हाकिमको अनुपस्थितिमा सडेको बिउ छ्यालब्याल

हाकिमको अनुपस्थितिमा सडेको बिउ छ्यालब्याल


bichar-छविलाल बगाले
अफूमाथिका हाकिमहरू कार्यालयमा अनुपस्थित भएको मौका छोपी जिल्ला कृषि विकास कार्यालय लमजुङका एक अधिकृतले आफ्नै कार्यालयको बेथितिबारे भण्डाफोर गरेका छन् । राहतका लागि वितरण गर्न ल्याएको मकैको बिउ कुहिएर खेर गएको विषयलाई उनले आफ्ना हाकिमको उछित्तो काड्ने बहाना बनाएका हुन् । आर्थिक वर्ष ०६९/७० मा दैवी प्रकोपपीडित किसानका लागि वितरण गर्न खरिद गरिएको मकैको बीउ कार्यालयमै कुहिएर बसेको खुलासा गर्दै उक्त कार्यालयका एक कर्मचारीले लुकाइएको स्थानबाट मकैको सडेको बीउ निकालेर कार्यालय परिसरमा छ्यालब्याल पारेपछि एकप्रकारको तमासा खडा हुन पुग्यो ।
०६८ चैत ३० मा परेको भीषण असिनापानीले लमजुङका केही स्थानका मकैबालीमा ठूलो नोक्सान बनाएपछि किसानलाई राहतका लागि बीउ खरिद गरिएको थियो । ०६९ साल वैशाखमा रत्ननगर टाँडीको मल्ल सिड सप्लायर्सबाट १५ क्विन्टल बीउ खरिद गरिएकोमा आधाजति मात्र वितरण गरिएको थियो । त्यो समयमा वितरण नगरिएको बीउ यतिबेला कुहिएको अवस्थामा भेटिएको हो ।
सुरुमा कार्यालयको स्टोर, कार्यालयप्रमुखको आवासगृहनजिकैको कोठा, तालिम हल हुँदै हाल कृषि प्रसार अधिकृतको पुरानो आवासगृह कोठामा राखिएको कुहिएको बीउको एक दिनका लागि निमित्त कार्यालय प्रमुख सम्हालेका वरिष्ठ बागवानी विकास अधिकृत अर्जुनबाबु न्यौपानेले यसरी सार्वजनिक गरेका हुन् । उक्त कोठामा पचास केजीका १३ थान बोरा बीउ कुहिएको र दुर्गन्धित अवस्थामा भेटिएको थियो ।
कार्यालयप्रमुख किशोरप्रसाद पन्त, स्टोरकिपर र लेखा अधिकृत नभएको अवस्थामा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका न्यौपानेले लमजुङका सञ्चारमाध्यम, राजनीतिक दल र जिल्ला प्रशासनलाई अनुगमनका निम्ति अनुरोध गरेका थिए । न्यौपानेले पत्र काटेर अनुगमनमा आउन आग्रह गरेपछि पुगेका सीमित सञ्चारकर्मी र केही राजनीतिक दलका नेताको उपस्थितिमा बीउ राखिएको कोठाको ताल्चा फुटाएर देखाएका थिए ।
कोठामा कुहिएर गन्हाएको अवस्थामा भेटिएको बीउ न्यौपानेले कार्यालय परिसर र कार्यालयअगाडिको मूल सडकमा समेत मिल्काएका थिए । आफ्नो कार्यालयको बेथितिबारे नागरिकले जानकारी पाऊन् भनेर यस्तो गरेको न्यौपानेले प्रतिक्रिया दिए । न्यौपानेले उक्त तमासा देखाउँदा अन्य कर्मचारी भने टुलुटुलु हेरेर बसेका थिए ।
रामपुर कम्पोजिट जातको बीउ उचित तरिकाबाट भण्डारण नगरिएकाले कुहिएको प्रस्ट छ । यही महिना कृषिमन्त्री टेकबहादुर घर्तीको जिल्ला भ्रमणका बेला कुहिएको बिउ के गर्ने भन्ने विषयमा कर्मचारीबीच छलफल चलेको थियो । मन्त्रीले कार्यालय अनुगमन गर्लान् र कुहिएको बीउ देख्लान् भनेर कर्मचारीबीच मस्र्याङ्दीमा बगाउने, लुकाउने कि गाड्ने भन्ने विषयमा छलफल चले पनि विवाद भएका कारण आवासगृहमा लुकाइएको खुलासा भएको छ । वरिष्ठ बागवनी विकास अधिकृत न्यौपानेले बीउ कुहिनुमा कार्यालयप्रमुख किशोरप्रसाद पन्तको अक्षमता कारक रहेको आरोप लगाएका छन् । न्यौपानेले कार्यालयप्रमुख पन्तले आफूखुसी काम गर्ने गरेको, किसानका लागि राहतको मकैका बीउ वितरण नगरी त्यसै कार्यालयको स्टोरमा थन्क्याएको आरोप लगाए । उनले प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको अगाडि कार्यालयप्रमुख पन्तले कर्मचारीलाई तर्साउने गरेको, टीएडीए बढी खाने गरेको, कार्यालयको पैसाले दैनिक घरखर्ची सामग्री किन्ने गरेको आरोप पनि लगाए । तर, कार्यालयप्रमुख पन्त भने न्यौपानेको आरोप स्वीकार गर्न तयार छैनन् । जिल्लामा कृषि क्षेत्रमा केही गर्नुपर्छ भनेर आफूले कम्मर कसेको भए पनि न्यौपानेजस्ता केही कर्मचारीका कारण अवरोध आएको पन्तको भनाइ छ । आफ्नो पालामा किसानलाई पचास प्रतिशत राहतमा बीउविजन, कृषि सामग्री, मल, विषादी आदि उपलब्ध गराएको पन्तको दाबी छ । उनले कृषिमा यन्त्रीकरण गर्नुपर्छ र लागत घटाएर मुनाफा बढाउनुपर्छ भन्ने अभियान आफूले नै चलाएको बताए । पन्त कार्यालयप्रमुख भएपछि कृषिमा प्रयोग गरिने विभिन्न यन्त्र–उपकरणहरू किसानलाई पचास प्रतिशत छुटमा वितरण गरिँदै आएको छ ।
पन्तले बारम्बार विभिन्न कार्यक्रम तथा सरोकारवालाहरूसँग कर्मचारीका कारण काम गर्न असहज भएको र किसानलाई अझै भनेजस्तो राहत दिन नपाएको बताउँदै आएका थिए । सोही कारण पनि केही कर्मचारी पन्तप्रति रुष्ट भएको बताइन्छ । कार्यालयमा बस्ने, फिल्ड गएको भनेर भत्ता खाने, किसानको घरमा प्राविधिक नपुग्नेजस्ता समस्यालाई पन्तका पालामा निराकरण गर्ने प्रयास गरिएको थियो । पन्तकै सक्रियतामा किसानको प्राविधिक समस्या निराकरण गर्न नि:शुल्क टोलफ्रीको व्यवस्था गरिएको छ । तर, कर्मचारीका हेलचक्र्याइँका कारण त्यसले पनि गति लिन पाएको छैन ।
कार्यालयप्रमुख पन्तले राहतका लागि वितरण गर्न ल्याएको मकैको बीउ कुहिएको भने स्वीकार गरेका छन् । तत्काल राहत होस् भनेर किसानको मागअनुसार खरिद गरिए पनि पछि आएर किसानले बीउ नलगेपछि बीउ बाँकी रहेको उनको भनाइ छ । ‘असिनापीडित किसानले पहिले तत्काल राहतका लागि बीउ चाहियो भनेर डेलिगेसन आए, पछि विभिन्न सञ्चारमाध्यमबाट समेत खबर गर्दा पनि लिन आएनन्,’ पन्तले भने, ‘किसान नै नआएपछि बीउ त्यसै थन्कियो ।’ आफ्नो कार्यालयको छानो चुहिने भएकाले बीउ कुहिएको पन्तको भनाइ छ । ‘जानी–जानी बीउ कुहाउन कसलाई रहर छ र ?’ पन्तले प्रतिवाद गर्दै भने, ‘गतिलो भण्डार गर्ने ठाउँ नहुँदा बिग्रिएपछि न किसानलाई दिनु न फाल्नु, त्यसैले त्यत्तिकै थन्क्याएको हो ।’ पन्तले कुहिएको बीउ त्यसै फाल्न नमिल्ने भएकाले कानुनी प्रक्रियाअनुसार मुचुल्का बनाएर नष्ट गर्ने तयारी गरिएको बेला न्यौपानेले यस्तो हर्कत गरेको गुनासो गरे । स्मरणीय रहोस्, कुहिएको बीउबारे गत साता भएको एक सार्वजनिक सुनुवाइ कार्यक्रममा वरिष्ठ बागवानी विकास अधिकृत अर्जुनबाबु न्यौपानेमाथि सो कार्यालयका कर्मचारीहरूले नै गत वर्ष मुलाको बीउ कुहाएर फालेको आरोप लगाए भने कम गुणस्तरका तरकारीका बीउ ल्याउने, कमिसन खाने कार्यमा न्यौपाने संलग्न रहँदै आएको पनि खुलासा गरिएको थियो ।
यसैबीच कुहिएको बीउबारे कार्यालयप्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कृषि मन्त्रालयमा उजुरी दिन भन्दै न्यौपाने जिल्लाबाहिर गएका छन् भने कार्यालयप्रमुख नभएको समयमा कार्यालयको ताला फोर्ने, पत्रकार सम्मेलन गर्ने, कार्यालयको सामग्री हिनामिना गर्ने हर्कत गरेकाले न्यौपानेसँग स्पष्टीकरण मागिने कार्यालयप्रमुख पन्तले बताएका छन् ।