देश नै सहमतिको बन्धक बनेपछि…

देश नै सहमतिको बन्धक बनेपछि…


special-articleदिवङ्गत संविधानसभाका ६ सय एक सभासद्ले उच्च तहमा बन्ने सहमतिको प्रतीक्षा गर्दागर्दैै चार वर्ष बिताए, त्यसपछि दलहरूबीच सहमतिको सरकार गठन हुने आशामा राष्ट्रपतिले दश महिना गुजारे र अन्त्यमा गैरराजनीतिक सरकार निर्माण गर्न बाध्य भए, अब नेताहरूबीच सहमतिको प्रतीक्षा गर्ने लाममा खिलराज रेग्मी र उनको सरकार सामेल भएको छ । राजनीतिक दलहरूबीच सहमति बन्ने आशामा रेग्मीले करिब तीन महिना गुजारिसकेका छन्, अझै कति समय उनको प्रतीक्षा कायम रहने हो यो प्रतीक्षाकै अर्को विषय बनेको छ ।
नेपाली राजनीति देशलाई केन्द्रमा राखेर अघि बढिरहेको छैन, यहाँको राजनीतिको केन्द्र केवल राज्यसत्ता बनिरहेको छ र सत्ताको सर्वेसर्वा आफैँ र आफू मात्रै बन्न पाउनुपर्ने मनोदशा राजनीतिकर्मीमा प्रबल छ । यदि उनीहरूले देश, जनता र प्रजातन्त्रलाई केन्द्रबिन्दुमा राखेका भए सहमति असम्भव थिएन र देशले सहमतिको बन्दी बनिरहनुपर्ने पनि थिएन । तर, केन्द्रबिन्दुमा सत्ता र सत्ताको मालिक आफैँ बन्ने मनोरोगबाट राजनीतिकर्मीहरू ग्रस्त भएकाले नेपाली जनताका निम्ति राजनीतिक दलहरूबीचको सहमति ‘आकाशको फल’ हुन पुगेको छ । सत्ताकै निम्ति काङ्गे्रसले आफ्नो मौलिक विचार, दर्शन र सिद्धान्त परित्याग ग-यो र प्रजातन्त्रको प्रतिकूल शक्ति माओवादीसँगको साझेदारीमा आफूलाई सामेल गरायो । माओवादीहरू सत्ता–साझेदारीको सिद्धान्तमा कहिल्यै विश्वास गर्न सक्दैनन् भन्ने तथ्यबोध काङ्गे्रसका नेताहरूले समयमै गर्न सकेनन् । माओवादीहरू उपयोगवादमा विश्वास गर्छन् भन्ने सत्य आत्मसात् गर्न नसक्दा काङ्गे्रस कुनै न कुनै रूपले माओवादीबाट उपयोग हुँदै आयो, अब काङ्गे्रस नेतृत्व माओवादीबाट उपयोग नहुन कटिबद्ध त हुँदै छ तर विगतको गल्ती–कमजोरीका कारण उत्पन्न उल्झन पन्छाउने सामथ्र्यको कमी काङ्गे्रसमा देखिएको छ । माओवादीहरूले हिंसा र हतियारको राजनीति बिसाए पनि उनीहरूले सम्पूर्ण सत्तामाथि आफ्नो नियन्त्रण कायम गर्ने गैरप्रजातान्त्रिक विचार–दर्शन त्यागेका छैनन् । अहिले उनीहरूको हतियार छल, बल, धन र तिकडम बनेको छ, काङ्गे्रस नेतृत्व माहुरीको महमा लटपटिएको पुतलीजस्तै उड्न नसक्ने गरी थला परेको छ । त्यस्तो पुतली जो आफ्नो पखेटामा लागेको मह धोएर पुरानै मौलिक स्वरूपमा फर्कन खोज्दैन, उड्न मात्र बल गर्छ । माओवादी निसृत एजेण्डाहरूबाट आफूलाई पूर्ण मुक्त नगरेसम्म काङ्गे्रसले गति लिने विश्वास गर्न सकिँदैन, तर काङ्गे्रस त्यस्तै असम्भव धृष्टता गर्दै छ । काङ्गे्रसले आफूलाई धोइपखाली नगरेसम्म प्रजातान्त्रिक आन्दोलनले शुद्ध मति र गति लिने अपेक्षा राख्नु भनेको ट्रयाक्टर चढेर चन्द्रमाको यात्रा तय गर्ने योजना बनाउनुजस्तो मात्र हो ।
एमालेको भूमिका पनि विगतमा शुद्ध हुन सकेन, एमालेले त्यो बिरालोको भूमिका निर्वाह ग-यो जुन बिरालो खुवाका लागि झगडा गरिरहेका ‘खरायो र बाँदरको विवाद मिलाउने न्यायाधीश’को रूपमा प्रकट भएको थियो । दुवैलाई खुवा बराबरी गरिदिने निहुँमा तराजु लिएर अघि सरेको बिरालो (न्यायाधीश) ले तराजुको दुवैतिर खुवा राखी बढी भएको भागपट्टिबाट खुवा निकालेर आफैँ खाने र पालैपालो खाँदाखाँदै सबै खुवा आफ्नो पेटमा पार्ने काम गरेको थियो । अहिले केही स्पष्टताका साथ अगाडि आएको भए पनि विगतमा एमालेको भूमिका त्यही छट्टु बिरालोको भन्दा भिन्न नभएको महसुस गरिन्थ्यो । काममा अरूहरू नै सक्षम र जिम्मेदार भए पनि कुरामा कम्युनिस्टहरूलाई परास्त गर्ने सामथ्र्य अन्यमा विरलै मात्र पाइन्छ । संसारभरिका कम्युनिस्टहरूमा हुने समान गुण भनेको धाराप्रवाह बोलिरहन सक्नु र शब्दजालमा पारेर आफ्नो आवश्यकता र महत्वलाई जीवित राखिरहनु हो । साम्यवादी उत्तरकोरिया र प्रजातान्त्रिक दक्षिणकोरियाका मानिसको जात, भाषा, धर्म, वर्ण, कद, संस्कार, संस्कृति र उद्गम एउटै भए पनि उत्तर र दक्षिणकोरियालीलाई छुट्याउने एउटै प्रमुख आधार तत्व बोली हो । कम बोल्ने तर बढी काम गर्ने दक्षिणकोरियाली हुन् भने बोलिरहने र बोलिरहनेहरूचाहिँ उत्तरकोरियाली । उत्तरकोरियामा कम्युनिस्ट शासन स्थापना भएपछि त्यहाँका मानिसले बोल्न सिकेका हुन् भने दक्षिणकारियालीले चाहिँ प्रजातान्त्रिक राजनीतिक प्रणालीको अवलम्बनसँगै केही गर्ने सामथ्र्य जुटाएका हुन् । अहिले दक्षिणकोरिया विश्वकै समृद्ध मुलुकको कोटिमा परेको छ र लाखौँ विदेशीलाई समेत रोजगारी दिनसक्ने हैसियतमा उसले आफूलाई पु-याएको छ । तर, उत्तरकोरियाले भने बोल्न जाने पनि केही गर्न जानेन, अनि ऊ बेलाबखत भयङ्कर अनिकालको चपेटामा पर्ने गरेको छ र खानका लागि भीख माग्न पनि हतियारको बलमा धम्की दिने गर्दछ । विश्वशान्ति भङ्ग गर्ने त्रास र तनाव उत्पन्न गराएर जीविका चलाउनु उत्तरकोरियाको नियति बाध्यता र परम्परा बनेको छ । उत्तरकोरिया मात्र होइन संसारभरिकै कम्युनिस्टहरूले त्रास र धम्कीको बलमा आफ्नो गुजारा गरिरहेका छन् । समग्रमा भन्नुपर्दा कम्युनिस्टहरू आफूलाई गरिबको मित्र भएको दाबी गर्छन् तर व्यवहारत: उनीहरू गरिबको नभई गरिबीको अभिन्न मित्र बनिरहेका छन् । नेपालमा पनि कम्युनिस्टको प्रभाव बढ्दै जाँदा गरिबीको मात्रा सोही अनुपातमा वृद्धि भइरहेको छ । उद्यम–व्यवसाय धराशायी भएका छन् अर्थतन्त्र रुग्ण बनेको छ, बेरोजगारी ह्वात्तै बढेको छ, देशमा गरिबी बढिरहँदा कम्युनिस्टहरूको फुर्तिफार्ती भने अस्वाभाविक किसिमबाट बढेको महसुस गरिँदै छ ।
नेपालमा राजाहरूको शासन रहँदा विकास र प्रजातन्त्र सङ्कटमा परेको भए पनि शान्ति र स्थिरता अब्बल रहेको तथ्य स्वीकार गर्न कञ्जुस्याइँ गर्नुपर्ने कारण छैन । संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रमा स्थिरताको अभाव भए पनि शान्ति र विकासको स्थिति सबल थियो भन्न सकिन्छ । तर, अहिले गणतन्त्रसँगै कम्युनिस्ट प्रभुत्व बढ्दा शान्ति, स्थिरता, विकास र प्रजातान्त्रिक मूल्य–मान्यता पाखा लागेको छ । यसरी शान्ति, विकास, स्थिरता र प्रजातन्त्रलाई किनारामा पु-याउन उद्यत् शक्तिहरूसँग सहमति बनाउन खोज्दा प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरू होलीको बाँदरजस्तो चिन्नै नसकिने अवस्थामा पुगेका छन् । देश सम्हालिनै नसक्ने गरी अराजकताको भुमरीमा फसेको छ । माओवादीहरूले जुन ढङ्गको वैचारिक द्वन्द्वमा मुलुकलाई फसाएका छन् र उनीहरूको आडमा जातीय एवम् क्षेत्रीयतावादी सोच जसरी उम्लिएको छ यस स्थितिमा प्रजातन्त्र, शान्ति, स्थिरता र विकासका पक्षपातीहरूले सहमति खोज्नु भनेको दिन पनि होइन र रात पनि होइन सन्ध्याकालमा मुलुकलाई राखौँ भन्नुजस्तो मात्र हो । प्रजातान्त्रिक शक्तिहरूले आफूलाई बदले पनि माओवादी आफैँ बदलिन किञ्चित तत्पर छैनन् । कुनै सिपाही हतियारसहित पोसाकमा रहँदा मात्र सेना हुने होइन, उसले हतियार कोतमा थन्क्याएर नागरिक पोसाकमा आफूलाई प्रस्तुत गरे पनि ऊ सेना नै रहन्छ र उसको सैन्य सोच बदलिएको हुँदैन । माओवादीलाई कोतमा हतियार थन्क्याएर नागरिक पोसाकमा प्रस्तुत भएको सिपाहीभन्दा पृथक ठान्नु भनेको ठान्नेहरूकै गम्भीर भूल हो, जुन भूल काङ्गे्रससहितका प्रजातान्त्रिक शक्तिहरूले गरिरहेका छन् । माओवादीको भुलभलैयामा देशी–विदेशी सबै शक्तिहरू क्रमश: पर्दै आएका छन्, अहिले भुलभुलैयामा पर्न खोज्दै छ खिलराज रेग्मी नेतृत्वको गैरराजनीतिक सरकार । नेपाली राजनीतिकर्मीहरूको दशक लामो व्यवहारले प्रमाणित गरेको तथ्य के हो भने उनीहरू चौरमा बल घुमाइरहन र कसैलाई गोल गर्न नदिने पूर्ण क्षमता राख्छन्, तर आफैँ गोल गर्नचाहिँ सक्दैनन् । त्यसैले अब हामी सबैले एउटा प्रश्न उठाउनैपर्ने भएको छ– यो गोलचक्करको सिकार मुलुकलाई कहिलेसम्म बनाइरहने ?
दिवङ्गत संविधानसभाका पचास दर्जन सदस्यलाई चार वर्षसम्म सहमतिको नाममा भुलाउन सक्ने, राष्ट्रपतिलाई दश महिनासम्म सहमतिकै नाममा झुलाउने क्षमता राख्ने र विदेशी मित्रशक्तिहरूलाई वर्षौंदेखि भुलभुलैयामा पार्नसक्ने नाटकवाजहरूको सहमति पर्खेर खिलराजहरूले आफ्नो सुवर्ण कार्यकाल लम्ब्याउन खोजेका होइनन् भने देशलाई तत्कालै एउटा निकास दिने सामथ्र्य दर्शाउन सक्नुपर्छ । जुन प्रकारका जटिलताहरू नेपाली राजनीतिको सहतमा देखापरेका छन्, यसको सूक्ष्म विश्लेषण गर्दा दलहरूबीच सहमति बन्ने र मुलुकलाई सङ्कटमुक्त तुल्याउने आशा गर्ने ठाउँ कहीँ कतै देखिन्न । कदाचित सहमति बनेछ भने पनि त्यो देशको दूरगामी हितसँग कुनै साइनो गाँसिने आशा गर्न सकिन्न । त्यसैले देशका लागि एउटा अप्रत्यासित जोखिम उठाउने सामथ्र्य खिलराजहरूले दर्शाउन आवश्यक छ, सकिन्न सामथ्र्य दर्शाउन भने मुलुकको थप समय बर्बाद नगरी शासनसत्ताबाट बिदा लिएर घरपरिवार सम्हाल्न फर्कनु नै सबैका निम्ति उपयुक्त हुनेछ ।