एसियाली राष्ट्र जापानको अग्निपरीक्षा

एसियाली राष्ट्र जापानको अग्निपरीक्षा


फिफा विश्वकपको आठौँ समूहअन्तर्गत असार १३ गते बिहीबार पहिलो खेल एसियाली राष्ट्र जापान र पोल्यान्डबीच हुँदै छ । वर्तमान विश्वकपमा एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने अन्य सबै राष्ट्र विश्वकपबाट बाहिरिसकेको अवस्थामा अहिले सबैको ध्यान जापानतर्फ सोझिएको छ ।

जापानले यो विश्वकपमा अहिलेसम्म खेलेका दुई खेलमा एउटामा विजय र अर्कोमा ड्र गर्दै ४ अंक बटुलेको छ । जापानले लिग चरणको पहिलो खेलमा कोलम्बियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा सेनेगलसँग बराबरी खेलेको थियो ।

यतिबेला यो समूहमा जापान र सेनेगलको ४ अंक छ भने कोलम्बियाको ३ । तीनवटै टिमले एक–एक खेल खेल्न बाँकी रहेकोले कुन दुई टिम नकआउट चरणमा पुग्छन् त्यो खेलपछि मात्रै थाहा हुनेछ । यी तीनवटै टिमलाई अहिले पनि जितको आवश्यकता छ । जसले जित्यो त्यो सीधैै नकआउट चरणमा पुग्नेछ । यदि ड्र भएको खण्डमा जापान र सेनेगलले बाजी मार्नेछन् । उनीहरूको पाँच–पाँच अंक हुनेछ ।

जापानले पोल्यान्डलाई हराएकोे खण्डमा सीधै नकआउट चरणमा पुग्नेछ । यदि यो खेलमा जापान पोल्यान्डसँग हा¥यो भने पनि दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै रहनेछ । यसर्थमा कि यो समूहको अर्को खेलमा सेनेगलले कोलम्बियालाई पराजित गर्नुपर्नेछ । यदि कोलम्बियाले सेनेगललाई पराजित ग¥यो सीधै नकआउट चरणमा पुग्नेछ ।

यो विश्वकपमा एसियाली राष्ट्रहरूमा सबैभन्दा उत्कृष्ट प्रदर्शन जापानले गरेको छ । अहिलेसम्म अपराजित रहेको जापान यो खेलमा आक्रामक रूपमा प्रस्तुत हुनेछ । पोल्यान्डलाई पराजित गरेको खण्डमा जापानले आफ्नो समूहमा शीर्ष स्थानसमेत हात पार्नेछ । सन् २००२ को विश्वकपमा जापान २ खेलमा विजय र १ खेलमा बराबरी गरेर नकआउट चरणमा प्रवेश गरेको थियो । पोल्यान्ड आफूले खेलेका दुवै खेलमा पराजित भएर विश्वकपबाट बाहिरिसकेको हुनाले पोल्यान्डमाथि जापान हावी हुने अड्कल काटिएको छ ।