समय-समयको कुरा -बबिता बस्नेत

समय-समयको कुरा -बबिता बस्नेत


मुलुकमा गणतन्त्र घोषणा भएपछि यो मुलुकका क्रान्तिकारी राजनीतिक कार्यकर्ताहरूले नेपाल देशका निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिकमा आक्रमण गरेर आफ्नो पहिलो बहादुरी देखाएका थिए । विभिन्न जिल्लामा राष्ट्रनिर्माताका सालिकहरू धमाधम ढालिँदै जाँदा कुनै पनि राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरूले एक शब्द पनि बोल्ने साहस गरेनन् । मुलुकमा भर्खर-भर्खर गणतन्त्र आएको बेला सालिक ढाल्नेको विरोधमा बोल्दा गणतन्त्रवादी नभइने हो कि भन्ने कतिलाई लाग्यो भने कतिचाहिँ चित्त नबुझदा-नबुझ्दै पनि भोलि के हुने हो, विरोध गरेमा बाँच्नै गाह्रो पर्ने पो हो कि भन्ने लागेर मौन रहे । नेकपा माओवादीका कार्यकर्ताको त्यसप्रकारको गतिविधिका बारेमा अरू त अरू नेपाली काङ्ग्रेसले समेत कुनै प्रतिक्रिया जनाएन । राष्ट्रलाई माया गर्ने र पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरिदिएका कारण हामीले अहिले नेपाली हुनुको गर्व गर्न पाएका छौँ भन्ने मान्यता राख्नेहरू नभएका होइनन् तर उनीहरूले पनि ध्वस्त बनाइँदै गरिएको त्यो इतिहासलाई टुलुटुलु हेर्नबाहेक केही गर्न सकेनन् । त्यसको प्रमुख कारण भीडतन्त्रको बाहुल्य नै थियो । भीडले जे चाह्यो त्यही हुने त्यो अवस्था राजनीतिक दलहरूले रोक्न चाहेका भए सम्भावना प्रसस्त थिए तर त्यसो गरिएन । त्यतिबेला दलहरूले ठाने- यो त राजा-महाराजाका सालिकका निम्ति हो, ठिकै त छ नि, हामी किन रोक्ने ? त्यतिबेला उनीहरूले यो राजा-महाराजाका सालिकमाथिको आक्रमण नभएर इतिहासमाथिको आक्रमण हो भनेर सोचेनन् । वर्तमान नै सर्वेसर्वा हो भन्ने भ्रममा रमाइरहेका नेताहरूले कुनैबेला आफूहरू पनि यो मुलुकको इतिहासको एउटा हिस्सा बनिनेछ भन्ने ठानेनन् ।
समय एकनास रहेन, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक ढालेको चार वर्ष पनि बित्न नपाउँदै गणतन्त्र नेपालको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले आफ्नो सालिक राख्ने स्थानसमेत प्राप्त गर्न सक्नुभएन । उहाँको पहिलो वारि्षकतिथि पारेर राजधानीको शंखपार्कमा सालिक राख्न लाग्दा स्थानीयवासीले व्यापक विरोध गरे र अन्तत: आयोजकहरूले सालिक राख्नका लागि खनेको खाल्डो पुरेर हिँड्नुपर्यो । इतिहासकै महान् नेता भनिएका, चर्चित अन्तर्राष्ट्रिय नोबेल शान्ति पुरस्कारका लागि नामसमेत सिफारिस गरिएका, प्रजातान्त्रिक आन्दोलनका नेताको सालिक राख्नबाट कुनै दिन कसैले अवरोध सिर्जना गर्ला भनेर सोचिएको पनि थिएन । तर, नसोचेको कार्य त्यसैगरी भयो जसरी हिजो पृथ्वीनारायण शाहको सालिक ढाल्दा भएको थियो । अरूको जे-जे गरे पनि उहाँकै सालिकमा समेत आक्रमण गरेर ध्वस्त पारिएला भनेर विगतमा सोचिएको थिएन । त्यति मात्र होइन, महेन्द्रनगर, पृथ्वीनारायणलगायतका नगरपालिकाको नाम नै परिवर्तन गरेर इतिहासलाई मेट्ने कोसिस गरियो । महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका भनेर कागजमा नाम परिवर्तन गरिएको छ तर बसपार्कमा गएर कसैले म भीमदत्त नगर जाने भन्दै टिकट खोज्यो भने कसैले प्राप्त गर्ने छैन किनभने मान्छेलाई थाहै छैन, थाहा पाउने इच्छा र चाहना पनि छैन । स्थानीय जनताका निम्ति उनीहरूले थाहा पाएदेखि नै सुन्दै आएको त्यो नामले दैनिक जीवनमा कुनै फरक पारेको थिएन । त्यसैले दिन प्रतिदिन ‘महेन्द्रनगर’ भन्ने नाम प्रयोग गर्नबाट उनीहरू रोकिएका छैनन् । प्राध्यापक देवराज दाहालको भनाइमा ‘इतिहासको आधार नजोगाई समाज बन्दैन, इतिहास ध्वस्त पारेर राज्य दह्रो हुन सक्दैन ।’ तर विगतमा हाम्रो इतिहासका आधारहरूलाई ध्वस्त पार्ने कोसिस गरियो, परिणाम अहिले के भयो ? जे सिकायो त्यही हुँदै छ, इतिहासलाई सम्मान गर्ने परम्परा हराउँदै छ । आफूले सम्मान पाउनका लागि अरूको सम्मान गर्न सक्नुपर्छ । अरूलाई अपहेलना गरेर आफूले चाहिँ सम्मान प्राप्त गर्छु भन्ने चाहना राख्नु सर्वथा गलत हुनेछ । आज गिरिजाप्रसाद कोइरालालाई पर्यो, भोलि प्रचण्डलाई पर्ने निश्चित छ । हिजो जे सिकाइयो आजको पुस्ताले त्यही सिक्ने हो, आज जे सिकाइयो भोलिका पुस्ताले त्यही जान्ने हो । हिजो सालिकहरू बन्न पाएका थिए, भत्काइए तर भोलि त सालिक राख्ने स्थान नै प्राप्त नहुने सम्भावना अधिक छ । अहिले हाम्रो मुलुकको नेतृत्वमा रहेका नेताहरूप्रति जनतामा जुन प्रकारको वितृष्णा वृद्धि हुँदै छ त्यसको आधारमा यस्तै अनुमान गर्न सकिन्छ ।
कसैलाई मन परोस् कि नपरोस् इतिहास इतिहास नै हो, विश्वका धेरै मुलुकमा तानाशाहका नामबाट राखिएका सडकमा अहिले पनि मान्छेहरू हिँडिरहेकै छन । बाहिरका मानिसहरू जाँदा उनीहरू तिनका सालिक र तिनका नामका सडकहरूको बारेमा जानकारी दिन्छन् । उनीहरूलाई थाहा छ, सडकको नाम फेर्दैमा इतिहास फेर्न सकिँदैन । क्रूर होस् या नरम इतिहास इतिहास नै हो, मुलुकमा युद्ध गरेर करिब १३ हजार मानिसको ज्यान लिएका माओवादी नेताहरू अहिले सो पार्टीका कार्यकर्ताका लागि ‘महान्’ भए पनि भोलिको पुस्ताका लागि त्यसप्रकारका गतिविधिहरू महान् नहुन सक्छन् । तर, त्यसो भन्दैमा तिनका नेताका सालिक या त्यस्तै ऐतिहासिक कुराहरूमाथि प्रहार गर्नु नितान्त गलत हुनेछ, जसरी हिजो भएको थियो । सहीलाई सही र गलतलाई गलत भन्ने साहस कम्तीमा नागरिक समाजले गर्नुपर्छ जुन हामीकहाँ हुन सकिरहेको छैन । हाम्रो नागरिक समाज विभाजित छ, राजनीतिक दलहरूसँगै सैद्धान्तिक रूपमा टुक्रिएको छ । पार्टीका एजेण्डाहरूलाई नै नागरिक समाजका ‘प्रतिनिधि’हरूले आफ्ना एजेण्डा बनाएर हिँडिदिँदा नेपालको नागरिक आन्दोलन कमजोर भएको हो । अरू त अरू मानवअधिकारको परिभाषा र दायरासमेत यहाँ राजनीतिक पार्टीमा निहित छ, काङ्ग्रेस र्समर्थकको छुट्टै मानवअधिकार, कम्युनिस्टको छुट्टैझैं देखिन्छ । मानवअधिकारकर्मीहरू डेमोक्र्याट, लेफ्ट भनेरै चिनिन्छन्, चिनिन चाहन्छन् । राष्ट्रिय मानवअधिकार आयोगमा नियुक्ति पनि त्यसैगरी गरिन्छ । परिणामत: राजनीतिक खिचातानीको प्रभाव त्यहाँ सधैं पर्ने गर्छ । एनजीओकर्मीहरू जो आफूलाई नागरिक समाजका प्रतिनिधि भन्न रुचाउँछन्, उनीहरूका अभियानहरू धेरैजसो परियोजनाकृत छन् । जुन कुराको वकालतका लागि पैसा प्राप्त हुन्छ त्यही कुराको वकालत गर्छन् र स्वस्फर्ुत अभियान चलाएझैं गर्छन् । प्राय: एनजीओहरूको बुझाइ सरकारलाई गाली गर्नुपर्छ, दबाब दिनुपर्छ भन्ने छ । त्यसमा पनि कसको सरकार छ भन्नेमा भर पर्ने गरेको छ । अहिले नेपाली काङ्ग्रेसको सरकार भएको र अहिलेजस्तै मन्त्रिमण्डलमा एकजना पनि महिला नपरेका भए वामपन्थी नागरिक समाजले कति टिप्पणी गर्थे होला अनुमान गर्न सकिन्छ । तर, वामपन्थी गठबन्धनको सरकार भएकाले अप्ठ्यारो नपार्नका लागि उनीहरू मौन छन् । यहाँ बिर्सन नहुने कुरा के छ भने नेपालको नागरिक समाज पनि इतिहास बनाउने क्रममा छ, आजका प्रतिनिधिहरूले जे गरे भोलिको पुस्ताले त्यही सिक्ने हुन्, त्यसैले कृपया नागरिक समाजको इज्जत राख्दै यसलाई राजनीतिबाट मुक्त गरेर नागरिकहरूको हितमा केन्द्रित गरौँ ।