फिफा विश्वकप फुटबलअन्तर्गत लिग चरणको अन्तिम खेल इंग्ल्यान्ड र बेल्जियमबीच भएको थियो । दुवै टिमले लिग चरणका पहिलेका दुई खेल जितेर नकआउट चरणमा पुगेका कारण आफ्ना युवा खेलाडीलाई मैदानमा उतारेका थिए । उक्त निकै सनसनीपूर्ण खेलमा अन्तिममा बेल्जियमले बाजी मारेको थियो । इंग्ल्यान्ड बेल्जियमसँगै १–० को अन्तरले पराजित भएको थियो । यो विजयसँगै बेल्जियमले समूह चरणमा शीर्ष स्थान हात पारेको थियो ।
खेल शुभारम्भ भएदेखि नै दुवै टिम आक्रामक रूपमा प्रस्तुत भए पनि नवौँ मिनेटमा बेल्जियमले डरलाग्दो आक्रमण गर्ने क्रममा गोलकिपरलाई समेत बिट गरेका थिए । तर, इंग्ल्यान्डका अनुभवी डिफेन्डर गेरी केहिलले निकै राम्रो बचाउ गरेका थिए । यसपछि दुवै टिमले बल आफ्नो नियन्त्रणमा लिँदै गोल गर्ने प्रयास गरे पनि पहिलो हाफको खेल बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफमा निकै आक्रामक रूपमा प्रस्तुत भएको इंग्ल्यान्डले खेल शुभारम्भ भएको ३ मिनेटमै गोल गर्ने अवसर प्राप्त गरे पनि असफल भएको थियो । तर, ५१औँ मिनेटमा बेल्जियमले गोल गर्दै १–० ले अग्रता लिएको थियो । उक्त गोल अदनान यानुजायले गरेका थिए । यही गोल अन्तिममा निर्णायक गोल बन्न पुगेको थियो ।
प्रतिक्रिया