मध्यपुर थिमि नगरपालिका र नगर विकास प्राधिकरणबीचको विवादपछि नगरपालिकाले रोक्यो घरबाटो सिफारिस र नक्सापास

मध्यपुर थिमि नगरपालिका र नगर विकास प्राधिकरणबीचको विवादपछि नगरपालिकाले रोक्यो घरबाटो सिफारिस र नक्सापास


नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सापास र घरबाटो सिफारिसमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार सम्मेलनमै यस्तो निर्णय सुनाएका हुन् ।

नगर प्रमुख श्रेष्ठले ने, ‘कमेरोटार जग्गा एकीकरण आयोजना शुरु भएको १८ वर्ष भइसक्यो, यहाँभित्रको अनियमितता छानबिन गर्दै आयोजनाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने नगरपरिषद्ले निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले आत्तिएर नगर प्रमुखलाई अध्यक्षबाट हटाएर एकलौटी गर्ने गैरकानुनी निर्णयको नगरपालिका घोर भत्र्सना गर्दछ ।’

नगर कार्यपालिकाको २१आँै बैठकले कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाले विकसित घडेरी बिक्रीको लागि प्रकाशित सूचनामा उल्लेख भएका जग्गा बिक्रीका लागि घरबाटो सिफारिसलगायतको कार्यमा रोक लगाउने र मोलपोत कार्यालय भक्तपुरमा समेत रोक्का राख्नका लागि पत्र पठाउने निर्णय गरेको गरेको हो ।

जनताको जग्गामा मनोमानी मूल्य राख्दै बिक्री गर्ने, आयोजनाका सबै काम नसकी पटकपटक म्याद थप गर्दै यहाँ भएको मनोमानी र भ्रष्टाचार रोक्न खोज्ने नगरपालिकाको प्रमुखलाई अध्यक्षबाटै हटाउने काम भएबाट आक्रोशित नगरपालिकाका पदाधिकारीले आयोजना नगरपालिकालाई हस्तान्तरण नगरे कुनै काम अगाडि बढ्न नदिने बताएका छन् ।

नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भएका जग्गा एकीकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्ष स्थानीय नगरप्रमुख रहने व्यवस्था भए पनि प्राधिकरणको गत जेठ २२ गतेको बैठकले नगरप्रमुख श्रेष्ठलाई हटाएर दुवै आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षमा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षलाई राख्ने निर्णय गरेको थियो ।

प्राधिकरणले नगरप्रमुखलाई अध्यक्षबाट हटाएको भोलिपल्ट नै सार्वजनिक सूचना जारी गर्दै कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका टुक्रा घरेडीहरू बिक्रीमा राखेको छ । बिक्रीमा राखेको नयाँ घरेडीको नामसारी, घरबाटो र नक्सा पासमा रोक लगाएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा नगरप्रमुख श्रेष्ठले स्थानीय सरकारविरुद्ध प्राधिकरण अगाडि बढेको आरोप लगाए । उनले प्राधिकरणको औचित्य समाप्त भइसकेको भन्दै प्राधिकरण खारेज गर्न माग पनि गरे ।

जनताको जग्गामा मनोमानी मूल्य राख्दै बिक्री गर्ने, आयोजनाका सबै काम नसकी पटकपटक म्याद थप गर्दै यहाँ भएको मनोमानी र भ्रष्टाचार रोक्न खोज्ने नगरपालिकाको प्रमुखलाई अध्यक्षबाटै हटाउने काम भएबाट आक्रोशित नगरपालिकाका पदाधिकारीले आयोजना नगरपालिकालाई हस्तान्तरण नगरे कुनै काम अगाडि बढ्न नदिने बताएका छन् ।

नगरप्रमुख श्रेष्ठले दुवै आयोजना नगरपालिकाको मातहत सञ्चालन हुनुपर्ने अडान राख्दै नगर परिषद्बाट समेत स्वीकृत गराई आयोजनाको जिम्मेवारी लिने तयारी गर्दै गर्दा प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले अहिलेकै व्यवस्थाअनुसार आयोजना चलाउन जबर्जस्ती गर्दै आएको ती पदाधिकारीको भनाइ छ ।

प्राधिकरणले कमेरोटार जग्गा एकीकरण आयोजनाको आयव्यय पारदर्शी रूपमा नराखेको र लेखा परीक्षणसमेत नगरी करोडौँ रुपैयाँ अपचलन गरेको नगरपालिकाको आरोप छ ।

प्राधिकरणको भक्तपुर शाखामा प्रमुखका रूपमा नवराज प्याकुरेल आएपछि मात्रै कमेरोटार जग्गा एकीकरण आयोजनामा पाँचपटकभन्दा बढी र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्र जग्गाका घडेरी दुईपटक बिक्री गरिसकिएको छ ।

भक्तपुर नगरपालिकामा सञ्चालित दुईवटा आयोजना भने प्राधिकरणले नगरपालिकालाई हस्तान्तरण गरेपछि शुरुदेखि नै नगरपालिकाले नै आयोजना सञ्चालन गर्दै आएको छ ।