्तो फुटबलको महाकुम्भमा फेरि पनि यस्तो गल्ती नदोहरियोस् भनेर फिफाले यस्तो निर्णय गरेको हो । जुन अहिले खेलप्रेमी, खेलाडी, प्रशिक्षक, पदाधिकारीले सकारात्मक रूपमा आत्मसात् गरेका छन् । यो विश्वकपमा थुप्रैपटक यसको प्रयोगसमेत भइसकेको छ । जसले प्रतिस्पर्धा गरिरहेका टिमलाई फाइदाबाहेक बेफाइदा कहीँ–कतैबाट भएको छैन ।
विश्वका लोकप्रिय खेलहरू क्रिकेट, कराते, तेक्वान्दो, बक्सिङलगायतका खेलहरूमा भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) प्रयोग भएको लामो समय बितिसक्दा पनि विश्वको सबैभन्दा लोकप्रिय खेलमा भने यस्तो सिस्टमको प्रयोग गरिएको थिएन । यस्तो सिस्टम राख्नुपर्छ भन्ने आवाज पहिल्यै उठे पनि फुटबलका केही पुरातन सोचका व्यक्तिहरूका कारण फिफाले राख्न सकेको थिएन । विश्वकप २०१८ को शुभारम्भ हुनुअघिसम्म पनि उनीहरूले यो सिस्टमको विरोध गरेका थिए । यो सिस्टमले फुटबलको आत्मा नै मर्ने उनीहरूको दाबी थियो । तर, समयअनुसार परिवर्तन हुनुपर्ने कुरालाई आत्मसात् गर्दै फिफाले यस्तो बोल्ड निर्णय गरेको थियो । जसले अहिले फुटबललाई परिस्कृत र विवादरहित बनाउन ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ । यो विश्वकपमा प्रशिक्षणको रूपमा राखिएको भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) को प्रभाव विश्वकपमा सकारात्मक रूपमा परे आगामी दिनमा फुटबलका सबै अन्तर्राष्ट्रिय र लिगमा यसको प्रयोग गरिने भएको छ ।
विश्वकप फुटबल २०१८ मा यो उपकरण राख्ने फिफाको निर्णयविरुद्धमा थुप्रै देशका फुटबलका प्रतिनिधिहरूले असहमति जनाउँदै विरोध गरेका थिए । तर, आर्सनलका म्यानेजर आर्सेन बेन्जरले रेफ्रीहरूलाई विवादमुक्त राख्न र सहयोग गर्न पनि भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) को प्रयोग हुनुपर्ने बताएका छन् । यो सिस्टमले फुटबलमा प्रतिष्ठामा कुनै आँच नआउने बताउँदै विश्वमा फुटबलको लोकप्रियता र विश्वसनीयता बढ्ने दाबी गरेका छन् । बेन्जरले यो सिस्टमले सुविधा बढ्नुको साथै गल्ती हुनु सम्भावनाको अन्त्य हुने पनि बताएका छन् । साथै उनले फुटबल मात्रै त्यस्तो खेलको जो अहिलेसम्म अपरिवर्तनवादी भएर बसेको छ । अन्य लोकप्रिय खेलमा परिवर्तन भइसकेको अवस्थामा समेत यो सिस्टमबारे असहमति प्रकट गर्नु आश्चर्यजनक कुरो भएको बताए । भिडियो सिस्टमले रेफ्री साइडलाई अलि कमजोर देखाउने भए पनि यो सिस्टम सबैका लागि फाइदाजनक हुने बेन्जर कथन छ ।
विश्वभरि व्यापक रूपमा विरोध स्वर घन्किए पनि फिफा प्रेसिडेन्ट गियानी इन्फेन्टिनोले पहिलोपटक सन् २०१७ मा कन्फेडेरेन्स कपमा भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) को प्रयोग गरेका थिए । जसको प्रतिक्रिया सन्तोषजनक रूपमा आएको थियो । यही प्रतिक्रियालाई आत्मसात् गर्दै फिफा रेफ्रीका प्रमुख मासिमो बसैकाले यस्तो भनेका थिए, ‘हामी अहिले यो सिस्टमले कस्तो काम गरिरहेको त्यसलाई नजिकबाट नियालिरहेका छौँ, साथै फेरि पनि यो सिस्टम हेरेर अझ कुन–कुन कुरामा सुधार गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनेछौँ, त्यसका लागि व्यापक छलफल आवश्यकता पनि छ ।’ कुनै पनि व्यक्ति शतप्रतिशत निपुण हुँदैन, सबबैले कहिलेकाहीँ गल्ती गर्छन्, सो गल्ती कम गर्न सिस्टमको प्रयोग गर्दा समस्याको निवारण हुने पनि मासिमोको राय रहेको छ । उनको यस्तो किसिमको प्रस्ट राय आएपछि फिफाले विश्वकप फुटबल प्रतियोगिता २०१८ मा पहिलोपटक भिडियो असिस्टेन्ट रेफ्री सिस्टर (VAR) राख्ने निर्णय गरेको थियो । यो विश्वकपमा रोबर्टो रोजेटीको निगरानीमा यो सिस्टमको प्रयोग भइरहेको छ । अहिलेसम्म यो विश्वकपमा उजुरी परेका घटनामा यो सिस्टम निकै प्रभावकारी साबित भएको छ । रेफ्रीहरूले पनि आफ्नो कमीकमजोरीहरूलाई नजिकबाट नियाल्ने अवसर पाएका छन् ।
प्रतिक्रिया