४ मेगावाटको अपर छ्याङ्दी निर्माण गरिने

४ मेगावाटको अपर छ्याङ्दी निर्माण गरिने


२ मेगावाटको छ्याङ्दी खोलाको निर्माण सम्पन्न गरिसकेको छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको अपर छ्याङ्दी निर्माण गर्ने भएको छ । जिल्लाको दोर्दी गाउँपालिकामा निर्माण गर्ने भनिएको यो आयोजनाकोे प्रवद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरले आयोजनाको वित्तीय व्यवस्थापन गरेको हो ।

आयोजनामा बैंक अफ काठमान्डू ‘बिओके’ को अगुवाईमा कुमारी बैंकले पनि ऋण लगानी गर्ने टुंगो लागेको आयोजनाका प्रबन्ध संचालक एलबी थापाले जानकारी दिए । २०७५ कात्तिक महिनादेखि आयोजना निर्माण सुरु गरी २०७७ साउनभित्र सम्पन्न गर्ने लक्ष्य लिएको थापा बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता पिपिए अनुसार विद्युत उत्पादन गर्ने मिति २०७८ तोकिएको छ । यद्यपि, निर्धारित समयअघि नै विद्युत उत्पादन गर्ने कम्पनीको योजना छ । प्राधिकरणको नयाँ मापदण्डअनुसार बर्खायाममा प्रतियुनिट ४.८० पैसा र हिउँदमा प्रतियुनिट ८.४० पैसाको दरमा पिपिए भएको आयोजनाले जनाएको छ ।

आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक एलबी थापा र बिओकेका कर्पोरेट प्रमुख पुष्पराज भण्डारीले हस्ताक्षर गरेका छन् । कुल ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बिओकेले ६० प्रतिशत अर्थात ३३ करोड ३० लाख रुपैयाँ र कुमारीले ४० प्रतिशत अर्थात २२ करोड २० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ‘आयोजनामा ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।’ प्रबन्ध संचालक थापा भन्छन्, ‘यसअघि २ मेगावाटको छ्याङ्दी खोला निर्माण गरी विद्युत उत्पादन गरेको अनुभवका आधारमा यो आयोजना अघि बढाएका हौं ।’

वार्षिक २२.३०६ गिगावाट घन्टा विद्युत उत्पादन गर्ने आयोजनाका लागि खरिद दरमा ८ पटकसम्म मूल्यवृद्धिको सुविधा दिइएको छ ।