विश्वकपको जिम्मेवारी अमेरिका, मेक्सिको र क्यानडालाई

विश्वकपको जिम्मेवारी अमेरिका, मेक्सिको र क्यानडालाई


आगामी सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने फिफाले जनाएको छ । मस्कोमा आयोजित ६८औँ फिफा काङ्ग्रेसको बैठकले उक्त निर्णय गरेको हो । ईएसपीएन डककमको रिपोर्टअनुसार अमेरिका, मेक्सिको र क्यानडाले संयुुक्त रूपमा विश्वकपको आयोजनाको दाबेदारी पेस गरेपछि ती राष्ट्रहरूलाई फिफाले जिम्मेवारी सुम्पिएको हो । २०२६ को विश्वकपको आयोजना गर्ने दाबेदारी मोरक्को पनि प्रस्तुत गरे पनि फिफाको छनोटमा पर्न सकेन ।

फिफाको इतिहासमा पहिलोपटक तीनवटा राष्ट्रलाई विश्वकप फुटबलको आयोजना जिम्मेवारी दिइएको हो । सन् २०२६ को विश्वकप कसले आयोजना गर्ने भन्नेबारे फिफा काङ्ग्रेसका २ सय राष्ट्रका राष्ट्रिय फुटबल सङ्घले मतदान गरेका थिए । उक्त मतदानमा अमेरिका, मेक्सिको र क्यानडा संयुुक्त दाबेदारीतर्फ १३४ र मोरक्कोलाई ६५ मत परेको थियो । यही मतदानको आधारमा यी राष्ट्रहरूलाई विश्वकपको आयोजनाको जिम्मेवारी दिइएको थियो । यसभन्दा अघि एक वा दुईवटा राष्ट्रहरूले संयुक्त रूपमा विश्वकपको आयोजना गर्दै आएका थिए । एसियाली राष्ट्रमा भएको विश्वकपको आयोजना जापान र दक्षिण कोरियाले संयुक्त रूपमा गरेका थिए ।

विश्वकप फुटबलको संयुक्त रूपमा आयोजना गर्ने जिम्मेवारी पाएपछि अमेरिकी फुटबल महासङ्घका अध्यक्ष कार्लोस कोरडेरियो यो उत्तरी अमेरिकी राष्ट्रका लागि निकै खुसीको खबर भएको बताएका छन् । कार्लोसले अमेरिकी फुटबलका लागि यो विशेष अवसर भएको जनाउँदै विश्वकपको आयोजना ऐतिहासिक बनाउनेतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यस्तै, सन् २०२६ को विश्वकपको २२औँ संस्करण ऐतिहासिक हुनेछ । उक्त विश्वकपमा ४८ टिमले सहभागिता जनाउनेछन् । यसअघिका विश्वकप र अहिले रसियामा सञ्चालन भइरहेको विश्वकपको २१औँ संस्करणसम्म ३२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । यो विश्वकपमा कुल ८० खेल हुनेछन् । जसमा ६० वटा खेल अमेरिकामा र १०–१० वटा क्यानडा र मेक्सिकोमा खेलिनेछन् । अमेरिकामा खेलिने ६० खेलमा लिग चरण, प्रिक्वार्टर, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।