‘मधुमेहको मुख्य कारण बायु प्रदुषण’

‘मधुमेहको मुख्य कारण बायु प्रदुषण’


अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ । वायु प्रदुषणले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ । अध्ययन सन् २०१६ मै गरिएको थियो ।

मधुमेह खासगरी जीवनशैलीसँग सम्बन्धित खाना वा सन्तुलित आहार र शरीरलाई अधिक निष्क्रिय राख्ने बानीका कारण हुने बताइए पनि सेन्टलुइसस्थित वासिङ्टन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले प्रदुषण पनि मधुमेहको मुख्य कारक रहने अध्ययनबाट देखिएको जनाएको छ ।

अध्ययनले अनुमान गरेअनुसार सन् २०१६ मा विश्वभर ३२ लाख मधुमेहका नयाँ विरामी प्रदुषणका कारण भएका छन् । यो उक्त वर्ष मधुमेहका विरामी सङ्ख्याको १४ प्रतिशत हो ।

‘हाम्रो अनुसन्धानले वायु प्रदुषण र मधुमेहबीचको महत्वपूर्ण लिङ्क भेटाएको छ,’ अध्ययन समूहका प्रमुख लेखक जियाद अल अलीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उनले भने, ‘प्रदुषणले शरीरको इन्सिुलिन उत्पादन गर्ने शक्तिलाई घटाइदिने गर्छ । यसबाट स्वस्थ शरीर कायम राख्नका लागि चाहिने रगतमा भएको ग्लुकोजको मात्रालाई शक्तिमा रूपान्तरण गर्नबाट रोक्छ ।’

लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित अनुसन्धानले अमेरिकी वातावरण निकाय (इपिए) तथा विश्व स्वास्थ्य संगठनले सुरक्षित मानेको वायु प्रदुणणको मात्रामा पनि मधुमेहका लागि कारक मानिने प्रदुषणको तह भेटिने गरेको उल्लेख छ ।

यो महत्वपूर्ण छ किनकि धेरै उद्योगसँग सहकार्य गर्ने समूहले वायुप्रदुषणको अहिलेको तह मानवीय स्वास्थ्यका लागि उपयुक्त र प्रभावकारी मान्न सकिने बताएका छन् । उनले भने, ‘अहिलेको वायुको अवस्था आवश्यकता अनुसार सुरक्षित नभएको र यसलाई कडाई गर्नुपर्ने देखिएको तथ्यहरूले बताएका छन् ।’