विश्वकपमा दक्षिण कोरियाको उलटफेर

विश्वकपमा दक्षिण कोरियाको उलटफेर


फिफा विश्वकप फुटबलअन्तर्गत असार १३ गते बुधबार चारवटा खेलहरू भएका थिए । जसमा पहिलो खेल डिफेन्डिङ च्याम्पियन जर्मनी र दक्षिण कोरिया तथा अर्को खेल स्वीडेन र मेक्सिकोबीच भएको थियो । अबेर राति भएको तेस्रो खेलमा कोस्टारिका र स्वीट्जरल्यान्ड, चौथो खेलमा ब्राजिल र सर्विया भिडेका थिए । यी चार खेलमा दक्षिण कोरिया, स्वीडेन र ब्राजिल विजयी भएका थिए भने कोस्टारिका र स्वीट्जरल्यान्डबीचको खेल बराबरी भएको थियो । यसरी समूह ६ बाट स्वीडेन र मेक्सिको र पाँचौँ समूहबाट ब्राजिल र स्वीटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।

जर्मनी र दक्षिण कोरिया


जर्मनीलाई लागि नकआउट चरणमा पुग्नका लागि दक्षिण कोरियालाई जित्नैपर्ने बाध्यता थियो । सोही रणनीति बनाएर डिफेन्डिङ च्याम्पियन जर्मनी मैदानमा उत्रिएको थियो । शुभारम्भदेखि नै आक्रमणमा उत्रिएको जर्मनीले दक्षिण कोरियालाई दबाब राख्ने कोसिस गरेको थियो । तर, लिग चरणका दुई खेलमा पराजित भएको दक्षिण कोरियाले पनि आक्रामक खेलको प्रस्तुत गर्दै जर्मनीलाई चुनौती दिएको थियो । यसरी पहिलो हाफमा दुवै टिमले थुप्रै गोल गर्ने अवसर प्राप्त गरे पनि सफलता प्राप्त गर्न सकेनन् ।

दोस्रो हाफ पनि पहिलो हाफजस्तै सनसनीपूर्ण रह्यो । जर्मनीले गोल गर्ने अथक प्रयास गरे पनि उसलाई भाग्यले साथ दिएन । निर्धारित खेलको अन्तिम समयमा पाएको कर्नरको सदुपयोग गर्दै दक्षिण कोरियाले पहिलो गोल गरेपछि जर्मनीको नकआउट चरण पुग्ने सपना चकनाचुर भएको थियो । यसपछि ६ मिनेटको इन्जुरी टाइममा जर्मनीले आक्रमणमाथि आक्रमण गरे पनि गोल गर्न सकेन् । सोही समयमा कोरियामाथि दबाव राख्ने र गोल गर्ने मनसायका साथ सम्पूर्ण जर्मनीका खेलाडी कोरियाको डी बक्समा पुगेका थिए । त्यसैको फाइदा उठाउँदै खाली गोलपोस्टमा कोरियाले दोस्रो गोल गर्दै जर्मनीलाई विश्वकपको पहिलो चरणबाटै घर फर्काउन सफल भएको थियो ।

जर्मनीलाई पराजित गरी दक्षिण कोरिया नकआउट चरणमा पुग्न असफल भए पनि यो विश्वकपमा ठूलो उलटफेर गर्ने पहिलो राष्ट्र बनेको छ । विश्वकपको अन्तिम १६ मा पुग्न नसके पनि विश्वच्याम्पियन जर्मनीलाई पराजित गरेर विश्वकप जितेको महसुस भने गरेको छ । दक्षिण कोरियाको लागि यो सधैँ अविस्मणीय बन्नेछ ।

स्वीडेन र मेक्सिको


समूह ६ अन्तर्गत भएको महत्वपूर्ण खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले पराजित गरेको थियो । यो विजयसँगै स्वीडेन आफ्नो समूहमा शीर्ष स्थान हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धापूर्ण खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दा पहिलो हाफ गोलरहित बनेको थियो ।

दोस्रो हाफमा जसले पनि बाजी मार्न सक्ने अवस्थामा स्वीडेनका तर्फबाट ५०औँ मिनेटमा लुडविग आन्गिस्टनसनले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि स्वीडेनका कप्तान आन्द्र्रेस ग्रान्कैस्टले ६२औँ मिनेटमा दोस्रो गोल गरेर अग्रतालाई दोब्बर पारेका थिए । त्यस्तै खेलको ७४औँ मिनेटमा मेक्सिकोका एडसन अल्वारेजले आत्मघाती गोल गर्दा स्वीडेनले ३–० को अग्रता लिँदै खेल जितेको थियो ।

पराजयका बाबजुद पनि मेक्सिको ६ अंक बटुल्दै नकआउट चरणमा पुग्यो भने जर्मनी र दक्षिण कोरियाले ३, ३ अंक प्राप्त गरेका थिए ।

कोस्टारिका र स्वीट्जरल्यान्ड

समूह पाँचअन्तर्गत स्वीट्जरल्यान्ड र कोस्टारिकाबीच भएको खेल २–२ को बराबरीमा टुङ्गिएको छ । यो खेल १–१ को बराबरीमा टुङ्गिने देखिए पनि खेलले नाटकीय मोड लिएको थियो । खेलको ८८औँ मिनेटमा स्वीट्जरल्यान्डले दोस्रो गोल गरेर विजयी हुने संकेत देखाए पनि इन्जुरी टाइमको ९३औँ मिनेटमा कोस्टारिकाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । यसरी पाँच मिनेटमा २ गोल हुँदै खेल बराबरीमा सम्पन्न भएको थियो । यो खेलमा बराबरी खेलेको स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको थियो ।

ब्राजिल र सर्विया


ब्राजिलको लागि नकआउट चरणमा पुग्नका लागि निकै महत्वपूर्ण मानिएको खेलमा ब्राजिलले आफ्नो नामअनुसारको प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । ब्राजिल सर्वियालाई २–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्दै आफ्नो समूहमा शीर्ष स्थानमा रहेको थियो । ब्राजिलले दुई खेलमा जित र १ खेलमा ड्र खेल्दै ७ अंक प्राप्त गरेको थियो । पराजयसँगै सर्विया विश्वकपबाट बाहिरिएको थियो ।

खेलको शुभारम्भदेखि नै आक्रामक खेलको प्रदर्शन गरेको ब्राजिलले पूरै समय सर्वियालाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म ब्राजिलले गोल गर्ने थुप्रै अवसर प्राप्त गरे पनि २ गोलमै चित्त बुझाउनुपरेको थियो ।