‘फिजिकल घर’को मात्र होइन ‘डिजिटल घर’को सुरक्षा पनि अत्यावश्यक

‘फिजिकल घर’को मात्र होइन ‘डिजिटल घर’को सुरक्षा पनि अत्यावश्यक


– डिल्लीराम अम्माई/बेल्जियम

चितवन सहायता समाज क्याटको आयोजनामा जुन २६ को दिन बेल्जियममा साइबर विद प्रोफेसर डा. रामहरि सुवेदीले साइबर आक्रमणबाट हाम्रो डिजिटल घरलाई बचाउन आधारभूत तालिम दिएका छन् ।

चितवनको गुन्जनगरबाट अध्ययनको सिलसिलामा छब्बीस वर्षदेखि अमेरिकामा बसोवास गरेका डीसी नेपाल अनलाइन पत्रिकाका संस्थापकसमेत रहेका सुवेदीले साइबरसँग सम्बन्धित विषयमा नै विद्यावारिधि गरी नासामा समेत केही वर्ष काम गरेको अनुभव छ ।

क्याट बेल्जियमका अध्यक्ष रामचन्द्र सुवेदी (भुवन)ले तालिमको उद्घाटन गरी आयोजकको आशनबाट बोल्दै तालिमको महत्वबारे प्रस्ट पार्ने कोसिस गरेका थिए भने चारघन्टे तालिम समाप्त भएपछि तालिम दिने प्रोफेसर डाक्टर रामहरि सुवेदीलाई जनप्रगतिशील मञ्चका भूतपूर्व अध्यक्ष तथा व्यवसायी चित्र सुवेदी, गैरआवासीय सङ्घ युरोप संयोजक शिव बरुवाललगायतका व्यक्तिबाट जीवनोपयोगी तालिम दिएकोमा आभार व्यक्त गरिएको थियो । प्राध्यापकलाई सम्मान र सम्झनास्वरूप मायाको चिनो उपहार दिँदै क्याट परिवारले पुनश्च यस्ता उपयोगी तालिम दिने अवसर प्रदान गर्न अनुरोधसमेत गरेको थियो ।

प्रोफेसर सुवेदीले तालिमको प्रारम्भिक मन्तव्यको क्रममा ‘संसारभर रहेका मानवको अब एक मात्र घर छैन, हामीहरूको साइबर पनि अर्को घर हो । हाम्रा सबै गतिविधि साइबर नियन्त्रित भइसकेका छन् भन्दै जसरी आफ्नो भौतिक घरको सुरक्षाको लागि झ्यालढोका बनाइन्छ, आफू नहुँदा त्यसमा ताल्चा लगाइन्छ त्यस्तै साइबर घरको सुरक्षासमेत अति आवश्यक भएको’ बताए ।

डिजिटल घरको सुरक्षा गर्दा हाम्रा घरमा कति कोठाहरू छन् ? ती कोठाहरू सुरक्षित छन् भनेर हामी कसरी ढुक्क हुन सक्छौँ ? ती कोठाहरू पूर्ण रूपमा सुरक्षित छैनन् भने कसरी सुरक्षित गर्न सकिन्छ ? त्यसबारे साधारण उदाहरण दिँदै आवश्यक टिप्ससहित उनले उपस्थित प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए ।