राखेपले सञ्चालन गर्ने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमको मुख्य उद्देश्य खेलकुदमा महिला सहभागितालाई अझ वृद्धि गर्नु रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन् ।
‘हामीले सञ्चालन गरेको कार्यक्रमको मुख्य उद्देश्य बढी भन्दा बढी महिलालाई खेलकुदप्रति आकर्षित गर्ने हो । त्यसपछि खेलकुदको माध्यमबाट महिला हिंसा न्युनीकरण गर्नु पनि हो’, उक्त कार्यक्रमका लागि प्रशिक्षण दिन जाने टोलीलाई ब्रिफिङसहितको विदाइ कार्यक्रममा विष्टले उक्त कुरा बताएका हुन् । टोली असार १४ गते विहीबार विभिन्न जिल्लामा प्रशिक्षण र कार्यक्रम सञ्चालन गर्न प्रस्थान गरेको छ ।
सदस्यसचिव विष्टले महिलालाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै उनीहरुको आत्मविश्वास बढाउन सफल भए मात्र कार्यक्रम सफल हुने बताउँदै प्रारम्भिक चरणमा कार्यक्रम सातै प्रदेशका विभिन्न ४१ जिल्लामा सञ्चालन हुने जानकारी दिए । प्रत्येक जिल्लामा तीन दिन कार्यक्रम चल्नेछ जसमा ३० मिनेट सैद्धान्तिक र ९० मिनेट आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिने छ ।
पहिलो चरणमा कार्यक्रम असार १५ देखि २५ गतेसम्म सञ्चालन हुने र साउनदेखि वर्षभरि कार्यक्रमले निरन्तरता पाउने सदस्य–सचिव विष्टले बताए । कार्यक्रमको नारा ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ रहेको छ ।

प्रतिक्रिया