देशैभर फैलियो मनसुन

देशैभर फैलियो मनसुन


यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

रिमालका अनुसार क्रमिक रूपमा मनसुनी वर्षाको गतिविधि बढ्नेछ । आज बिहीबार पनि देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ । साँझ र रातितिर काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी डडेल्धुरामा १८, दाङमा १२, विराटनगरमा ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको भने वर्षा रेकर्ड गरिएको छैन ।