स्टकहोमदेखि सिन्धुपाल्चोकसम्म

स्टकहोमदेखि सिन्धुपाल्चोकसम्म


nisedhगत साता अबुधावी एयरपोर्टको ट्रान्जिटमा रहेको बेला महिला फ्रेस रुममा ड्युटीमा रहेकी महिलाले मुखमा हेरेर मुसुक्क हाँस्दै हिन्दीमा घर कहाँ हो ? भनेर सोधिन् । ब्रस गर्दै जवाफ दिएपछि उनको रङरूप हेरर मैले पनि ‘तिमी भारतीय हो ?’ भने । उनले ‘हो’ भनिन् । त्यसको करिब पाँच घन्टापछि सोही ठाउँमा जाँदा उनी मोबाइलमा बंगालीमा कुरा गरिरहेकी थिइन् । मैले पनि तिमी त बंगलादेशको रहिछौ त किन इन्डियन भनेको ? भने (मनमा चाहिँ कोलकातातिरको हो कि भन्ने लागिरहेको थियो) । ‘मैंने देशके नाम लिने के लिए कौनसा काम किया हे, ट्वाइलेटमें काम कर रही हुँ, देशका नाम क्या लेना हे…’ उनको यस्तो जवाफले म खसस्कै भएँ । बंगलादेशकी शिक्षित ती युवती वैदेशिक रोजगारको क्रममा त्यहाँ थिइन् र आफ्नो देशप्रतिको उनको सोच त्यो हदसम्मको थियो । फर्किएर आफू बसेको ठाउँमा आउँदा केही नेपाली युवा ‘कम्तीमा तिम्रो पैसा र सामान त हराएन, प्लेन छुटेर केही हुँदैन, ढिलै भए पनि घरै पुग्ने त हो’ भन्दै हिन्दीमा एक–अर्का युवालाई सम्झाउँदै थिए । ती युवा पनि बंगलादेशी नै रहेछन्, साउदीबाट काम गरेर आफ्नो घर फर्कंदै गर्दा अबुधावी एयरपोर्टमा एक्स रे मेसिनबाट सामान पास गराउने क्रममा उनको झोला अर्का बंगलादेशीले नै लिएर हिँडेछन् । सुरक्षाकर्मीले शरीर जाँच गर्दै गर्दा अर्काको झोला बोकेर हिँड्ने व्यक्तिलाई सीसीटीभीको सहायताले भेटेर विमानस्थल अधिकारीहरूले उनको सामान फिर्ता दिए, त्यति गरुन्जेलसम्म उनको जहाज भने छुटिसकेको थियो । त्यसपछि नेपाली युवाहरू उनलाई सम्झाउन लागेका थिए । आफ्नै देशको मान्छेले त्यसो गरेकोमा उनीहरू आश्चर्य मान्दै भनिरहेका थिए, यस्तो पनि हुन्छ ? विश्वासै गर्न नसकिने…
वैदेशिक रोजगारी नेपालीका लागि मात्रै नभएर अविकसित मुलुकका नागरिकका लागि सामान्य बन्दै गएको छ । प्रत्येक दिन हजारौँहजारको सङ्ख्यामा मानिस रोजगारको सिलसिलामा यात्रारत हुन्छन् । दुबई, कतार, अबुधावीजस्ता एयरपोर्टका ट्रान्जिटहरूमा रहँदा मानिसहरूसँग भेटघाट मात्र हुँदैन, वैदेशिक रोजगारीका अनेक पाटाहरूलाई नियाल्न पनि पाइन्छ । त्यहाँ भेटिएका नेपाली आफ्नो देशको राजदूतावासले गतिलो भूमिका निर्वाह नगरिदिएकोमा दु:खी थिए । साउदीमा काम गरेर फर्कंदै गरेका स्याङ्जाका एक युवाले भने, ‘एकपल्ट मैले एम्बेसीमा फोन गरेँ, फोन उठाउनेले मलाई कि अङ्ग्रेजीमा या अरबीमा बोल्न भने । मैले पनि आफ्नो देशको एम्बेसीमा नेपालीसँग बोल्न म किन अरबीमा बोल्ने ? भनेर फोन राखिदिएँ । नेपाली कामदारहरूका मुद्दामा सकेसम्म पन्छिन सकियोस् भनेर कर्मचारीले त्यस्तो व्यवहार गर्छन् ।’ फिलिपिन्स र श्रीलङ्काका दूतावासहरूले आफ्ना नागरिकलाई विशेष व्यवहार र संरक्षण गर्ने गरेको पनि उनले बताए ।
स्विडेनको राजधानी स्टकहोममा घुमिरहेका बेला भेटिए कास्कीका यज्ञ राउत, उनी त्यहाँ रेस्टुरेन्टमा काम गर्दारहेछन् । हामीले नेपाली बोलिरहेको सुनेपछि बोल्न आएका उनले परदेशको त्यो भूमिमा भेट्दा परिवारकै सदस्य भेटेझैं गरे । हामीलाई पनि खुसी लाग्यो । उनीसँग भेटिएका पोखराकै अर्का एक युवा करिब दुई वर्षदेखि त्यहाँ रहेछन्, । भने– डकुमेन्ट मिलाउनै गाह्रो, काम पाउनै समस्या, पोखरामा आफ्नै व्यवसाय थियो, किन आएछु भनेर ठूलो पछुतो लागेको छ । सकेसम्म कामका लागि भनेर युरोपचाहिँ मानिसहरू नआउन् भन्ने उनको सुझाव छ । दलालहरूले सपना देखाउँछन् र फसाइदिन्छन्, जसबाट उम्किन धेरै गाह्रो छ । काम पाइएको छैन, ऋणको भारी छ, घर फर्किएर पनि के गर्नु ? कामका लागि दलालमार्फत युरोप पुगेकाले धेरै दु:ख पाएको उनीहरूले बताए । दलालहरूबाट युवाहरूलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा मुलुककै लागि ठूलो चुनौती बनेको छ । दलालहरूको सञ्जाल विश्वभरि नै फैलिएको छ ।
स्टकहोममा भेटिएका युवाहरूसँगको कुराकानी मानसपटलबाट टाढा नपुग्दै सिन्धुपाल्चोकमा भेटिएका केही युवाले भोगेको तनावले मन खिन्न बनायो । कामका लागि अफगानिस्तान पठाइदिन्छु भनेर आफन्तबाटै ठगिएका उनीहरू दलालले लगेको जनही तीन लाख पचास हजार रुपैयाँ कसरी उठाउने भन्ने कुराले पिरोलिएका छन् । मुख्य दलालले मुलुक छोडिसकेकाले पैसा फर्काउन त्यति सहज पनि देखिँदैन । वैदेशिक रोजगारीका सम्पूर्ण सरकारी संयन्त्रहरू केन्द्रमा छन् र दलालहरूचाहिँ गाउँगाउँ पुगेका छन् । हिजोआज महिलालाई विदेश पु-याउने समूहहरू झनै सक्रिय भएर लागिपरेका छन् । एसएलसीमा असफल भएर बसेका, घरेलु हिंसाबाट पीडित बनेका, एकललगायतका महिला दलालको पहिलो छनोटमा पर्छन् । अरूको दु:खमा टेकेर आफू सुखी हुन खोज्नेहरूको कमी यो संसारमा छैन । वैदेशिक रोजगारीको सवालमा पनि दलालहरूले दु:ख पाएकाहरूलाई नै लक्षित गर्ने गरेका छन् जसले आफू कति बेला घर छोडुँ भन्ने मात्रै सोचून् र अरू प्रश्न नगरून् । सुरक्षित तवरले सबै प्रक्रियाहरू पूरा गरेर जाँदा वैदेशिक रोजगारी आर्थिक सशक्तीकरणको महत्वपूर्ण पाटो हो तर उचित च्यानल प्रयोग नगरी जाँदा धेरै नेपाली महिला–पुरुष विदेशी भूमिमा कल्पना नगरेको दु:ख भोग्न बाध्य भएका छन् ।
वैदेशिक रोजगारीका नाममा ठगिनबाट जोगिन र यो विषयमा छलफल तथा बहसहरू गरी सुरक्षित तरिका अपनाउनका लागि सिन्धुपाल्चोकको इर्खु र कदमबास गाविसमा सामुदायिक सतर्कता केन्द्रको स्थापना भएको छ । युरोपियन कमिसन, यूएन वुमन र पिपुल्स फोरमले मुलुकका १५ जिल्लामा सञ्चालन गरेको वैदेशिक रोजगारीमा जनचेतनासम्बन्धी कार्यक्रमको पहलमा स्थापना भएको उक्त सतर्कता केन्द्रले गाउँमा विदेश जान चाहने युवालाई सचेत गराउन विभिन्न पहलकदमीको सुरुवात गरेको छ । सतर्कता केन्द्रका अध्यक्ष ज्ञानबहादुर तामाङले भने, ‘गाउँमा अहिले प्राय: सबै युवा सकेसम्म चाँडोभन्दा चाँडो पासपोर्ट बनाएर बिदेसिन चाहन्छन् । कता हो, के हो, कसरी हो भन्नेबारे उनीहरूले सोच्ने गरेका छैनन्, हामी उनीहरूलाई विदेश जानका लागि कसैलाई पैसा दिनुअघि पटकपटक सोच्न र सुरक्षित तरिका अपनाउनका लागि प्रेरित गर्ने कोसिस गरिरहेका छौं ।’ यूएन वुमनकी सरु जोशीका अनुसार, विभिन्न जाति, समुदाय, राजनीतिक दलका प्रतिनिधिलगायतका सबै पक्षको सहभागिता रहेको यस्ता सामुदायिक सतर्कता केन्द्रहरू १५ जिल्लाका ३४ गाविसमा रहेका छन् । वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई सुरक्षित बाटो अपनाउनका लागि समुदायकै मानिसको पहल आफँैमा सकारात्मक पहल हो । यिनलाई सूचना केन्द्रका रूपमा विकसित गर्न सकियो भने गाउँगाउँका सर्वसाधारणले अझ बढी लाभ लिन सक्नेछन् । अन्त्यमा, कदमबास गाविसमा रहेको सतर्कता केन्द्रकी एक महिला सदस्यको भनाइ उल्लेख गर्न मन लाग्यो । उनले भनेकी थिइन्, ‘अरूलाई सिकाउनका लागि पहिला आफूले जान्नुपर्ने रहेछ । पहिला हाम्रा पालामा धन–सम्पत्ति हेरेर विवाह गरिदिन्थे । सूचना र ज्ञान त धन–सम्पत्तिभन्दा धेरै ठूलो कुरा पो रहेछ ।’ स्टकहोमदेखि सिन्धुपाल्चोकसम्मको अनुभवले भन्छ, वैदेशिक रोजगारीमा सही सूचना अहिलेको आवश्यकता हो ।