दीपेन्द्रको अपहरणकारी सावित गरेर मलाई झन्डै मारियो

दीपेन्द्रको अपहरणकारी सावित गरेर मलाई झन्डै मारियो


कुनैबेला नेपाली काङ्ग्रेसकी अत्यन्त प्रतिबद्ध एवम् जुझारु कार्यकर्ताको परिचय स्थापित गर्न सफल दुर्गा पोखरेल यतिबेला आफूलाई ‘नेपाली काङ्ग्रेस (राष्ट्रवादी)’को नेता (उपाध्यक्ष)का रूपमा चिनाउन चाहनुहुन्छ । प्रजातन्त्रको लडाइँमा होमिएको लामो इतिहास बोकेर पनि तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको सरकारमा मन्त्री पद स्वीकार गरेर आलोचना व्यहोर्न पुग्नुभएकी पोखरेल आफ्ना कुरा निर्धक्क अभिव्यक्त गर्ने र खरा स्वभावका लागि पनि चिनिनुहुन्छ । यतिबेला सिनेमा निर्माणजस्तो भिन्न काममा समेत सक्रियता देखाउन पुग्नुभएकी दुर्गा पोखरेलले घटना र विचारसँग कुराकानी गर्दै वर्तमान राजनीतिक परिवेशले मुलुकलाई कुनै निकास दिन नसक्ने, उल्टै देशमा झन् ठूलो द्वन्द्व निम्तिने दाबी गर्नुभयो । प्रस्तुत छ पोखरेलसँग गरिएको रोचक कुराकानीको केही अंश :

० हिजोआज के गर्दै हुनुहुन्छ ?
– सिनेमा बनाइरहेकी छु, किताब लेख्ने काम गरेकी छु, आफूले लेखेका गीतको म्यूजिक भिडियो बनाउने कामले समेत मलाई व्यस्त तुल्याएको छ । यसबाहेक ११औँ महाधिवेशनपछि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई धराशयी बनाएर नेपाली काङ्ग्रेस गणतन्त्रमा गएपछि स्वेच्छाले पाखा लागेर बसेका प्रजातन्त्रवादी नेता-कार्यकर्ताहरू आबद्ध भएर संयुक्त रूपमा काम गरिरहेका छौँ । बीपीको भनाइ थियो- नेपालमा वाम-एकताको दह्रो सम्भावना भएकोले देश जोगाउनका लागि प्रजातन्त्रवादीको खाँचो छ । किसुनजी पनि यही भन्नुहुन्थ्यो । हो, यही अवधारणाअनुसार नेपाली काङ्ग्रेस (राष्ट्रवादी) नामको पार्टी स्थापना गरी सङ्गठन गर्ने काम अघि बढिरहेको छ, म त्यसमा पनि लागिरहेकी छु ।
० राजनीतिमा सक्रियता देखाइरहेको व्यक्ति सिनेमातिर कसरी नि ? यसबाट राजनीतिक क्रियाकलापलाई धक्का पुग्दैन र ?
– त्यस्तो हुँदैन । मैले निर्माण गरेको ‘धर्मा’ नामक सिनेमा पनि आफैंमा ‘राजनीतिक’ छ । जुनसुकै विधामा काम गरे पनि म राजनीतिलाई छोड्न सक्दिनँ, त्यसैको उपज हो चलचित्र धर्मा । त्यस फिल्ममा पनि खुलेआम रूपमा भइरहेको भ्रष्टाचारलाई नङ्ग्याउन खोजिएको छ । यतिबेला आफ्नो मान्छेलाई जेलभित्र भेट्न जाँदा पनि पैसा दिनुपर्ने र सानो-तिनो सही मात्र गर्न पनि पैसा खुवाउनुपर्नेजस्ता यथार्थ कुरा फिल्ममा देखाउन खोजिएको छ ।
० भनेपछि राजनीतिक जीवनसँगै भिन्न काम पनि गरेको ?
– निश्चित हो । राजनीतिलाई निरन्तरता दिने सोचले नै ‘नेपाली काङ्ग्रेस राष्ट्रवादी’ भन्ने दल गठन गरेका हौँ ।
० तपाईंको दलमा अरू को-को काङ्ग्रेसजन छन् नि ?
– अध्यक्षमा रामबाबु प्रर्साईं हुनुहुन्छ, प्रकाश कोइराला कार्यकारी अध्यक्ष र म उपाध्यक्षका रूपमा क्रियाशील छु । सुशीला सिंह कोषाध्यक्ष हुनुहुन्छ । ४० प्रतिशत महिला समेटिएको एक मात्र दल हामै्र हो । हाम्रो पार्टीको आदर्श भनेको किशुनजी, बीपी कोइराला, गणेशमान सिंह र सुवर्णशमशेर राणा हो, उहाँहरूको जुन आदर्श थियो त्यसलाई लिएर पार्टी गठन गरेका हौँ ।
० तपाईं कोबाट प्रेरित भई कहिलेदेखि राजनीतिमा लाग्नुभयो ?
– बीपी कोइरालाको सक्रियता देखेर उहाँबाटै प्रेरित भई मैले सक्रिय राजनीति सुरु गरेकी हुँ । ०२८ सालमा बीपी कोइरालाले मलाई सदस्यता दिनुभएको हो । त्यसभन्दा अगाडि पनि विद्यार्थी जीवनको राजनीतिमा थिएँ । म धनकुटाको नेविसङ्घको जिल्ला अध्यक्ष थिएँ, त्यतिखेर प्रजातान्त्रिक पार्टी भनेको नेपाली काङ्ग्रेस एउटा मात्र थियो ।
० तपाईंले राजनीतिक जीवनमा कुनै कष्ट पनि व्यहोर्नुपर्यो कि ?
– मैले राजनीतिक जीवनमा व्यहोरेको कष्ट सबै सुन्न सायद सक्नुहुन्न तपाईं । म जेलपर्दा व्यहोरेको घटनाको वर्णन यो छोटो कुराकानीमा गर्न पनि सकिन्न ।
० कुन अभियोगमा तपाईंलाई जेल हालिएको थियो ?
– युवराज दीपेन्द्रलाई अपहरण गर्न खोजेको आरोपमा मलाई सूर्यबहादुर थापाले त्यतिबेला तीन वर्ष जेल हालेका थिए । मलाई महाकालीको जेलमा पुर्याइएको थियो । त्यतिखेर यति कठोर सजाय दिइएको थियो कि कल्पनासमेत गर्न सकिन्न । त्यहाँ पानी त मैले १८ दिनको दिन पाएकी थिएँ । म मरेर बाँचेकी मानिस हुँ । त्यो पीडा पोख्न मैले अध्ययनका निम्ति तान्जेनियामा बस्दा किताब नै लेखेँ । त्यो किताब हो- स्याडो ओभर साङ्ग्रिला, जहाँ मैले आफ्ना दु:खलाई समेट्ने प्रयास गरेको छु ।
० सर्न्दर्भ किसुनजीकै जोडौँ, तपाईं किसुनीजीबाट कति प्रभावित हुनुहुन्छ नि ?
– उहाँजस्तो स्वच्छ र निष्ठावान मानिससँग प्रभावित नहुने त कुरै भएन नि । उहाँको निधनबाट देशले मात्र नभई हामीजस्ताले अभिभावक गुमाएको भान भइरहेको छ । उहाँ दु:खमा पनि सधैं रमाउने, दु:खलाई पनि सजिलै सामना गर्न सक्ने मानिस उहाँ हुनुहुन्थ्यो । राजनीतिमा उहाँ महिलालाई प्राथमिकता दिनुहुन्थ्यो, त्यसको उदाहरण म पनि एक हुँ । म पढाइको सिलसिलामा तान्जेनियाको एक विकट ठाउँमा पुग्दा पनि किशुनजीसँग फोन सर्म्पर्क भएको थियो । त्यतिबेला उहाँले मलाई राजनीति गर्न स्वदेश डाक्नुभएको थियो । तर, पढाइ पूरा नभएकोले म त्यसबेला आउन सकिनँ ।
० तपाईं महिला आयोगको अध्यक्ष पनि बन्नुभयो, होइन ?
– हो, पहिलो अध्यक्ष नै म हुँ । राष्ट्रिय महिला आयोग गठन हुने बेलामा पनि किशुनजीले नै अध्यक्ष बन्नु भनेर सल्लाह र प्रेरणा दिनुभएको थियो । राम्रो काम गर्नेलाई उहाँ थप हौसला दिनुहुन्थ्यो । उहाँ कहिल्यै कुनै व्यक्तिसँग झुटो व्यवहार गर्नुहुन्नथ्यो । अहिले नाम नभनौँ, एकजना नेपाली काङ्ग्रेसकै मानिस भ्रष्टाचारको प्रकरणमा पदबाट निलम्बित हुनुभयो र भट्टराईजीकोमा जानुभयो । भट्टराईजीले त्यस व्यक्तिको पछाडि फर्केर ‘बुझ्नु भो, तपार्इंले घुस खाएको नराम्रो काम हो, म तपाईंसँग आज केही कुरा गर्न सक्दिनँ’ भनिदिनुभयो । आफ्नो पार्टीको मानिसलाई त्यस्तो भन्न सक्ने नेता अरू को छ ?
० किशुनजीको जीवनीबाट हामी आमनेपालीले सिक्नुपर्ने मुख्य कुरा के हो त ?
– किशुनजीको जीवनीबाट सिक्नुपर्ने कुरा धेरै छन्, तर मुख्य कुरा भनेको सादगी जीवन, उच्च विचार, आफ्नो विचारमा दृढ र अटल रहनुपर्ने, आफूले आफैंलाई ढाँट्न नहुने, जस्तोसुकै परिस्थितिलाई पनि सहजरूपले सामना गर्नुपर्नेजस्ता कुरा सिक्नु जरुरी छ ।
० नेपाली काङ्ग्रेसका दिवंगत दुई नेता किशुनजी र गिरिजाप्रसाद कोइरालामा रहेको मूल अन्तर के बुझ्नुहुन्छ तपाईं ?
– किशुनजी भनेको आफ्ना काम सच्चा र इमानदार रहेर गर्ने व्यक्ति हो भने गिरिजाबाबु भनेको मेरो गोरुको बाह्रै टक्का भनेझैं जे आफूले ठान्यो त्यो हुनैपर्छ भनी अड्डी लिने स्वभावको हुनुहुन्थ्यो । गिरिजाबाबु आफूले कार्यकर्तासँग मागेको कुनै कुरा भ्रष्टाचार गरेर या चोरेर नै किन नहोस्, ल्याइदिओस् भन्ने चाहनुहुन्थ्यो । हवाईजहाज हाइज्याक प्रकरणमा किशुनजीले त्यस्तो काम गर्न हुँदैन भनी सम्झाउँदा गिरिजाबाबुले पटक्कै वास्ता नगरी आफ्नै अगुवाइमा जहाज अपहरण गरिछाड्नुभयो । यसैबाट बुझौँ न किशुनजी र गिरिजाबाबुको स्वभावको अन्तर ।
० तपाईं काङ्ग्रेसबाट बाहिरिनुको मुख्य कारणचाहिँ के हो नि ?
– भनेँ नि मैले, जब काङ्ग्रेसले आफ्नो मूल विचारधारा नै परिवर्तन गरी माओवादीसँग सहकार्य गरेर अघि बढ्यो, अनि काङ्ग्रेससँग वाक्क भएँ ।
० पार्टी त्यागेलगत्तै राजाले गठन गरेको सरकारमा मन्त्री बन्न जानुको कारण के हो नि ?
– मलाई राजाले अगाडि नै मन्त्री हुन डाकेको हो तर म गएकी थिइनँ, मलाई ०३२ सालमा पनि रानी ऐर्श्वर्यले मन्त्री हुन डाकेकी थिइन्, तर मानिनँ । अर्को कुरा संवैधानिक राजतन्त्रमा राजालाई जहिले पनि निरङ्कुशवादीको पोल्टामा कति छोड्नु भन्ने लाग्यो र हामी आठजना नेपाली काङ्ग्रेसका मानिस मन्त्रीको जिम्मेवारीमा गएका हौँ । मचाहिँ सत्ताको लोभले नभई प्रजातान्त्रिक पद्धतिबाट निर्वाचन गरेर निर्वाचित सरकारलाई बुझाइदिन्छु भन्ने विश्वास बोकेर गएकी थिएँ । तर, एकजनाले चाहेर मात्रै सबै कुरा नहुँदो रहेछ ।
० अन्तमा, सत्तामा रहेकाहरू ०६८ जेठ १४ मा नयाँ संविधान लागू हुन्छ भन्न थालेका छन्, यो सम्भव होला ?
– त्यो मितिमा एक, दुई, तीन संविधान लागू हुँदैन । कुर्सीको राजनीति गर्नेले जेठ १४ मा संविधान बनाएर लागू गर्लान् भन्ने सोच्नु महाभूल नै हुनेछ । यस सर्न्दर्भमा म एउटा कुरा के भन्न चाहन्छु भने ०४७ कै संविधानलाई साधारण संशोधन गरी लागू गराउनुपर्छ भन्ने पक्षमा हामी छौँ ।
– राजकुमार रानामगर