यान्त्रिक हलोमा महिलाको आकर्षण

यान्त्रिक हलोमा महिलाको आकर्षण


म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् ।

महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरूले खेत जोत्नका उनीहरू आकर्षित हुन थालेका हुन् ।

बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भएको बताइन् ।

‘गोरुले जोत्दा महिलाले हलो छुन हुँदैन भन्थे, खेत जोत्नका लागि मान्छे खोज्नुपर्ने बाध्यता थियो, अहिले यान्त्रिक हलो भित्रिएपछि भाडामा लिएर आफँैले समेत जोत्ने गर्छौँ’ केसीले भनिन् ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको सन्दर्भमा यान्त्रिक हलोको प्रयोग बढिरहेको छ । छिटो र छरितो रूपमा खेत जोत्न सकिने भएकाले पनि कृषक यान्त्रिक हलोको प्रयोगतर्फ आकर्षित भइरहेका छन् ।

गोरु पाल्न झन्झट हुने गरेको अवस्थामा आफूलाई आवश्यक परेको समयका लागि मात्रै खर्च गरेर पनि खेत जोत्न सकिने भएकाले यान्त्रिक हलो कृषकलाई उपयोगी बनेको मौवाफाँटका कृषक मुकुन्द शर्माले बताए ।

गोरुको विकल्पमा ट्याक्टरको प्रयोगले खेत रोपाइँलगायतको खेती गर्दा लागतसमेत कम लाग्ने उनको भनाइ छ ।

स्थानीय कृषकसँग मिलेर शर्माले दुईवटा हाते ट्याक्टरका रूपमा चिनिने यान्त्रिक हलो रु. ७० हजारमा खरिद गरेका छन् । यसका लागि रघुगंगा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको अर्का कृषक मुक्ति सुवेदीले बताए ।

‘परम्परागत रूपमा खेत जोत्नका लागि वर्षभरि गोरु पाल्नुपर्दथ्यो, गोरु पाल्दा लागत पनि बढी हुन्छ, साँध सिमानामा रहेका अन्य व्यक्तिको बाली खाइदिने डर पनि हुन्छ, तर यान्त्रिक हलोले जोत्दा समग्रमा छिटो र छरितोसँगै लागतसमेत कम हुन आउँछ,’ सुवेदीको भनाइ छ ।

कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले रघुगंगा गाउँपालिकाले प्रविधिमैत्री कृषितर्फ कृषकलाई आकर्षित गर्ने नीति लिएको छ । यस वर्ष गाउँपालिकाले कृषकको मागबमोजिम सातवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको छ ।

थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्ने झन्झट नहुने र कम लागतमा खेती गर्न सकिने भएकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

गाउँपालिकाले पिप्ले र मौवाफाँटमा चार, भगवती, पाखापानी र चिमखोलामा एक एकवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि संयोजक चन्द्रकुमार आलेले जानकारी दिए ।

थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्ने झन्झट नहुने र कम लागतमा खेती गर्न सकिने भएकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘गाउँघरमा जनशक्तिको अभाव छ, गोरु पाल्नका लागि घाँसदेखि गोठसम्मको बन्दोबस्त गर्नुपर्ने झन्झटलाई हटाउन प्रविधिमैत्री कृषिमा जोड दिएका छौँ,’ उनले भने, ‘यान्त्रिक हलोतर्फ कृषकलाई आकर्षित गराएर व्यावसायिक बनाउने हाम्रो लक्ष्य छ ।’

जिल्लाको रघुगंगा गाउँपालिकासँगै मंगला, धौलागिरि र मालिका गाउँपालिकाले समेत यस वर्ष कृषकलाई अनुदानमा यान्त्रिक हलो वितरण गरेका छन् ।

रासस